|

विजय नेपाल

चौतारा : सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका—७ का किसानले दुहुनो भैंसी पालेबापत २० हजार रुपैयाँ अनुदान पाउने भएका छन्। उनीहरुले सहकारी मार्फत डेरीमा दूध बेच्दा प्रतिलिटर ३ रुपैयाँसमेत थप अनुदान पाउनेछन्।

नगरपालिकाको चालु आ.व.मा भैँसीपालन अनुदानको लागि विनियोजन गरेको २५ लाख रुपैयाँबाट एक सय २५ जना कृषकलाई २० हजारका दरले अनुदान वितरण गर्ने भएको हो।

वडा कार्यालयले भैँसीपालक किसानहरूलाई अनुदान रकम दिनको लागि गठन गरेको छनोट समितिको अनुगमनको निर्णयको आधारमा बुधबार अनुदान सम्झौता गरेको हो। 'यसअघिका अनुदानका कार्याक्रमहरुले साना किसानलाई समेट्न नसकेकोले साना किसानलाई समेत समेट्ने उद्देश्यले यस्तो कार्यक्रम बनाइएको हो।' चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष उमाप्रसाद दुलालले भने, 'यसबाट वडामा दुधको उत्पादनमा वृद्धि हुने हामीले अपेक्षा गरेका छौं।'

वडाले गत वर्ष १६ जना र त्योभन्दा अघिल्लो वर्षसमेत ४० जना किसानलाई सो अनुदान दिइसकेको छ। यसअघि अनुदान रकम नपाएका किसानलाई यो पटक प्राथमिकता दिई अनुदान वितरण गरिने वडाध्यक्ष दुलालले बताए। लैनो भैंसी पालेर डेरीमा वा पसलमा नियमीत दूध बिक्री गरिरहेका किसानलाई मात्रै अनुदान रकम दिइएको उनले बताए। आफ्नो वडाभरिमा दुई सय १० वटा भैंसी रहेको र ती सबैलाई पालैपालो अनुदानको दायरामा ल्याइने समेत उनले बताए।

चौतारा साँगाचोकगढी नगरपालिकाले भने सहकारीबाट सञ्चालित डेरीमा दूध बेच्ने किसानलाई प्रतिलिटर ३ रुपैयाँ अनुदान दिइरहेको छ। यसरी भैंसीमा नै अनुदान दिँदा किसानहरू उत्साहित भई भैंसी पालनमा वृद्धि हुने नगरपालिकाका प्रमुख अमानसिं तामाङले बताए।

यसरी भैँसी पालनको लागि दिइएको अनुदान रकमले नगरपालिकाको एक घर एक रोजगारी कार्यक्रमलाई समेत सफल बनाउने उनले बताए। 'घरमै बसिरहने महिला तथा पुरुषहरुलाई यस्तो कार्यक्रमले उत्साहित बनाइ आत्पनिर्भर हुन प्रेरित गर्दछ।' नगर प्रमुख तामाङले भने, 'यसबाट नगरमा भैंसी पालक कृषकको संख्या वृद्धि भई नगरलाई दूधबाट आत्मनिर्भरसमेत बनाउन सकिन्छ।'

दुधालु भैंसी पालिरहेका किसानहरुले पनि यस्तो कार्यक्रमले आफूहरूमा उत्साह थपेको किसानहरुको भनाइ छ। 'परम्परा धान्न मात्र भैंसी पाल्ने गरेका हामीलाई यस्ता अनुदानका कार्यक्रमले व्यावसायिक रुपमै भैँसी पालन गर्न उत्साह भरेको छ,' स्थानीय किसान यमनाथ दुलालले भने।

सुरुमा प्रतिभैंसी २५ हजारका दरले १०० वटा भैंसीलाई अनुदान दिइने भनिएको भए पनि किसानको उत्साहजनक उपस्थितिका कारण रकम घटाएर भैंसीको संख्या बढाइएको वडाध्यक्ष दुलालले बताए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.