२ वर्षअघि दिएका २ गैँडा चीनमा मरे

|

काठमाडौं : नेपाल सरकारले समय-समयमा विभिन्न मित्रराष्ट्रलाई वन्यजन्तु उपहार दिने गरेको छ। अहिलेसम्म उपहारस्वरूप दिएका वन्यजन्तुको अवस्थाबारे भने अनुगमन गरिरहेको छैन। विदेशस्थित विभिन्न पार्क तथा राष्ट्रिय सङ्ग्रहालयमा राखिएका ती वन्यजन्तु जिउँदै छन्‌ या मरे भन्नेसम्मको जानकारी सरकारलाई छैन।

करिब ४ दशकयता विभिन्न १२ वटा राष्ट्रलाई नेपालले ३९ वटा वन्यजन्तु उपहार दिइसकेको छ। अमेरिका, जर्मनी, भारत, सिङ्गापुर, बङ्गलादेश, बेलायत, जापान, अष्ट्रीया, चीन, फ्रान्स, भुटान र साउदी अरबले उपहारस्वरूप नेपालका वन जङ्गलमा पाइने संरक्षित वन्यजन्तु लगेका हुन्।

मित्रराष्ट्रको हैसियतले धेरै मुलुकलाई वन्यजन्तु उपहार दिएपनि तिनीहरूको अवस्था कस्तो छ,  कसरी राखिएको छ र जीवित छन्‌ या कतिको मृत्यु भइसकेको छ, त्यसको यकिन विवरण तथ्यांक सरकारले नराखेको पाइएको हो।

चीनलाई उपहारस्वरूप दिएको ४ वटा गैँडामध्ये २ वटाको मृत्यु भइसकेको छ। २ वर्ष अगाडि चीनलाई एकसिंगे गैँडाको जोडी नै सरकारले दिएको थियो। उपहारस्वरूप पाएको वन्यजन्तु सम्बन्धित मुलुकले आफ्नै खर्चमा लाने गर्छन्।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार विदेश लैजानुअघि अधिकांश जनावरलाई अँध्यारो स्थानमा राख्ने गरिन्छ। जब ती वन्यजन्तु विदेश पठाइन्छन्‌ : उनीहरूको अवस्थाबारे सरकार पनि अँध्यारोमै बसेजस्तो व्यवहार गर्छ। 

नेपालले विभिन्न मुलुकलाई हालसम्म २६ वटा एकसिङ्‌गे गैँडा उपहारस्वरूप दिएको छ। घडियाल गोही १०, घडियाल र मगर गोहीको ६०/ ६० वटा अण्डा, २/२ वटा ब्वाँसो र चितुवा दिएको छ।

पहिलोपटक भारतले १९८५ मा ४ वटा एकसिङ्‌गे गैँडा पाएको थियो। उक्त गैँडालाई डुडुवा राष्ट्रिय पार्कमा लगेर राखिएको थियो। २०१८ मा चीनलाई पनि ४ वटा एकसिङ्‌गे गैँडा उपहार दिएको थियो। त्यसयता कुनै पनि मित्रराष्ट्र मुलुकलाई वन्यजन्तु उपहार दिएको छैन।

सरकारले अमेरिकालाई ६ वटा एकसिङ्‌गे गैँडा दिइसकेको छ। २ वटा एकसिङ्‌गे गैँडा सहित २ घडियाल गोही जर्मनीलाई, सिङ्गापुरलाई २ वटा गैँडा, भारतलाई ४ वटा गैँडा,अष्ट्रीयालाई २ वटा,बंगलादेशलाई २ वटा, बेलायतलाई २ वटा, चीनलाई ४ वटा गैँडा, फ्रान्सलाई ६ वटा घडियाल गोही,जापानलाई २ गैँडासहित ६० वटा घडियाल गोहीका अण्डा र मगर गोहीका ६० वटा अण्डा तथा एउटा ब्वाँसो, भुटानलाई २ वटा गैँडा र साउदी अरबलाई २ वटा चितुवा उपहारस्वरूप दिएको हो।

अहिले पनि विभिन्न मित्रराष्ट्रले उपहारस्वरूप वन्यजन्तु मागिरहेका छन्। उत्तर कोरिया र बहराइन जस्ता मुलुकहरू यसरी उपहारस्वरूप वन्यजन्तु माग्ने सूचीमा अघि छन्‌।

​नेपालले भने विदेशबाट अहिलेसम्म २ वटा हिप्पोपोटामस (जलगैँडा) ल्याएको विभागले जनाएको छ। हाल ती जन्तुलाई सदर चिडियाखानामा राखिएको छ।

'भौतिक अनुगमन गर्न सकेनौँ'

सरकारले विभिन्न प्रजातीको वन्यजन्तु उपहार दिएको भएपनि तिनीहरूको अवस्था कस्तो छ भन्नेबारे अहिलेसम्म अनुगमन गर्न नसकेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरि भद्र आचार्यले बताए।

उनले भने, 'विभिन्न छिमेकी मुलुकलाई वन्यजन्तु उपहार दिएपनि अहिलेसम्म व्यवहारिक रूपमा अनुगमन हुन सकेको छैन। अनुगमन गर्न नसकेकाले तिनीहरूको अवस्था कस्तो छ र कसरी राखिएको छ भन्ने कुनै विवरण राख्न सकिएको छैन।' विविध प्राविधिक कारणले पनि अनुगमन गर्न नसकिएको उनको भनाइ छ।

वन्यजन्तु पठाइएका सम्बन्धित मुलुकसँग विभाग प्रत्यक्ष सम्पर्कमा रहने गरेको छ। समय-समयमा उपहार स्वरूप पाएका मुलुकले नेपाललाई वन्यजन्तुको अवस्थाबारे जानकारी गराउने गरेको आचार्यले जानकारी दिए।

भौतिक रूपमा अनुगमन गर्न नसकेकाले अवस्था कस्तो छ केही थाहा नभएको उनी बताउँछन्। नेपालबाट लगिएका जन्तुको वासस्थानमा नेपालबाट ल्याइएको भनी लेख्न गरेको उनले जानकारी दिए।

व्यापारिक प्रयोजनका लागि नभएको विश्वास दिलाउनुपर्ने

वन्यजन्तु तथा संरक्षण ऐनमा 'संकटापन्न वन्यजन्तु वा वनस्पतिको संरक्षणमा नेपाल सरकारको प्रयासलाई  सहयोग पुर्‍याउने कुनै मुलुकको अनुरोधमा अध्ययन, संरक्षण शिक्षा वा अनुसन्धानको प्रयोजनका लागि नेपाल सरकारले १ आर्थिक वर्षमा १ जोडीसम्म कुनै प्रजातिको संकटापन्न वन्यजन्तु वा सो को कुनै नमुना वा तोकिए बमोजिमको संख्या वा परिमाणमा कुनै संकटापन्न वनस्पति वा सो को नमुना नेपाली जनता र नेपाल सरकारको सद्भावनाको प्रतिको रूपमा उपहार स्वरूप त्यस्तो मुलुकलाई उपलब्ध गराउन सकिन्छ,' उल्लेख छ।

उपहारस्वरुप वन्यजन्तु वा वनस्पति वा सो को नमुना व्यापारिक प्रयोजनका लागि प्रयोग प्रयोग नगरिने आश्वासन सम्बन्धित मुलुकबाट त्यसरी उपलब्ध गराउनुअघि नै नेपाल सरकारले कूटनीतिक माध्यमबाट प्राप्त गर्नुपर्ने व्यवस्था ऐनमा उल्लेख गरिएको छ।

विदेशीलाई ८ वटा​ आखेटोपहार ​दिइयो

समय-समयमा विदेशबाट आएर नागरिकले अनुमति लिइ नेपालका विभिन्न राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको शिकार गर्ने गरेका छन्।

जापान, साउदी अरब र भारतीय नागरिकहरू यहाँ सिकार खेल्न आउने गरेका छन्। सबैभन्दा बढी साउदी अरबका नागरिकले शिकार खेलेका छन्। विभागका अनुसार विदेशी नागरिकले अहिलेसम्म ८ प्रजातिका वन्यजन्तुको शिकार गरिसकेका छन्।

सरकारको तथ्यांकअनुसार अहिलेसम्म घडियाल गोही, गौरी गाई, पाटे बाघ, जरायो, काठे भालु, खर मजुर र चितुवाको शिकार भइसकेको छ।

सरकारले न्यूनतम १ लाख रुपैयाँ कबुल गरी शिकार खेल्न दिने गरेको छ।

शिकार खेलिएका जन्तुको छाला र तिनका अंगहरू शिकारीले नै लैजान पाउँछन्। कूटनीतिक सम्बन्ध भएका मुलुकका नागरिकले नेपालमा आइ शिकार गर्ने गरेका छन्।

नेपालमा सन्‌ १९८७ मा पहिलोपटक जापानी राजकुमारले शिकार खेलेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.