|

काठमाडौं : विस १९९० माघ २ गते भूकम्प गयो। दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ। विसं २०५५ देखि माघ २ गतेलाई भूकम्पको बारेमा जनचेतना जगाउने उद्देश्यले राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रूपमा मनाउन थालिएको हो।

त्यस्तै, २०७२ वैशाख १२ गते शनिबार ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर भूकम्प गयो। भूकम्पले करिब नौ हजार मानिसको ज्यान लियो। भूकम्प गएको पाँच वर्ष पूरा भइसकेको छ। तर, अझै क्षतिग्रस्त सम्पदा र घरहरू उठ्न सकेको छैन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार भूकम्पबाट ७ हजार ५ सय ५३ विद्यालय क्षतिग्रस्त भए। जसममध्ये ६ हजार ८५ अर्थात् ८१ प्रतिशत विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ।

१ हजार ४ सय ६८ अर्थात् १९ प्रतिशत विद्यालय पुनर्निर्माणको क्रममा छन्। ९ सय २० वटा ऐतिहासिक,सांस्कृतिक सम्पदा क्षतिग्रस्तमध्ये ४ सय ६५ वटा सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ। बाँकी सम्पदा पुनर्निर्माणको चरणमा छन्। निजी आवासको पुनर्निर्माण ९० प्रतिशतभन्दा बढी प्रगति हासिल गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।

पुनर्निनिर्माणका लागि ७ लाख ९६ हजार २ सय ४५ लाभग्राहीहरूसँग अनुदान सम्झौता भएको थियो। जसमध्ये ५ लाख ५६ हजार ४ सय ८७ अर्थात् ७० प्रतिशत लाभग्राहीहरुले घर पुनर्निर्माण भइसकेको छ भने, १ लाख ६८ हजार ८३ अर्थात् २१ प्रतिशत लाभग्राहीहरु घर पुनर्निर्माणको अन्तिम चरणमा छन्।

बाँकी लाभग्राहीहरूले यसै आवभित्र पुनर्निर्माण सम्पन्न गर्ने प्राधिकरणले लक्ष्य लिएको छ। त्यस्तै, भूकम्पले १ हजार १ सय ९७ वटा स्वास्थ्य संस्था क्षतिग्रस्त गरेको थियो।

जसमध्ये ६ सय ९८ वटा स्वास्थ्य संस्थाहरूको पुनर्निर्माण सपन्न भएका छन् भने बाँकी यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी कार्य अघि बढाइएको प्राधिकरणले जानकारी दिएको छ। कुल ४ सय १५ सरकारी भवनमध्ये ३ सय ७४ वटा अर्थात् ९० प्रतिशत सरकारी भवनको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने ३८ वटा पुनर्निर्माणको चरणमा छन्।

‘बाँकी पुनर्निर्माणका काम यसै आवमा निर्माण हुन्छन्’

पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पले क्षतिग्रस्त भएका सम्पदाहरू यसै आर्थिक वर्षमा सम्पन्न गर्ने बताए। उनले भने,‘भूकम्पले क्षतिग्रस्त सम्पदा,घर लगायत संरचनाहरु तीव्र गतिमा पुनर्निर्माण भइरहेको छ। बाँकी रहेका अधिकांश संरचनाहरू यसै आर्थिक वर्षमा सकिन्छ।’

उनले पुनर्निर्माणका लागि स्वीकृत पञ्चवर्षीय पुनर्निर्माण तथा पुनर्सथापना योजनाअनुसार परिमार्जित कुल बजेट आवश्यकता ४८८ अर्ब रुपैयाँ रहेको र हालसम्म नेपाल सरकार एवं दातृ निकायहरूको समेत गरी कुल ३३९ अर्ब रुपैयाँ खर्च भइसकेको पनि जानकारी दिए।

प्राधिकरणका सचिव सुरेश आचार्यले राजनीतिक संक्रमणकाल, तीन तहका सरकारको निर्वाचनका साथै पछिल्लो कालमा कोभिड–१९ को महामारीबाट उत्पन्‍न विषय परिस्थितिका बाबजुद पुनर्निर्माणमा उल्लेख्य प्रगति भएको पौष १० गतेको पत्रकार भेटघाट कार्यक्रममा उल्लेख गरे। उनले पनि एक वर्षमा पुनर्निर्माणका मुलभूत कार्यहरू सम्पन्न गर्ने जानकारी दिएl 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.