|

काठमाडाैं : नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन भारत भ्रमणमा गएका परराष्ट्रमन्त्री प्रदीप पकुमार ज्ञवाली शनिबार नेपाल फर्किएका छन्। 

भ्रमणले नेपाल र भारतबीच रहँदै आएको घनिष्ठ, मैत्रीपूर्ण एवम् बहुआयामिक सम्बन्धलाई थप मजबुद पार्न योगदान पुगेको मन्त्री ज्ञवालीले बताए। 

आयोगको बैठकमा कोभिड १९ को भ्याक्सिनको आवश्यकता पुर्ति गर्नेबारे भारतसँग छलफल भएको तथा भारतले नेपाललाई प्राथमिकतामा राखेको स्पष्ट पारेको उनले जनाए।

त्यसैगरी कोभिडका कारण बन्द रहेका हवाई तथा स्थल मार्गहरु क्रमशः खोल्दै जाने, हुलाकी सडक अन्तर्गत १४ खण्डमध्ये सम्पन्न भइसकेको ११ खण्ड हस्तान्तरण प्रक्रिया बढाउने र बाँकी छिट्टै सक्ने कुराकानी भएको उनले बताए।

बैठकमा रक्सौल–काठमाडौँ रेलमार्ग निर्माण कार्यको फिल्ड लोकेसन सर्भेका लागि एमओयू अन्तिम चरणमा पुगेकोले शीघ्र काम शुरु गर्ने सहमति गरेको छ। भैरहवामा एकिकृत चेकपोष्टको काम शीघ्र शुरु गर्ने विषयमा कुरा भएको मन्त्री ज्ञवालीले जानकारी दिए।

महाकालीमा निर्माणाधीन ४ लेनको सडक पुललाई भारतको राष्ट्रिय सडक सञ्जालसँग जोड्न भारत सहमत भएको पनि उनले बताए। बैठकमा भूकम्पपछिको पुनर्निर्माणमा भारतले प्रदान गरेको अनुदान तथा ऋणको उपयोग गर्ने तथा परियोजनालाई अन्तिम रुप दिने विषयमा पनि छलफल भएको छ।

नेपाल भारतबीच पारवहन र रेलसम्बन्धी सन्धि, सम्झौताहरु पुनरावलोकन प्रक्रिया छिटो सम्पन्न गर्ने निर्णय पनि भएको जनाइएको छ। भ्रमण क्रममा नेपालको निर्यात बढाउने ठोस उपाय अबलम्बन गर्न नेपाली पक्षले भारत सरकारलाई अनुरोध गरेको छ।

कृषिमा थप सहकार्य गर्ने तथा जिटुजी प्रक्रियामा मल खरिद गर्ने एमओयु लाई गति दिने सहमतिलगायत अन्य विभिन्न निर्णय भएको पराराष्ट्र मन्त्री ज्ञवालीले जानकारी दिए। 

आयोगको संयुक्त बैठक दुवै पक्षलाई अनुकूल हुने समयमा नेपालमा आयोजना गरिने परराष्ट्र मन्त्री ज्ञवालीले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.