बागलुङ : बागलुङमा कोभिड–१९ संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।
जिल्लाको जैमिनी नगरपालिका–७ का ३७ वर्षीय पुरुषको मंगलबार बिहान मृत्यु भएको हो। धौलागिरी अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
ज्वरो आउने, स्वासप्रस्वासमा समस्या देखिने भएपछि उनी गत पुस २१ गते अस्पताल भर्ना भएका थिए। कोभिड–१९ सँग मिल्दा जुल्दा लक्षण भएकाले उनको जाँच गर्दा कोभिड पुष्टि भएको थियो। मंगलबार बिहान ७ः१० बजे उनको सघन उपचारकक्षमा उपचारकै क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी तीर्थराज गौतमले बताए। उनी
केही दिन होम आइसोलेसनमा बसेर जटिल अवस्था आएपछि अस्पतालमा भर्ना भएका थिए। विभिन्न सामाजिक संस्थामा कृयाशिल उनी कसरी संक्रमित भए भन्ने स्रोत नखुलेको अस्पतालले जनाएको छ।
हिजो (सोमबार) मात्रै जैमिनीकै वडा नं. ८ का ५६ वर्षीय पुरुषको कोरोनाकै कारण मृत्यु भएको थियो। उनको मृत्युसँगै बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या ११ पुगेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।