|

काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको चौथो संस्करण आजदेखि काठमाडौंमा सुरु हुँदैछ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। माघ १७ गतेसम्म चल्ने प्रतियोगिता कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा हुनेछ। ३ विभागीय र सात प्रदेश गरि सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह एमा त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश एक र कर्णाली प्रदेश रहेका छन्। 

समुह बीमा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश दुई र सुदूरपश्चिम प्रदेश रहेका छन्। समूहमा सबैले एक अर्कोसँग खेले पछि शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्।​

यसैबिच राष्ट्रिय क्रिकेट टोलीका बलर सोमपाल कामी, करण केसी र युवा अलराउन्डर कुशल मल्लले भने प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन्।  विभागीय टोली त्रिभुवन आर्मी क्लबका सदस्य तीव्र गतिका बलर सोमपाल, करण र कुशल संयुक्त अरव इमिरेट्स यूएईमा हुने टि टेन लिग खेल्ने भएका कारण प्रधानमन्त्री कपका लागि उपलब्ध नहुने क्लबले जनाएको छ। 

टि टेन लिग जनवरी २८ देखी फेब्रुअरी ६ सम्म आबूधाबीमा हुँदैछ। महत्वपूर्ण खेलाडी टोलीमा नहुने भएपछि आर्मीले सुदूरपश्चिमका युवा ब्याट्सम्यान लोकेश बम र तीव्र गतिका बलर आकाश चन्दलाई टोलीमा भित्र्याएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.