क्षेत्रफलको हिसाबले पोखरा-लेखनाथ ठुलो, जनसंख्या काठमाडौंमा धेरै

|

काठमाडौं : स्थानीय विकास मन्त्रालयले गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगको प्रतिवेदन अनुसार नेपालको स्थानीय निकायको सात सय ४४ वटा संख्या निर्धारण गरेको छ।

नेपाल सरकारले फागुन २७ गते राजपत्रमा सूचना प्रकाशित गरी चार सय ८१ गाउँपालिका, दुई सय ४६ नगरपालिका, १३ उपमहानगरपालिका र चारवटा महानगरपालिका गरी सात सय ४४ वटा नाम, संख्या, सीमाना तथा वडा निर्धारण गरेको छ।

स्थानीय तहको नयाँ पुनर्संरचना अनुसार यसअघि एउटा (काठमाडौं) मात्र महानगरपालिका भएकोमा ललितपुर, भरतपुर र पोखरा-लेखनाथ गरी तीन वटा थपिएको छ। 

आयोगले नेपालको काठमाडौं महानगरपालिकाका ३५ वडा घटाएर ३२ वटा वडामा झारेको छ। जसअनुसार २२ र २४ वडा नम्बरलाई २२ मा, २५ र २६ वडालाई २४ मा, २७ र २८ वडालाई २५ नम्बर वडामा मर्ज गरिएको छ।

त्यस्तै ललितपुर उपमहानगरपालिकामा कार्यविनायक नगरपालिका मर्ज गरेर ललितपुर महानगरपालिका बनाइएको छ। उपमहानगर हुँदा ३० वटा वडा रहेको ललितपुर महानगरपालिकामा अब भने २९ वटा वडा भएका छन्।

उपत्यका बाहिर पोखरा-लेखनाथ र भरतपुर महानगरपालिका बनाइएको छ। कास्कीको पोखरा उपमहानगरपालिका, लेखनाथ नगरपालिका, मौजा, चापाकोट, भदौरे तमागी, कास्कीकोट, माझठाना, कालिका र पुरन्चौर गाविस समावेश गरेर पोखरा-लेखनाथ महानगरपालिका बनाइएको छ।

जसमा भदौरे तमागीका ३-९, माझठानाका १, ४-९, कालिका गाविसका १-५ वडा रहेका छन्। जसअनुसार यस महानगरपालिकाको संख्या ३३ कायम गरिएको थियो। यसअघि पोखरा उपमहानगरपालिकाको २९ वटा वडा थिए।

चितवनमा भरतपुर उपमहानगरपालिका, नारायणी, चितवन नगरपालिका र कविलास गाविस समावेश गरी भरतपुर महानगरपालिका बनाइएको छ भने वडा संख्या २९ कायम गरिएको छ। यसअघि पनि उपमहानगर हुँदा भरतपुरमा २९ वडा थिए।

जनसंख्या काठमाडौंमा धेरै

चार महानगरपालिकामध्ये सबैभन्दा बढी जनसंख्या काठमाडौंमा रहेको छ। आयोगका अनुसार काठमाडौं महानगरको जनसंख्या नौ लाख ७५ हजार चार सय ५३ रहेको छ।

यसपछि पोखरा-लेखनाथ महानगरको चार लाख १४ हजार एक सय १४, ललितपुर महानगरको दुई लाख ८४ हजार नौ सय २२ र भरतपुरको दुई लाख ८० हजार पाँच सय दुई जनसंख्या रहेको छ।

क्षेत्रफल पोखरा-लेखनाथको धेरै 

चार महानगरमध्ये पोखरा-लेखनाथको क्षेत्रफल सबैभन्दा धेरै रहेको छ। उसको ४६४.२४ वर्ग किलोमिटर क्षेत्रफल छ। यसैगरी भरतपुर महानगरले ४३२.९५ वर्गकिलोमिटर क्षेत्रफल ओगटेको छ। सबैभन्दा धेरै जनसंख्या रहेको देशको राजधानी अवस्थित काठमाडौं महानगरको क्षेत्रफल ४९.४५ वर्गकिलोमिटर रहेको छ भने सबैभन्दा सानो महानगरको रुपमा ललितपुर उपमहानगरले ३६.१२ वर्गकिलोमिटर क्षेत्रफल ओगटेको छ।

पोखरा-लेखनाथको वडा बढी

नयाँ संरचनाअनुसार पहिलो महानगरपालिका काठमाडौं भन्दा पोखरा-लेखनाथ महानगरपालिकाको वडा संख्या धेरै कायम गरिएको छ। पोखरा-लेखनाथमा २९ वडाबाट बढाएर ३३ वडा छ भने काठमाडौंमा ३५ बाट घटाएर ३२ वडा कायम गरिएको छ। क्षेत्रफलका हिसाबले पनि पोखरा-लेखनाथ महानगरपालिका सबैभन्दा ठूलो छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.