कानुन छ, सजाय हुन्छ, तर उजुरी नै पर्दैन

|

जुम्ला : आमा महिनावारी हुदा बच्चा समेत गोठमा बस्छन्‌ भन्न सुन्दा अचम्म लाग्न सक्छ। तर यो कर्णालीको वास्तविकता हो।

जुम्लाको तिला गाउँपालिका-५, डोग्रीगाउकी १९ वर्षीया बाटुली रावत महिनावारी हुँदा महिनाको ७ दिन छाउगोठमै बिताउँछिन्‌। यसरी छाउगोठमा बसेका बेला दुई छोरा र छोरीले उनलाई छाड्दैनन्। उनीहरूलाई पनि रातभर छाउगोठमै आफूसँगै सुताउनुपर्छ।

मध्ये र सुदूरपश्चिम क्षेत्रमा सामाजिक-धार्मिक र सांस्कृतिक कुरीतिका रूपमा रहेको छाउ प्रथाका कारण महिलाहरू प्रताडित छन्‌। महिनावारी बार्न छाउगोठमा बस्दा मृत्युको शिकार भएका महिलाहरूको संख्या गनि साध्य छैन। बाटुली त छाउ बार्दा कतिसम्म सकस व्यहोर्नुपर्छ भन्ने थाहा पाएकी एक प्रतिनिधिमात्र हुन्‌।

​महिनावारी भएका बेला घरमा बसे हातखुट्टा भाँचिने, पोट दुख्ने लगायतका विभिन्‍न समस्या हुने धामी-झाँक्रीले बताइदिँदा महिला मानसिक रूपमै छाउपडी प्रथाको सिकार भएका छन्।

घरमा बसे अनिष्ट हुने 'अन्धविश्वास'का कारण डोग्री गाउँका महिला र किशोरीहरू महिनावारी हुँदा गोठमै रात बिताउँछन्। तिला गाउँपालिका-५ को डोग्री गाउँ  सबैभन्दा विकटमा पर्छ।

यहाँ छाउपडी उन्मूलनका लागि काम गरिरहेको दावी गर्ने कुनै संस्था या सरकारी अभियान पुगेको छैन। सरसफाइमा ध्यान दिए देवता रिसाउँदैनन् भन्‍ने सचेतना नपाएकै कारण महिनावारी हुँदा यहाँका महिलाहरू गोठमा बस्न बाध्य भएका हुन्‌।

गर्मीमा होस् या हिउँदको तापक्रम माइनस १५ डिग्री सेल्सियससम्म झर्ने हिउँदयाम ! महिनावारी भएका महिला र किशोरीलाई राति सुत्न गोठ बाहेक अर्को विकल्प छैन।​

महिलालाई भन्दा धामीझाँक्रीलाई तालिम आवश्यक​​

महिनावारीलाई कर्णाली र सुदूरपश्चिम क्षेत्रमा विभिन्न ढंगले व्याख्या गरिएको पाइन्छ। जुम्लामा 'छुई' भन्ने चलन छ भने जाजरकोटमा 'बाहिर सर्नु' भनिन्छ। कतै 'पाखा सर्ने' त कतै 'रजस्वला' भनिन्छ।

जे नाम दिएपनि महिनावारी एक प्राकृतिक प्रकृया हो। यदी महिला महिनावारी नहुने हो भने आमा बन्ने सौभाग्य पनि प्राप्त हुने थिएन। तर, जुम्ला लगायत कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा अहिले पनि महिनावारीलाई नकारात्मक रूपमा लिने चलन छ। त्यसैले महिनावारी भएको बेला छाउपडीमा छुट्टै राखिन्छ।

छाउ हुनु फूल फुलेर फल लाग्नुसरह प्राकृतिक नियम भएपनि पुरातन सोचले हाम्रो समाज थला परिरहेको छ। छाउपडी प्रथाले यति गहिरो जरो गाड्नुको मूल कारण हो : यसलाई धर्मसँग जोडिदिनु।

महिनावारी भएका बेला महिलाहरू शारीरिक रुपले कमजोर हुन्छन् र तिनलाई आराम चाहिने भएकोले चुलो-चौका र खेतबारीको कामबाट अलग राखिनुपर्छ भन्ने सोचले यो प्रथा बसाएको कतिपयको तर्क छ। तर, यो प्रथाका अन्धसमर्थकहरू महिनावारी भएको बेला महिला अपवित्र हुन्छ भन्ने ढिपी राख्छन्‌। महिनावारी भएको समयमा परिवारका सदस्यलाई छोइहाले घरमा अनिष्ट हुने, देवी-देवता रिसाएर पाप लाग्ने जस्ता रुढीवादी र अन्धविश्वासका कारण यो कुप्रथा झेल्न महिलाहरू बाध्य छन्।

रजस्वला भएका महिलालाई अलग्गै गोठमा राख्ने चलनले निरन्तता पाउँदै आएको छ। महिनावारी वा सुत्केरी भएको समयमा घरमा प्रवेश गर्न नहुने अन्धविश्वासका कारण घरभन्दा गोठमा बस्ने गर्छन्।

तिला गाउँपालिका-५, डोग्री गाउँकी स्थानीय महिला सरस्वती रावत भन्छिन्‌, 'देउता हामी मानिसले पुजेका हौं, तर देउताकै कारण गोठमा बस्न बाध्य बनाउने धामी झाँक्री हुन्‌, उनीहरूले घरमा बस भनेको खण्डमा हामी सरसफाई गरेर बस्न तयार छौं।'

देउता रिसाए आँखा र कान फुट्ने र घरमा अनिष्ट हुने भन्ने त्रास किशोरीहरूमा फैलाइन्छ र उनीहरूलाई जीवनभर महिनावारी हुँदा छाउगोठमा बस्नुपर्ने गरी आतंकित पारिन्छ। यसो गर्नेको अग्रपङ्‌क्तिमा धामी र झाँक्रीहरू हुन्छन्‌। त्यसपछि छाउ बस्दाको कष्ट भोगका आमा, दिदीबहिनी र सासुलगायत घरका अरू सदस्यले पनि रजस्वला हुँदा असुरक्षित छाउगोठकै बाटो देखाउँछन्‌।

​छाउ नबारे अनिष्ट हुने त्रासले मानिसको जोवन र जीवन नै सखाप पारिरहेको छ। महिनावारीका बेला छाउगोठमा बस्दा चिसो थेग्‍न नसकी धेरैको ज्यान गइसकेको छ। छाउगोठमा यौन हिंसा/दुर्व्यवहार भोगिरहेका छन्‌। तथा सर्प र वन्यजन्तुको आक्रमणमा परेर पनि धेरै महिलाहरूको जीवन निख्रिएको छ।

महिलालाई जंगल पठाउँदा घरमा मंगल ?

सामाजिक दवाबका कारण छाउपडीलाई निरन्तरता दिन महिला बाध्य छन्। यस्तो समस्या ग्रामीण भेगका शिक्षित र अशिक्षित महिलामा धेरै रहेको पाइन्छ।

सुत्केरी भएको बेला १ महिना र महिनावारी भएको बेला ७ दिनसम्म घरबाहिर छाउगोठ वा छाप्रोमा बस्छन्। महिनावारी हुँदा कम्तीमा ७ दिनसम्म नुनको धुलो र सुक्खा रोटीमात्र दिइन्छ।​

डोग्री गाउँकी गोहीली रावत भन्छिन्‌, 'छाउगोठमा बस्दा मानिसबाट भन्दापनि जंगली जनावरबाट जोगिन गाह्रो हुन्छ, सर्प, बाघ र भालु लगायतका जंगली जनावरको सिकार हुनुपर्छ, केही महिला छाउ गोठमै बस्दा बलात्कृत भएको भन्ने पनि समाचार सुनेका छौं, तर ज्यानलाई जोखिममै पारेर झाउगोठमा नबसे झन्‌ तिरस्कृत र वहिष्कृत होइन्छ, सोच नबदलिएसम्म महिलाले प्राकृतिक धर्मलाई अभिसापका रूपमा लिनुपर्ने बाध्यता कायमै रहिरहनेछ।'

पाठेघर खस्दा प्रताडित 

डोग्री गाउँ तिला गाउँपालिकाको ग्रामीण बस्ती हो, जहाँ ४६ घरधुरी छ। सो बस्तीमा झण्डै ८० जना महिला छन्‌। उनीहरूमध्ये एक-दुई जना बाहेक सबैमा पाठेघरको समस्या छ।

'मेरो पाठेघर खसेको धेरै भयो, पहिले दुख्ने मात्रै गर्थ्यो, अहिले हिँड्न समेत सक्दिनँ,' भर्खरै ४० वर्ष पुगेकी गोहीली रावतले भनिन्‌, 'हामीसँग यस्तो उपचार गर्न धनसम्पत्ति छैन, स्वास्थ्य शिविर पनि आउँदैन, शिविर राखिएका ठाउँ टाढा भएकाले म हिँडेर जान पनि सक्दिनँ।'

रावत एक प्रतिनिधिमात्र हुन्‌, उनी जस्तै त्यहाँका धेरै महिलाले पीडा भोगिरहेका छन्‌। असुरक्षित र अस्वस्थ ढंगले छाउ बार्दा महिलामा निम्तिनेमध्ये पाठेघर खस्‍ने  समस्या प्रमुख हो।

महिनावारीका बेला पोसिला खानेकुरा खान नदिँदा र भारी बोक्ने काम गर्दा महिलामा पाठेघर खस्ने समस्या बढेको छ।

ग्रामीण भेगका महिलामा घरायसी कामको चाप, अधिकांश समय उकालो ओह्रालो गर्नुपर्ने भएकाले पाठेघरमा फोहोर जम्मा हुने गर्दछ। जसले पाठेघरको मुखको क्यान्सर हुने सम्भावना बढी हुने स्वास्थ्यकर्मीहरू बताउँछन्‌।

स्वास्थ्य चेतनाको कमी र अज्ञानतासँगै लाजका कारण जुम्लाको ग्रामिण बस्तीमा बस्ने महिलाले पाठेघरको समस्या लुकाउने गर्छन्। जसकारण यसको भयावह अवस्था देखिएको डोग्री गाउँकी महिला स्वयंसेविका लालशोभा रावतको भनाइ छ।

उमेर नपुग्दै बिहे गर्ने, गर्भवती तथा सुत्केरी भएको बेला गह्रौं भारी बोक्ने, सरसफाइमा ध्यान नदिने, कुपोषण लगायतका कारणले पाठेघर खस्ने समस्या हुने गरेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण प्रसाद सापकोटा बताए।

उनले भने, 'गरिबी तथा जनचेतनाको अभावले धेरै महिलाहरूमा पाठेघर खस्ने समस्या हुने गरेको छ।'

विशेषगरी पिछडिएका समुदाय, दलित, अशिक्षित र गरिबीको चपेटामा परेका महिलाहरूमा पाठेघर खस्ने समस्या निकै देखिएको छ। सामाजिक अपहेलना भय र लाजका कारण रोग लुकाएर बस्ने महिलाको संख्या धेरै छ।

स्थानीय सरकारले विभिन्न कार्यक्रममार्फत पाठेघरको मुखको क्यान्सर भएका महिलाको उपचार गरेर तथा सचेतना फैलाएर सावधानी अपनाउने कामलाई निरन्तता दिन जरुरी छ। 

तर सामजिक कु-संस्कारमा हुर्केका धेरैजना अझै भित्रैदेखि परिर्वतन हुन सकेका छैनन्। द्वन्द्व कालमा विद्रोही पक्षले समेत छाउपडी प्रथा हटाउन ठूलो प्रयास गरेको, तर नसकिएको चन्दननाथ नगरपालिकाका उपमेयर अप्सरा देवी न्यौपाने (महतले) बताइन्।

उनले भनिन्‌, ’जबसम्म हाम्रा महिलाका मनभित्रका छाउगोठ भत्किँदैनन्‌, तबसम्म देवीदेवताका नाममा हुने यस्ताखाले सामाजिक कुरीतिसँग लड्न ठूलो बल प्रयोग गरेपनि सम्भव हुँदैन।'

छाउपडी प्रथाले निम्त्याएको सामाजिक, शारीरिक, स्वास्थ्य, मानसिक र शैक्षिक समस्या निम्त्याएको र यसबाट धेरै महिला पीडित भएको उनी बताउँछिन्‌। 

प्रजिअ भन्छन्‌ : छाउपडी विरुद्ध उजुरी नै आउँदैन

नेपाल सरकारले छाउपडी प्रथालाई अन्धविश्वास ठहर्‍याउँदै उन्मुलन निर्देशिका, २०७४ जारी गरिसकेको छ। यो निर्देशिकाअनुसार छाउपडी प्रथा हिंसा हो। कसैले छाउपडी प्रथा कायम राखेमा वा गराएमा दण्ड-जरिवाना समेत तोकिएको छ।

'तर, छाउपडी विरुद्ध हत्तपत्त कसैले उजुरी नै गर्दैनन्‌, यसैकारण कानुन कार्यान्वयन पनि मुस्किल परेको छ,' जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा भन्छन्, 'उजुरी नै आउँदैन, कसलाई समात्ने? कसलाई कारबाही गर्ने?’ जनचेतनाकै माध्यमबाट छाउप्रथा न्यूनिकरण गर्नुपर्ने उनी बताउँछन्‌। 

छाउगोठमा राख्ने घरपरिवारकै सदस्य हुन्छन्। उनीहरूविरुद्ध उजुरी गर्ने आँट गाउँका प्रायः महिलामा हुँदैन। आफ्नै दाजुभाई, श्रीमान या सासु-ससुराविरुद्ध कसैले उजुरी नै दिँदैनन्।

'उजुरी नै नआएपछि कानुन छ भन्दै समातेर सजाय गर्न मिल्दैन,', प्रजिअ थापा भन्छन्‌।

महिनावारी हुँदा सामाजिक मान्यता र वर्षौंदेखि जरो गाड्दै आएको कुसंस्कारले गर्दा घर बाहिर बस्नुपरेको बाध्यता रहेको महिला गुनासो गर्छन्‌। महिनावारी (छुई) हुँदा घरको जग छुन नपाएपछि गोठ र घरको आँगन रात कटाउन महिलाहरू बाध्य छन्‌। 

​शिक्षित महिलाहरू पनि महिनावारी हुँदा घर बाहिर बस्दै आएका छन्। 

छुई नबार्दा पनि लामाका देवता खुशी

छुई बारेर गोठमा बस्ने चलन कर्णाली र सुदूरपश्चिम प्रदेशमा भएपनि सबै जातिमा भने यो कुप्रथा छैन।

मुगु, जुम्ला, हुम्ला, जाजरकोट लगायतका सबै ठाउँमा बस्ने लामा बौद्धमार्गी समुदायले भने महिनावारीलाई सामान्य प्रक्रिया जस्तै मान्दै आएका छन्। यी जिल्लाका केही स्थानमा लामा समुदायको पनि घना बसोवास रहेको छ।


एउटै ठाउँमा बस्ने लामा समुदायमा महिनावारी हुँदा घर बाहिर बस्ने चलन नभएको सामाजिक विकास कार्यालय जुम्लाका सामाजिक विकास अधिकृत बलवीर सुनारले बताए। उनले भने, 'महिनावारी महिलामा हुने सामान्य प्रक्रिया हो, तर निश्चित समुदायले यसलाई संस्कारको रूपमा लिएका कारण महिलाहरूले दुःख पाएका हुन्‌।'

पहिलेभन्दा केही सुधार

संघीय संरचनापछि देश तीन तहमा विभाजित भएको छ। पहिलेको तुलनामा स्थानीय सरकारले छाउपडी न्यूनीकरण निम्ति योजनाबद्ध काम गरिरहेका छन्।

महिनावारी अर्थात छुई हुँदा कम्तीमा ७ दिन छाउ गोठमै बस्दै आएका महिला तथा किशोरीहरू आजभोलि ३ दिनपछि घरभित्रै जाने गरेका जुम्लाको चन्दननाथ नगरपालिकाका उपमेयर अप्सरादेवी न्यौपाने (महत)ले बताइन।

कानुनको पालना नै हुँदैन

सर्वोच्च अदालतले वि.सं. २०६२ वैशाख १९ गते छाउपडीलाई कुप्रथाका रूपमा व्याख्या गर्दै यसको अन्त्य गर्न सरकारलाई आदेश दिएको थियो।

त्यसपछि सरकारले छाउपडी प्रथा उन्मुलनसम्बन्धी निर्देशिका, २०६४ जारी गरेको थियो। त्यसैमा टेकेर नयाँ मुलुकी अपराध संहिता, २०७४ मा पनि रजस्वला वा सुत्केरी भएकी महिलालाई छाउगोठमा राख्न नपाइने व्यवस्था गरिएको छ।

संहिताको दफा १६८ को उपदफा ३ मा लेखिएको छ : महिनावारी वा सुत्केरी अवस्थामा महिलालाई कुनै किसिमको भेदभाव गर्नु हुँदैन।

उपदफा ४ मा यस्तो किसिमको भेदभाव गर्नेलाई तीन महिना कैद र तीन हजार जरिवाना वा दुवै सजायको व्यवस्था गरिएको छ। त्यस्तै, सरकारी कर्मचारीले यस्तो अपराध गरेमा थप तीन महिना कैदको व्यवस्था उपदफा ५ मा गरिएको छ।

तर, कर्णाली प्रदेशका जिल्लामा अधिकांश शिक्षितका घरमा नै महिनावारी हुँदा छाउ बार्ने चलन कायम छ। जनप्रतिनिधि र शिक्षकदेखि राजनीतिक अभियानमा संलग्न व्यक्तिका परिवार समेत महिनावारी हुँदा बाहिर सर्नुपर्ने चलनमा विश्वास गर्छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.