|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेको छन्।

प्रचण्ड–नेपालले बुधबार साँझ देउवासँग भेटवार्ता गरेका हुन्। भेटवार्ताको क्रममा कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक पनि सहभागी थिए। 

भेटवार्तामा सहभागी लेखकका अनुसार प्रचण्ड–नेपालले देउवासँग संसद पुनर्स्थापनाको पक्षमा जोड दिन आग्रह गरेका थिए। ‘सभापतिज्यूलाई भेट गर्न उहाँहरु आउनुभएको थियो। उहाँहरुले पुनर्स्थापनाका पक्षमा सहयोग गरिदिन आग्रह गर्नुभएको थियो,’ लेखकले भने, ‘संसद पुनर्स्थापनामा दबाव दिनका लागि संयुक्त आन्दोलनमा जान सहयोग गर्न आग्रह गरे।’

प्रचण्ड–नेपालले देउवालाई संसद पुनर्स्थापना भए नभए पनि अबको प्रधानमन्त्री बन्ने प्रस्ताव गरेको चर्चा चलिरहे पनि त्यस्तो कुनै प्रस्ताव नआएको नेता लेखक बताउँछन्। ‘उहाँहरुले राजनीतिमा सहयोग र सहकार्य गरेर जान सकिन्छ भन्ने कुरा गर्नुभएको हो,’ उनले भने, ‘तर, बाहिर चर्चा चलेजस्तो आगामी प्रधानमन्त्री बन्ने कुनै प्रस्ताव भने गर्नुभएको छैन।’

सभापति देउवाले प्रचण्ड–नेपालको प्रस्तावमा अदालतमा विचाराधीन विषयमा यो गर र त्यो गर भनेर दबाव दिने पक्षमा नरहेको जवाफ दिएको नेता लेखक बताउँछन्। ‘हामीले असंवैधानिक कदम भनेकै छौँ। हाम्रो केन्द्रीय कमिटीको बैठक चलिरहेको छ। अदालतले जे निर्णय गर्छ हामी त्यसलाई मान्छौँ,’ सभापति देउवाको भनाइ उदृत गर्दै नेता लेखकले भने, ‘अदालतको निर्णय मान्ने भएकाले अहिले अदालतलाई यो गर र त्यो गर भनेर दबाव दिदैनौँ।’

देउवाले नेकपामा दुई गुट भएको अवस्थामा कुन पक्षलाई सहयोग गर्ने भन्नेबारे पनि कुनै निर्णय भइनसकेको बताए। ‘तपाईहरु अहिले दुई गुटमा हुनुहुन्छ, कसलाई सहयोग गर्ने भन्ने हामीले निर्णय गरिसकेका पनि छैनौँ,’ उनले भने, ‘हाम्रो पनि केन्द्रीय कमिटीको बैठक चलिरहेको छ। जब हामीले सहयोग गर्ने कुरा आउँछ, त्यो बेलामा हामी पार्टीबाटै निर्णय लिन्छौँ अहिले मैले भन्न सक्ने अवस्था छैन।’

प्रचण्ड–नेपाल र देउवाबीच अहिलेको राजनीतिक घटनाक्रममा विषयमा छलफल भएको नेकपा स्थायी कमिटी सदस्य रघुजी पन्त बताउँछन्। पन्तले भने, ‘उहाँहरुले प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि कसरी त्यो असंवैधानिक कदमलाई असफल बनाउन सकिन्छ भन्ने बिषयमा छलफल गर्नुभएको हो।’

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुष ५ मा प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई धारमा विभाजित भएको छ। ओली प्रतिनिधिसभा विघटनपछि चुनावमा केन्द्रित भएका छन्। यता, प्रचण्ड–नेपाल समूह भने संसद पुनर्स्थापना हुने दाबीसहित सडक आन्दोलनमा उत्रिएको छ। 

नेकपा दुई धारमा विभाजित बनिसकेको छ। अहिले दुवै पक्षले आफ्नै पक्ष आधिकारिक भएको दाबीसहित निर्वाचन आयोगलाई जानकारी गराएका छन्।  त्यसो त निर्वाचन आयोगको निर्णयपछि नेकपाले औपचारिक रुपमा विभाजित हुनेछ। 

यता, प्रतिनिधिसभा विघटनपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा पनि दुई धारमा देखिएको छ। सभापति देउवा निर्वाचनको पक्षको देखिएका छन्। उनले सर्वोच्चमा विचाराधीन विषयमा बाहिरबाट दबाव दिन नमिल्ने भन्दै कार्यकर्तालाई निर्वाचनको तयारीमा लाग्न निर्देशन समेत दिन थालिसकेको छन्।  तर, वरिष्ठ नेता रामचन्द्र पौडेल प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएकाले सडक आन्दोलनबाट संसद पुनर्स्थापनाको पक्षमा लाग्नुपर्नेमा जोड गरिरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.