वन्यजन्तुमैत्री संरचना तत्काल आवश्यक

|

बर्दिया : बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने राजमार्गमा पुष १७ गते राती पाटेबाघले गुडिरहेकै मोटरसाइकलमा आक्रमण गरी एक महिलाको ज्यान लियो। सो घटनापछि निकुञ्‍जका बाघ हिंस्रक बनेको भन्दै चिन्ता र आक्रोश बढिरहेको छ। 

बाघले आक्रमण गरिरहँदा राजमार्गमा यात्रा गर्न नै डराइमर्दो भएको छ। राजमार्ग हुँदै यात्रा गर्नेहरूले हरेक दिन त्यहाँ बाघ भेटएको तस्वीर र द‌ृश्यहरू विद्युतीय सामाजिक सञ्‍जालमा राखिरहेका छन्‌।

​मानव-वन्यजन्तु द्वन्द्वको नयाँ जोखिम

अहिले बर्दिया राष्ट्रिय निकुञ्‍जमा बाघ र मानिसबीच भइरहेको जम्काभेट तथा क्षति मानव वन्यजन्तु द्वन्द्व (ह्युमन-वाइल्डलाइफ कन्फिल्क्ट) मा नयाँ जोखिम हो।

स्थानीयबासीले मानिस खान पल्केको नरभक्षी बाघलाई नियन्त्रणमा लिन या मार्न प्रशासनसँग माग गरिरहेका छन्‌। संरक्षणकर्मीहरूले भने बर्दिया निकुञ्‍जमा संख्या बढेको र बासस्थान क्षेत्रमा पर्ने सडकमा बाघ निस्कनु स्वाभाविक रहेको बताइरहेका छन्‌।

​यसअघि मानिस र सवारीसाधनको बाक्लो आवतजावत हुने राजमार्गमा दिउँसै पाटेबाघ आउने गरेको खासै देखिएको/सुनिएको थिएन। तर, केही महिनायता अम्रेनी-चिसापानी क्षेत्रका सडकमा रातीमा मात्र नभई दिउँसै पाटेबाघले 'गस्ती गर्न' थालेको छ।

२ दशकपछि उस्तै घटना

राष्ट्रिय वन तथा निकुञ्ज र मध्यवर्ती क्षेत्रको सामुदायिक वन आसपासमा पाटे बाघको आक्रमणबाट मानवीय क्षति हुने गरेको छ। बन्यजन्तुको बासस्थान नजिक हुने यस्तो घटनालाई त्यति अस्वाभाविक ठानिँदैन र पीडितलाई क्षतिपूर्ति तथा थप क्षति रोक्ने उपाय निरन्तर अवलम्बन गरिन्छ।

 तर, निकुञ्जभित्र पर्ने राजमार्गमै धेरै वर्षपछि फेरि यस्तो दुःखद घटना भएको बर्दिया राष्ट्रिय निकुञ्जका पूर्व वार्डेन रमेशकुमार थापाले बताए।

उनका अनुसार झण्डै २१ वर्ष अघि २०५६ सालमा निकुञ्जको यही क्षेत्र आसपासमा राजमार्गमै पाटे बाघले मोटरसाइकलमा सवार कैलाली लम्कीका फिल्म हल साहुलाई आक्रमण गर्दा ज्यान गएको थियो। अहिले उस्तै प्रकृतिको घटना दोहोरिएको छ। 

 


आन्तरिक र बाह्य पर्यटकहरूले बाघ हेर्न बर्दिया राष्ट्रिय निकुञ्जलाई नै रोज्ने गर्छन्। यो निकुञ्जमा पछिल्लो समय पाटे बाघको संख्या पनि बढ्दै गएको छ। कोरोना महामारी फैलनुअघिका वर्षहरूमा बर्दिया निकुञ्‍जका आकर्षक पाटेबाघले स्वदेशी र विदेशी पर्यटकलाई मोहित पार्ने गरेको थियो। बाघ हेर्नकै लागि बर्दियामा पर्यटकको ओइरो लाग्थ्यो।

गत वर्षको चैत्र महिनादेखि लकडाउन भयो र राजमार्गमा यातायातका साधन खासै चलेनन्‌। पाटेबाघको बासस्थान क्षेत्रमा पर्ने भनिएको यो सडक त्यसयता लगभग बाघकै कब्जामा थियो।

निकुञ्‍जभित्र पर्ने पूर्व-पश्चिम महेन्द्र राजमार्गमा दिनहुँ बाघ हिँडिरहेका फोटो र भिडियो त्यहाँका अधिकारीहरूले कैद गरेका थिए। यसबीचमा बर्दिया निकुञ्ज आसपासका मध्यवर्ती क्षेत्र र राष्ट्रिय वन क्षेत्र अन्तर्गतका जैविक मार्ग तथा सामुदायिक वनमा पाटे बाघको आक्रमणबाट ७ जनाले ज्यान गुमाए।


संरक्षणविद्‌हरूका अनुसार लकडाउनका बेला राजमार्गमै बसोबास र आवतजावत गर्न अभ्यस्त भएका बाघ तब आक्रामक हुन थाले : जब सरकारी निर्णयपछि देशभर यातायातका साधन चलाउन थालियो। संख्या बढ्दै गएको, तर बासस्थानमा मानवीय अतिक्रमण भइरहेकै बेला लकडाउनताका बाघले सडकलाई समेत आफ्नो 'टेरिटोरी' बनाउन थालेका थिए। आफ्नो नयाँ 'टेरिटोरी' मा पुन: मानवीय गतिविधि बढेपछि बाघ आक्रामक बने।

पुस १७ गते राजमार्ग हुँदै यात्रा गरिरहेकी एक महिलालाई निकुञ्‍जको पाटेबाघले मोटरसाइकलबाटै थुतेर लग्यो र मार्‍यो। त्यसयता बर्दियाबासी पाटेबाघसँग झनै त्रसित बनेका छन्‌। बर्दिया निकुञ्जअन्तर्गत पर्ने पूर्व-पश्चिम राजमार्गमा मोटरसाइकल, साइकल र पैदल यात्रुलाई ओहोरदोहोर गर्न पनि जोखिम बढेको छ। 

जंगली हात्तीपछि बाघको पालो

तराई क्षेत्रको सबैभन्दा ठूलो संरक्षित क्षेत्र मानिने बर्दिया राष्ट्रिय निकुञ्ज ९ सय ६८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। निकुञ्जको मध्यवर्ती सामुदायिक वन क्षेत्र ५ सय ७ वर्ग किलोमिटर रहेको छ। जंगली हात्तीपछि पाटे बाघ अहिले आक्रामक बन्न थालेका छन् र जनधनमा क्षति पुर्‍याइरहेका छन्।

जंगली हात्तीलगायत वन्यजन्तुबाट हुने जनधनको क्षति रोक्न विकल्पहरू अपनाउने प्रयास भइरहेको बताइन्छ। तर, पाटे बाघले मान्छे मार्न थालेपछि स्थानीयबासी थप डराइरहेका छन्‌।

​पछिल्लो समय तारन्तार बाघले मानिसमाथि आक्रमण गरिरहेको र यी घटनाले मध्यवर्ती क्षेत्रका स्थानीयमा त्रास सिर्जना भएको स्थानीयवासी नवराज न्यौपानेले बताए। 

बर्दियामा ५ महिनाको अवधिमा पाटे बाघको आक्रमणबाट ७ जनाले ज्यान गुमाइसकेका छन्। स्थानीयहरू निकुञ्ज र राष्ट्रिय वन आसपासका सामुदायिक वनमा घाँस-दाउरा लिन गएका बेला र जंगल आसपासका गाउँमै पसेर पाटेबाघले मानिसको ज्यान लिने गरेको छ। 

मोटरसाइकलमै झम्टेर बाघले महिलालाई मारेपछि निकुञ्ज प्रशासनले तत्कालका लागि मोटरसाइकल, साइकल र पैदलयात्रुलाई बेलुकी ८ बजेदेखि बिहान ६ बजेसम्म ओहोरदोहोरमा रोक त लगाएको छ, तर पाटे बाघले मोटरसाइकलमा सवार महिलालाई झम्टेर ज्यान लिएको ठाउँ आसपासमा हरेक दिन बिहान, दिउँसो र रातीमा बाघ देखिने गरेको पर्यटन व्यवसायीहरूले बताइरहेका छन्‌।

वन्यजन्तुमैत्री संरचना तत्काल आवश्यक

पाटेबाघ लगायतका वन्यजन्तुले आक्रमण गर्ने क्रम बढ्न थालेपछि क्षति कम गर्न दिगो व्यवस्थापनका लागि सरकारले वैकल्पिक उपाय खोज्नुपर्ने वा वन्यजन्तुमैत्री संरचना बनाउन आवश्यक रहेको बर्दिया निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापा बताउँछन्‌। 

सडक विभागले बजार क्षेत्रमा पूर्व-पश्चिम राजमार्गको दायाँ-बायाँ ३१-३१ मिटर सडक खाली गराउँदै आएको छ। तर, निकुञ्जभित्र पर्ने राजमार्ग क्षेत्रमा भने दायाँ-बायाँ ३१-३१ मिटर सडक खाली गर्ने काम सडक विभागले गरेको छैन। निकुञ्जभित्रको राजमार्ग किनार आसपास रुख-बिरुवा र घाँसले ढाकेको छ। वन्यजन्तु त्यही घाँसमा बसिरहेका हुन्छन्‌। 

सवारीसाधनको आवाज सुनेपछि वन्यजन्तु तर्सिने र सवारी साधनमा आक्रमण गर्ने जोखिम हुन्छ। त्यसैले, अर्को वन्यजन्तुमैत्री संरचना नबनुन्जेलसम्म निकुञ्जभित्र पर्ने राजमार्ग किनारका रुख, विरुवा र घाँस तत्काल काट्न जरुरी रहेको थापाको भनाई छ। 

बर्दिया निकुञ्जको मुटुबाट निस्केको पूर्व-पश्चिम राजमार्ग हुँदै दैनिक सयौँ सानाठूला सवारीसाधनहरू ओहोर दोहोर गरिरहेका हुन्छन्। ठूलो संख्यामा वन्यजन्तुहरू पनि सडक वारपार गर्छन्‌ र आसपासमा हिँडिरहेका हुन्छन्‌।

​'राजमार्ग निर्माण गर्ने क्रममा निकुञ्जको बीचबाट निर्माण नगरी त्यसको विकल्प खोज्नुपर्थ्यो,' पूर्व प्रमुख संरक्षण अधिकृत थापाले भने, 'तर त्यसबेला अहिलेको कर्णाली चिसापानीलाई जोड्ने उद्देश्यले राजमार्गलाई छोटो बनाउन यहाँबाट सडक बनाइयो।' 

यात्रा गर्नै जोखिमपूर्ण, टाइमकार्ड लागू

राजमार्गमा सवारी साधन हुइक्याउँदै गन्तव्यमा छिटो पुग्ने सबैको चाहना हुन्छ। तर, राजमार्गमा यात्रा गर्नै अहिले जोखिमयुक्त छ।

निकुञ्ज क्षेत्रभित्रका राजमार्गमा यात्रा गर्न निकुञ्ज प्रशासनले टाइम कार्ड लागू गरेको छ। तीव्र गतीमा सवारी कुदाउने गरेकै कारण वन्यजन्तुहरूको ज्यान जाने गरेपछि निकुञ्जले टाइम कार्ड लागु गरेको हो। 

निकुञ्ज क्षेत्रभित्र रम्वापुरदेखी सैनवारसम्म २२ मिनेट र अम्रेनीदेखि कर्णाली चिसापानीसम्म २२ मिनेट समय तोकिएको छ। अहिले यस क्षेत्रमा मानव र वन्यजन्तुको ज्यान जाने क्रम बढेपछि अब वैकल्पिक मार्ग हुँदै यात्रा गर्नुपर्ने सुझाव दिइएको छ।

मानव र वन्यजन्तु दुबै जोखिममा 

बर्दिया निकुञ्जभित्र पर्ने पूर्व-पश्चिम राजमार्गमा सवारी साधनले ठक्कर दिँदा यसअघि २ वटा पाटेबाघ मारिएका छन्‌। सवारीसाधनमा ठोक्किँदा मारिएका सबै वन्यजन्तुको हिसाब औंला भाँचेर गन्न नसकिने भइसकेको छ। वन्यजन्तुमात्र नभई यस क्षेत्रमा मानिसको समेत ज्यान जाने गरेको छ।

निकुञ्जभित्र पर्ने राजमार्गमा पाटे बाघ हिँडिरहेको फोटो र भिडियोहरू यतिबेला सामाजिक संजालमा आइरहेका छन्। बाघ देख्ने बित्तिकै सवारीसाधन रोकेर जिस्क्याउने तथा फोटो र भिडियो लिने काम गर्दा बाघ आक्रमणका घटना अझ बढ्न सक्ने राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख डा. रविन कडरिया बताउँछन्। 

एकपटक मान्छे खाएको बाघले फेरि पनि मान्छे खान खोज्ने भन्दै दुईवटा बाघलाई निकुञ्जको टोलीले नियन्त्रणमा लिएको छ। मान्छे मार्न पल्किएको अर्को बाघ पनि डिभिजन वन कार्यालयले नियन्त्रणमा लिने प्रयास गरिरहेको छ। मोटरसाइकलमा सवार महिलाको ज्यान लिने बाघलाई पनि पहिचान गरी नियन्त्रणमा लिने प्रयास थालिएको छ। 

निगरानी बढाइयो

बर्दिया निकुञ्जमा पाटे बाघको संख्या बढ्दै गएको छ। सन् २०१८ को बाघगणना अनुसार यहाँ ८७ वटा वयस्क पाटेबाघ रहेका छन्। संख्या बढेसँगै पछिल्लो समय बाघ आक्रमणका घटना पनि बढिरहेको हो।

यसबाट बच्न स्थानीयबासी र आम नागरिकलाई सावधानी अपनाउनुपर्ने सुझाव दिइएको तथा निकुञ्‍ज क्षेत्रमा वन्यजन्तुमैत्री संरचना निर्माण निम्ति वन्यजन्तु संरक्षण विभागसँग पहल थालेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए। उनका अनुसार आक्रमणका घटना बढेपछि बाघ ओहोरदोहोर गर्ने क्षेत्रमा निकुञ्जको टोली र नेपाली सेनाले निगरानी बढाएको छ।

जंगली हात्ती, पाटेबाघ लगायत वन्यजन्तुको बासस्थानमा बाधा पुगेका कारण पनि उनीहरू आक्रामक बनेका हुनसक्ने संरक्षणकर्मीहरू बताउँछन्। मानव–वन्यजन्तुबिच द्वन्द्व बढ्न नदिई सह-अस्तित्व कायम राख्न निकुञ्जभित्र पर्ने राजमार्ग र संरक्षित जैविक मार्ग क्षेत्रमा पर्ने हुलाकी सडकमा वन्यजन्तुमैत्री संरचना बनाउन खाँचो रहेको उनीहरूको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.