|

डोल्पा : हिँउद लागेसँगै डोल्पाका सामुदायिक वन क्षेत्रहरूमा आगलागीका घटना बढ्न थालेका छन्।​ ठूलीभेरी नगरपालिकामा पर्ने रहको परिलामा मंगलबार मात्रै सेनाको टोलीले भिषण आगलागी नियन्त्रणमा लिएको थियो।

दुई दिनयता सदरमुकाम दुनैनजिकै पर्ने सन्तोषी माता सामुदायिक वनमा सुरु भएको भिषण आगलागि अझै नियन्त्रणमा आउन सकेको छैन।

ठूलीभेरी नगरपालिका-३ मा पर्ने वन क्षेत्रमा फैलिएको आगलागीका कारण धुपी सल्लाका रूखहरू जलेर खरानी भएका छन्।

आगलागी नियन्त्रणमा लिनका लागि जिल्लास्थित नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी माधव ढकालले जानकारी दिए।

केही दिन अघिदेखि सुरु भएको भीषण आगलागी दुनै पारिको जिल्ला अस्पताल र बस्तीतर्फ नफैलियोस् भन्दै तीनवटै सुरक्षाकर्मी लागि परेको प्रजिअ ढकालले बताए। आगलागी कसले लगायो, के गर्‍यो पहिचाहान भइनसकेको बताइएको छ।

संरक्षण गरेर जोगाउन पर्ने जिल्लाका वनक्षेत्रहरु आगलागीले सखाप हुन थाले पनि डिभिजन वन कार्यालय डोल्पाले चासो दिएको छैन। वन क्षेत्र संरक्षणको तालुक निकाय भए पनि डिभिजन वनको भूमिका प्रभावकारी नभएको जिल्लाका सरोकारवाला निकायले बताएका छन्।

बर्सेनि वन क्षेत्रमा हुने डढेलो न्यूनीकरण गर्नका लागि समुदायस्तरमा जनचेतना फैलाउने किसिमका सन्देशमूलक सामग्रीहरू प्रकाशन प्रसारण गर्नुपर्ने उनीहरूको भनाइ छ।

पशुवस्तुहरूका लागि बर्खाको समयमा हरियो घाँसका आसले डढेलो लगाउने गरेको स्थानीयको भनाइ छ। आगलागीमा संलग्नलाई व्यक्तिलाई कानुनअनुसार कारबाही नगरेकै कारण यस्ता घटना बढिरहेको बताइएको छ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.