|

काठमाडौं : आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत केन्यासँगको पहिलो खेलमा नेपाल ५ विकेटले पराजित भयो। वर्षाले पटक-पटक प्रभावित खेलमा पराजित भएसँगै प्रतियोगितामा नेपालको सम्भावना निकै कमजोर बनेको छ। तर, सम्भावना सकिएको भने होइन। नेपालले बाँकी पाँचवटै खेल जित्ने हो भने शीर्ष ४ मा स्थान बनाउन सक्छ। यसका लागि अन्य टोलीको खेलको नतिजा आफू अनुकुल आउनुपर्छ र त्यो सम्भावना पनि छ।

शीर्ष चारका लागि भिडन्त

जुनसुकै प्रतियोगितामा पनि सबै टोलीले उपाधिका लागि खेल्छन्। तर, यो एउटा यस्तो प्रतियोगिता हो जसमा चौँथो हुने टोलीको पनि उत्तिकै महत्व छ। यहाँ प्राय सबै टोलीले शीर्ष चारमा स्थान बनाउनुलाई नै आफ्नो पहिलो लक्ष्य बनाएका छन्। शीर्ष चारभित्र पर्ने ४ टोली एसोसिएटको शीर्ष डिभिजनमा कायममात्र रहने छैनन्, विश्वकप छनोट पनि खेल्न पाउने छन्। तलका ४ टोलीले डिभिजन टू खेल्नुपर्नेछ।

अंक गणितीय हिसाबले हेर्ने हो भने अहिलेसम्म कुनै पनि टोलीले शीर्ष चारमा स्थान बनाइसकेका छैनन्। यद्यपी नेदरल्याण्ड्सको भने लगभग पक्काजस्तै छ। उसलाई केन्या सोमबार नेपालसँग पराजित भएमा १ अंक, अन्यथा ३ अंक भए पुग्छ। ४ खेल खेल्न बाँकी रहेकाले उसलाई त्यसका लागि गाह्रो छैन।

पिएनजी, स्कटल्याण्ड, हङकङ, केन्या र नेपालमध्ये ३ टोली

नेदरल्याण्ड्सलाई शीर्ष चारभित्र पक्काजस्तै मान्दा पिएनजी, स्कटल्याण्ड, हङकङ, केन्या र नेपालसहित ५ टोलीले ३ स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। त्यसमा नेपालको सम्भावना सबैभन्दा कमजोर छ। नेपालले अब बाँकी सबै खेल जित्ने हो भने शीर्ष चारमा पर्न अन्य नतिजा कस्तो आउनु पर्छ त ? 

बाँकी खेलहरु:

नेपाललाई फाइदा पुग्ने सम्भावित नतिजा

नेदरल्याण्ड्स : लगभग पक्का
स्कटल्याण्ड : केन्या, पिएनजी र नामिबियासँग जित – १७ अंक
पिएनजी : स्कटल्याण्ड र हङकङसँग हार, युएईसँग जित – १६ अंक
नेपाल : केन्या, हङकङ र युएईविरुद्ध जित – १६ अंक
हङकङ : नेपालसँग दुवै खेलमा हार पिएनजीसँग जित – १५ अंक
केन्या : नेदरल्याण्ड्स, स्कटल्याण्ड्स तथा नेपालसँग हार – १० अंक

सिधा बाटो आफ्नो जित, हङकङ र केन्याको हार

यसको मतलब यही टिमसँग जित, यही टिमसँग हार चाहिन्छ भन्ने होइन। सिधा अर्थमा भन्नु पर्दा केन्याले नेपालसहित कम्तिमा बाँकी ३ खेल हार्नुपर्‍यो। त्यो सम्भावना छ। किनभने उसले नेपाल, नेदरल्याण्ड्स, स्कटल्याण्डसँग खेल्न बाँकी छ।

अर्कोतर्फ हङकङले नेपालसँग दुबै खेल हारेमा उसले अर्को खेलमा जस्तो नतिजा ल्याए पनि नेपाललाई फरक पर्दैन। पिएनजी र स्कटल्याण्डको सम्भावना अलि प्रवल भए पनि उनीहरुको हारलेसमेत नेपाललाई फाइदा नै हुन्छ।

नेपाल शीर्ष चारमा पर्ने सबैभन्दा सजिलो बाटो भनेको आफ्नो बाँकी खेल जित्ने, केन्याले कम्तिमा ३ खेल हार्ने र हङकङले नेपालसँग हार्ने नै हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.