सीडीओ र एसपीकै ज्यान जाँदासमेत मौन छ नियामक

|

सिमरा : ना १ झ १६३३ नम्बरको जीपमा निजगढबाट कलैयातर्फ जाने क्रममा बाटोमै पार्किङ गरी राखेको ट्याक्टरसँग ठोक्किँदा २०७५ माघ १२ गते बाराका प्रमुख जिल्ला अधिकारी र सशस्त्र प्रहरी उपरीक्षक (एसपी) को ज्यान गयो।

‘हाइवे’ मै पार्किङ गरिराखेको ट्याक्टरसँग प्रजिअ र एसपीले ज्यान गुमाउनुपरेको सो घटनाले आजसम्म धेरैलाई झस्काइरहेको छ।

सो घटनापछि पनि सडकमै अस्तव्यस्त पार्किङ गरी राखेका सवारीसाधनमा ठोक्किँदा धेरैले अकालमा ज्यान गुमाइसकेका छन्। तर, सडकमा हुने गरेको अवैध पार्किङ हटाउन स्वयम्‌ प्रशासनले नै आनाकानी गरिरहेको छ।

निर्माणधिन पथलैया–वीरगञ्ज व्यापारिक मार्ग (६ लेन फराकिलो) मा दैनिक सयौँ मालवाहक गाडी अस्तव्यस्त ढंगले पार्किङ गर्ने गरिएको छ। यी मध्ये अधिकांश गाडीहरू उद्योगी-व्यवसायीका हुन्‌। मनलाग्दी पार्किङ गरिएको द‌ृश्य देख्दा लाग्छ : यो व्यापारिक मार्ग नभई उद्योगी/व्यापारीको गाडी थन्क्याउने पार्किङ स्लट हो। 

मनलाग्दी पार्किङ गरिँदा सडकमा दुर्घटना जोखिम त बढेको छ नै, साथै निर्माण सम्पन्न हुनुअघि नै व्यापारिक मार्ग भत्किन थालिसकेको छ। सडकमा जताततै खाल्डाखुल्डी देखिन्छ।

सडकमा पार्किङदेखि वर्कसपसम्म

करिडोरका उद्योगी र व्यापारीहरूले आफ्ना सवारीसाधनको पार्किङका लागि ठाउँ व्यवस्थापन नगर्ने, अनि जथाभावी रूपमा सडकमै पार्किङ गर्ने गरेका छन्।

कानूनले सडक सीमाभित्रको पार्किङलाई गैरकानूनी मानेको छ। व्यापारिक मार्ग आयोजना कार्यालयका प्रमुख मनिष साहले सडकमै सवारीसाधन राख्दा निर्माणधिन सडकमा जोखिम बढेको बताए।

‘हाम्रो काम सडक बनाउने मात्रै हो, पार्किङ व्यवस्थापन ट्राफिक प्रहरीको र स्थानीय तहको काम हो, यसका लागि हामीले पटक-पटक पत्राचार गरेका छौं,’ आयोजना कार्यालय प्रमुख साहले भने, ‘स्थानीय तहले सवारीसाधन पार्किङका लागि ठाउँ व्यवस्थापन गर्न नसक्दा सडक अस्तव्यस्त बनेको छ।’

व्यापारिक मार्गको पथलैया, सिमरा, पर्वानीपुर, गण्डकदेखि एकीकृत जाँचचौकी (आइसिपी) सम्म करिब २८ किलोमिटरको दुवैतर्फ २/२ लेनसम्म सडक र सर्भिस लेन नै मिचेर उद्योगीहरूले मालवाहक सवारीसाधन पार्किङ गर्दै आएका छन्।

‘हामीकहाँ लेन अनुसाशन पालना हुन सकेको छैन, ओभरलोडेड गाडी सडकमै पार्किङ हुन्छन्, वर्कसपहरू पनि सडकमै सञ्चालित छन्, कोइला फ्याक्ट्रीबाट निस्केको गाडीले सडकमै फोहर फाल्दा साइटमा काम गर्नै समस्या छ,’ साहले भने।

निर्माणाधिन सडकमै वर्कसवहरू सञ्चालन हुँदा ग्रिज र मोबिल लगायतका केमिकलले कालोपत्रेमै असर गरेको छ। सवारीसाधन आवागमनमा समेत समस्या भएको आयोजना कार्यालयले जनाएको छ।

गृह मन्त्रालयले सवारी दुर्घटना जोखिम न्युनिकरण गर्न सरोकारवाला निकायहरूको कार्यक्षेत्र अनुसार जिम्मेवारी छुट्टाएको छ। तर, सो जिम्मेवारी अनुसार काम हुन नसक्दा व्यापारिक मार्ग उद्योगीका मालवाहक सवारी पार्किङस्थलको रूपमा दुरूपयोग हुँदै आएको छ।

दोष ट्राफिकलाई, तर स्थानीय तह नै मुख्य जिम्मेवार

प्रदेश नं २ को ट्राफिक प्रहरी कार्यालयका प्रमुख श्यामकुमार महतोले पार्किङ व्यवस्थापनमा स्थानीय तह गैह्रजिम्मेवार रहेको, तर ट्राफिक प्रहरीलाई मात्रै दोषी देखाउने काम भइरहेको बताए।

‘हामीसँग फिल्डमा काम गर्ने १५ जना कर्मचारी छन्, ती प्रत्येक ठाउँमा पुग्न सक्दैन्,सवारी धनी, चालक र सडक कार्यालयको पनि आफ्नो जिम्मेवारी होला, स्थानीय तहले पनि पार्किङका लागि ठाउँको व्यवस्थापन गर्नुपर्छ कि पर्दैन?’ महतोले प्रतिप्रश्न गर्दै भने, ‘कसैलाई जिम्मेवारीसँग सरोकार छैन, ट्राफिक प्रहरीलाई मात्रै गाली गर्ने मानसिकता देखियो, विगतमा पथलैया बजारमा सडक लेनमै ३ सय ट्रक पार्किङ हुन्थे, त्यो अहिले धेरै कम भएको छ।’

जितपुर सिमरा उपमहानगरले पार्किङका लागि आजसम्म खाली ठाउँ व्यवस्थापन गर्न सकेको छैन्। नगरक्षेत्र भित्र रहेका सयौं बिगाहा सार्वजनिक, प्रति र ऐलानी जग्गा विभिन्न व्यक्ति र समूहले कब्जा गरेका छन्। ती जग्गालाई नगरपालिकाले चाहेमा संरक्षण तथा पार्किङका लागि व्यवस्थापन गर्नसक्छ।

उपमहानगरले गत र चालु आर्थिक वर्षमा पनि ट्रक तथा ट्यांकर पार्किङका लागि बजेट छुट्याएको थियो। नगर उपप्रमुख सरस्वती चौधरीले नगरपालिकाले पार्किङका लागि जग्गा खोजी गरिरहे पनि अनुकूल ठाउँमा जग्गा नभेटिएको दावी गरिन्।

‘पार्किङ व्यवस्थापनका लागि  बजेट पनि छुट्याइएको थियो, तर जग्गा विवादले काम हुन सकेको छैन,’ उनले भनिन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.