गृहमन्त्री थापालाई धनकुटामा कालोझण्डा

|

धनकुटा : गृहमन्त्री रामबहादुर थापा बादलले संसद विघटनबाटै आन्दोलनको थालनी भएको बताएका छन्। ओली समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाले आयोजना गरेको जिल्लास्तरिय बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री थापाले नेकपा विभाजन भइसकेको र आन्दोलनकै माध्यमबाट फेरि एकताबद्ध गर्न सकिन्छ कि भनेर पार्टी नेतृत्वले संसद विघटनको निर्णय गरेको बताए।

उनले हिजो भएका सबै उपलब्धि आन्दोलनबाटै भएको भन्दै राजनितीक स्थायित्वका निम्ति नयाँ आन्दोलन चाहिएकाले संसद् विघटन गरेको बताए।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिबालय सदस्य समेत रहेका थापाले राजनैतिक अस्थिरता पैदा गर्ने साधन संसद भएकाले त्यसलाई विघटन गर्न आवश्यक रहेको ठानेर नेतृत्वले सहि कदम लिएको बताए।

पुरानो संसदले देशमा स्थायीत्व ल्याउन नसक्ने दाबी गर्दै मन्त्री थापाले पुरानो संसदको पुनस्र्थापनाले प्रतिगमनलाई पुन: स्थापित गर्ने बताए। संसद पुन: स्‍थापनाले संघीय गणतन्त्रलाई विस्थापन गरेर राजतन्त्र स्थापनासम्म पुग्ने भन्दै उनले संसद पुनस्र्थापनाको नारा पश्चगामी नारा भएको दाबी गरे। उनले नयाँ संसदको नारा भनेको गणतन्त्र सुदृढीकरणको नारा भएको बताए। उनले केहीलाई चुनावमा जाँदा पराजित भइन्छ भन्ने डरले चुनावमा जान डराएको बताउँदै मन्त्री थापाले अदालतले सरकारको निर्णयलाई सदर गर्ने विश्वास भएको बताए।

गृहमन्त्री बादलले गणतन्त्र स्थापनापछि प्रतिगामीहरुले गुमेको सत्ता हातमा लिन नेकपालाई फुटाउन लागि परेको बताउँदै प्रतिगामीहरुले नेकपाका असन्तुष्ट पक्ष पहिचान गरेर उनीहरुलाई प्रयोग नेकपा फुटाएको आरोप लगाए। उनले नेकपाको नेतृत्वमा रहेर राष्ट्रपति, प्रधानमन्त्री र पार्टी अध्यक्ष हुन नपाएकालाई हातमा लिएर अन्तरविरोध चर्काएको बताए।

उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत असोजमा ल्याएको प्रतिवेदनलाई लक्ष्यित गर्दै प्रतिगामीहरुले १९ पृष्ठको आरोपपत्र ल्याएको आरोप लगाए। त्यसपछि प्रधानमन्त्री केपी ओलीमा आत्मासमर्पण र प्रतिरोध गरी दुईवटा विकल्प रहेकोमा प्रतिरोध गर्न संसद विघटन गरेको बताए। उनले बाह्य हस्तक्षेपलाई रोकेर राष्ट्रियताको रक्षा र स्वाधिनताको लागि आन्दोलन आवश्यक भएको बताए।

ओली पक्ष नेकपा धनकुटाले आयोजना गरेका कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य राजेन्द्र गौतम, केन्द्रीय सदस्य तथा प्रदेश १ अध्यक्ष देवराज घिमिरे, केन्द्रीय सदस्य गोपाल गुरागाँईले मन्तव्य राखेका थिए।

बादललाई कालो झण्डा

ओली समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यकर्ता भेलालाई सम्बोधनका लागि धनकुटा आएका नेकपाका सचिवालय सदस्य तथा गृहमन्त्री राम बहादुर थापा बादललाई कालो झण्डा देखाइएको छ।

काठमाडौंबाट सिधै नेपाली सेनाको हेलिकोप्टरमा आएका उनलाई कडा सुरक्षाका साथ कार्यक्रमस्थल धनकुटा नगरपालिकाको त्रिवेणी माध्यमिक विद्यालयको प्राङ्गणतर्फ जाँदै गर्दा नेपाल विद्यार्थी संघ धनकुटाले माथिल्लो गोकुण्डेश्वर माध्यमिक विद्यालय नजिकै कालो झण्डा देखाउदै बादलका विरुद्ध नारा बाजी गरेका हुन।

यस्तै प्रचण्ड–नेपाल पक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियूले कार्यक्रम सकेर फर्कने क्रममा कालो बेलुन उडाउँदै असंवैधानिक कदमको मतियार भन्दै नाराबाजी गरेका थिए।

गृहमन्त्री आफैंले उल्लघंन गरे सरकारको कार्यक्रम

नेपालमा भएको सशस्त्र द्धन्द्धपछि सरकारले विद्यालय शान्ति क्षेत्रको कार्यक्रम लागु गरेको छ। त्यो कार्यक्रममा कुनै पनि राननितिक दलको कार्यक्रम विद्यालयमा गर्न नपाउने र बालबालिकालाई कुनैपनि राजनितिक दलको कार्यक्रम सहभागि नगराउने उल्लेख छ। तर, शनिबार गृहमन्त्री बादल सहितका नेताले धनकुटाको त्रिवेणी माध्यमिक विद्यालयमा ओली पक्षीय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आयोजना गरेको कार्यक्रममा सम्बोधन गरेका थिए।

विद्यालय शान्ति क्षेत्र कार्यक्रम अन्तरगत शनिबार भएपनि विद्यालयमा कुनै राजनितिक कार्यक्रम गर्न नपाइने शिक्षा विकास तथा समन्वय इकाई धनकुटाकी प्रमुख मोहन राईले बताइन। उनले शान्ति र सुरक्षा गर्ने सरकारले आफैं जान्नुपर्ने बताइन। उनले गृहमन्त्रालयले नै शान्ति सुरक्षा गर्ने भएकाले हामीले के भन्नु भन्दै प्रश्न गरिन।

शिक्षा मन्त्रालयले गरेको विद्यालय शान्ति क्षेत्र भन्ने निर्देशिका विद्यालयलाई राजनैतिक कार्यक्रम पयोग गर्न हुँदैन, विद्यार्थीलाई प्रयोग गर्न हुँदैन भन्ने उल्लख भएको प्रमुख राईको भनाई छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.