|

काठमाडौं :  कोरोना संक्रमणको जोखिम बढेसँगै बन्द भएका सिनेमा घर माघ १ गतेदेखि खुल्दैछन्। यससँगै एक नयाँ चलचित्र पनि प्रदर्शनमा आउने भएको छ। चर्चित अभिनेता शिव श्रेष्ठले लगानी गरेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शनमा आउन लागेको हो।

चलचित्रको प्रदर्शनका बारेमा न्युज एजेन्सी नेपालले सोधेको एक प्रश्नमा नायक एवं निर्माता श्रेष्ठले आफ्नो चलचित्रको प्रदर्शनले ठप्प भएको सिनेमा क्षेत्र चलायमान हुने बताए। हामीले नायक एवं निर्माता श्रेष्ठलाई यस्तो कठिन पस्थितिमा सिनेमा क्षेत्र र यसमा भएका गतिविधिबारे बुझ्ने प्रयास गरेका छौं।

यो विषम परिस्थितिमा सिनेमा क्षेत्र अति प्रभावित भएको छ। यो अवस्थामा सिनेमा प्रदर्शन गर्ने हिम्मत देखाउनुभयो। किन?

हो समय अलि फरक नै छ। तर, आश्चर्य मान्नुपर्ने त्यस्तो पनि छैन। कोभिडको समयमा सबैले आफ्नो क्षेत्रबाट काम सुरु गर्नुपर्ने आवश्यकता देखेर हामी अगाडि आएको हो। कलाकारले कला क्षेत्रबाट अगाडि आउने बेला हो यो। सिनेमा हेर्न सुरुमा दर्शक आउँदैनन् कि भन्ने डर हाम्रो टिममा पनि थियो। तर, यो सिनेमाको प्रदर्शनले धेरै क्षेत्रको  ढोका खोल्छ भन्ने लाग्यो। यसरी सबै क्षेत्रलाई चलायमान बनाउने देखेर हामीले प्रदर्शन गर्ने हिम्मत गरेको हो।

 

कोरोनाको जोखिम बढेको बेला नयाँ कलाकारको सिनेमा, लगानी जोखिममा परेन र?

जोखिम त छ। तर, हामी मनोरञ्जनको क्षेत्रबाट यहाँसम्म आएका हौं। म आफैं विगत ४० वर्षदेखि काम गर्दै आइरहेको छु। जोखिमभन्दा पनि कर्तव्य सम्झेर पनि आएको हुँ।

अलिकति सिनेमाको कुरा गरौं, कस्तो छ कथावस्तु, नयाँ कलाकारलाई ल्याउनु भएको छ?

‘एउटा यस्तो प्रेम कहानी’को कथावस्तु उत्कृष्ट छ। मेरो छोरा शक्ति श्रेष्ठ र करिष्मा मानन्धरको छोरी कविता मानन्धरले अभिनय गर्नुभएको छ। हामी कलाक्षेत्रका व्यक्तिहरूले आफ्ना छोराछोरीलाई दर्शकसामु ल्याएका छौं। यसमा पुराना र स्थापित कलाकारहरुले पनि अभिनय गर्नुभएको छ। सिनेमा कमर्सियल विधामा बनेको छ। खासमा गजब बनेको छ।

फेरि पनि भर्खर हल खुल्दै छ, नयाँ सिनेमा हलमा लगाउन हतार भएन र?

यो समयमा सिनेमा ल्याउनु मेरा दर्शकको लागि हो। मलाई ४० वर्षदेखि दिएका माया र विश्वासलाई कर्तव्य सम्झेर पनि यो समयमा सिनेमा लिएर आएको हुँ। मलाई बनाएको दर्शकले हो, मैले दर्शकलाई मनोरञ्जन दिनुपर्छ। मेरो फिल्म हेर्न दर्शक हलसम्म आउनुहुन्छ। कोरोनाको कारण घरभित्र उकुस-मुकुस भएर बस्नु भएका दर्शकलाई नयाँ ताजा सिनेमा दिएको छु।

अन्तिममा,यो सिनेमाको प्रदर्शनसँगै सिने क्षेत्रमा कस्तो प्रभाव पर्छ भन्ने सोच्नुभएको छ?

यो सिनेमाको प्रदर्शनसँगै बन्द भएका, रोकिएर रहेका कामहरू सुचारु गर्न बाटो खोल्छ। अब केही गर्नुपर्छ चुप लागेर बस्नु हुन्न भन्ने सन्देश प्रवाह गर्छ। साथै सिने क्षेत्रका प्राविधिक कलाकारहरूले काम पाउले वातावरण बन्छ।

हामीले प्राविधिक कलाकारहरूलाई काम पनि दिनु छ। मैले पनि सिनेमाको प्रदर्शनपछि संकलन हुने केही रकम प्राविधिकहरूलाई सहयोग गर्नेछु। यस्तै, अहिलेको अवस्था सृजना गर्न नेपाल सरकारले गरेको सहयोगलाई धन्यवाद दिन्छु।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.