|

सुर्खेत : प्रदेश सरकारसँग पूर्ण बहुमत भए पनि अल्पमत झैं सरकार चलाएजस्तो भएको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले गुनासो गरेका छन्। 

सोमबार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले अल्पमतको सरकार चलाए जस्तो आफूलाई अनुभूति भएको बताएका हुन्। कर्णालीको विकासका लागि सबै एकताबद्ध हुनुपर्ने बेलामा आफ्नै पार्टीबाटै सहयोग नपाएको उनले दुख व्यक्त गरे। 

‘कर्णाली सरकारलाई सहज रुपमा काम गर्ने वातावरण भएको अवस्था छैन, काम गर्न खोज्दा बार हालेर काम गर्न दिइएन,' उनले बताए। 

‘हामी नेपालीको प्रवृत्ति भनेको एक जना कसैले काम गरिहालेमा अर्को डराउने  अवस्था छ’, शाहीले भने, ‘कसैले राम्रो काम गरेमा त्यो लोकप्रिय भैहाल्छ कि भनेर बार हाल्ने, हिँड्नै नदिने प्रवृत्तिले काम गर्नका लागि समस्या छ।’

समस्या बीच पनि कर्णाली सरकारले तीव्र रुपमा काम बढाएको मुख्यमन्त्री शाहीले दाबी गरे। 

‘कर्णालीको भौगलिक विकटताका कारण विकासमा समस्या भएको उनले बताए। कर्णालीमा भौगोलिक विकटताका कारण तराईको जस्तो थोरै पैसाले धेरै काम गर्न सकिँदैन, तराईमा किलोमिटर सडक खन्ने रकमले कर्णालीमा एउटा चट्टान फोड्नुपर्ने हुन्छ,’ शाहीले भने। 

कर्णाली सरकारले भौतिक पूर्वाधार, त्यसमा पनि सडकको विकासमा जोड दिने घोषणा स्मरण गर्दै शाहीले हरेक वडा वडामा सडकका ट्रयाक खोलेको तथा स्वास्थ्य र शिक्षा क्षेत्रको भौतिक पूर्वाधारमा उल्लेखनीय काम भएको बताए। कर्णालीमा विकासको आफ्नै गति भएको पनि उनले बताए। 

मुख्यमन्त्री शाहीले मध्यावधि चुनाव समस्या समाधान नभएको बताए। चुनाव निष्पक्ष हुन्छ भन्ने कुनै ग्यारेन्टी नभएको र जनतालाई चुनावप्रति विश्वास नभएको उनले बताए।

अहिलेको समस्या समाधान भनेकै संसद् पुनर्स्थापना भएको भन्दै उनले संघर्षको अध्याय सकिएको र विकास निर्माणमा लाग्ने बेला सनकका भरमा प्रधानमन्त्रीले असंवैधानिक कदम चालेका पनि बताए। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.