|

काठमाडौं : कमलपोखरीलाई प्राकृतिक रुपमै राख्न विज्ञहरूले काठमाडौं महानगरपालिकालाई सुझाव दिएका छन्। मंगलबार भएको भर्चुअल संवादमा उनीहरूले कमलपोखरीको पानी सुकाएर चिराचिरा नपार्न महानगरलाई सुझाएका हुन्‌।

कमलपोखरीको ऐतिहासिक महत्वमाथि प्रकाश पार्दै पोखरीविज्ञ सुशील श्रेष्ठले प्राकृतिक कमलपोखरी मास्न नहुनेमा जोड दिए। ‘कमलपोखरी सिमसार हो,’ उनले भने, ‘यो प्राकृतिक पोखरी हो, यसलाई चिराचिरा पार्न हुँदैन, पछि पानी सोसिएर ठूला भवनले तान्छ, पोखरीमा कंक्रिटका संरचना नबनाऔं, यसलाई प्राकृतिक स्वरूपमा फर्काइ संरक्षण गरौं।’

स्थानीय तहले विकासको नाममा धार्मिक,सांस्कृतिक र ऐतिहासिक सम्पदाहरू​ विनाश गरिरहेको उनले तर्क गरे।

इन्जिनियर एवम्‌ चार दशकदेखि पानीका स्रोत अध्ययन गर्दै आएका अजय दीक्षितले पानीका​ परम्परागत स्रोतलाई बचाइ राख्नुपर्ने धारणा राखे। 

उनले भने, ‘हामीसँग सीप र विधि भन्दैमा पानीका स्रोत भएका ठाउँमा कंक्रिट प्रयोग गरिनु भएन, कमलपोखरीमा पानीको स्रोत पनि बचाउनु आवश्यक छ।’

अन्य सम्पदा अभियन्ताहरूले सम्पदाहरूलाई बचाइराख्न महानगरपालिकाले एउटा ऐननै बनाउनुपर्ने माग राखे। 

काठमाडौं महानगरपालिका अन्तर्गतको शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले सम्पदा संरक्षणको लागि ऐन बनाउन लागिएको जानकारी दिए। उनले भने, ‘महानगरपालिकाले विभिन्न सांस्कृतिक सम्पदाहरूको संरक्षणका लागि ऐन बनाउँदैछ, यसमा के-के समेट्नुपर्छ सल्लाह/सुझाव दिनुहोला।’

महानगरपालिकाले पोखरीको पुनःनिर्माणमा कंक्रिट प्रयोग गरेपछि विवाद चुलिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.