|

दाङ : नेकपा स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले प्रचण्ड र माधव नेपालले पदका लागि नभई ओली प्रवृत्ति सुधार्न खोज्दा नेकपा विभाजन भएको बताएका छन्।  

पुनले नेकपा विवाद अमुक नेताबीचको पदीय भागबण्डा र वा सुख सुविधा प्राप्तिको झगडा नभई विचार, सिद्धान्त, विधि र पद्धति मान्ने र नमान्नेबीचको लडाईं भएको  उल्लेख गरे। 

केपी ओली समूहले  अलोकतान्त्रिक र असंवैधानिक प्रतिनिधिसभा विघटनलाई ढाकछोप गर्न पदीय झगडालाई बहाना बनाएको उहाँको टिप्पणी थियो। ओलीले गत जेठमै प्रतिनिधिसभा विघटनको तयारी गरेपछि प्रचण्डले संसदको पाँचवर्षे कार्यकाल मध्ये आधाआधा अवधि सरकारले नेतृत्व गर्ने लिखित सहमतिबाट पछि हटेर जिम्मेवारीपूर्वक पाँचै वर्ष प्रधानमन्त्री खान दिने प्रतिबद्धता गरेको स्मरण मन्त्री पुनले गरे।

‘ओली गुटले केही नेताहरुको मान मर्यादा र पदका लागि पार्टीभित्र विवाद झिकिएको भ्रम फैलाउने कोसिस गरेको छ’, दाङको तुलसीपुरमा शनिबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पुनले भने, ‘पदावधिका आधारमा आधाआधा कार्यकाल सरकार सञ्चालन गर्ने सहमति पनि गरेका थियौं। तर, केपी ओलीले विचार, सिद्धान्त, विधि र पद्धतिका लागि भएको लडाईंलाई ओली–प्रचण्डको लडाई, ओली–माधव नेपालबीचको लडाईं भन्ने जस्तो बनाएपछि प्रचण्डले तपाईं नै पाँच वर्षका लागि प्रधानमन्त्री हुनुस्। पार्टी अध्यक्ष पनि तपाईं नै हुनुस् भन्नुभएको थियो।'

कार्यकारी अधिकार मलाई दिनुस् म पार्टी अगाडि बढाउँछु भन्ने प्रस्ताव प्रचण्डले गरे पनि ओली एक्लैले जनमत पाएको भ्रम फैलाएको पुनले तर्क गरे।  ओलीले जनतामा गरेका प्रतिबद्धता र बाचामाथि विश्वासघात गरेको भन्दै ओलीसँग आफूहरुको जिम्मेवारीको र विचारको लडाईं रहेको उल्लेख पनि उनले बताए। 

पार्टी एकता गर्दा तत्कालीन एमाले र माओवादी केन्द्रबीच विधिमा आधारित, पद्धतिमा आधारित र जनतामा आधारित कम्युनिष्ट पार्टी निर्माण गर्दै शान्तिपूर्ण प्रतिस्पर्धामार्फत समाजवादको दिशामा अघि बढ्ने सहमति भएकामा ओलीले उक्त सहमति तोडेर एक्लै अघि बढ्न खोजेको उनको टिप्पणी छ।

लामो समय फरकफरक धारामा रहेर परिवर्तनका लागि संघर्ष गरेका दुई ठूला कम्युनिष्ट पार्टीबीच सहकार्य भएका कारण जनताले विश्वास गरेर झण्डै दुई तिहाई मत दिए पनि ओलै प्रचण्ड र माधव नेपालको नेतृत्वमा आफूहरुले ती बाचा पूरा गरेरै छाड्ने अठोट व्यक्त गरे।

प्रचण्ड र माधव नेपालबीच ४० वर्ष लामो सहकार्य रहेको तथा नेपालको विधि र पद्धतिप्रतिको निष्ठा तथा प्रचण्डको जुझारु प्रवृत्तिका कारण नेपाली कम्युनिष्ट आन्दोलनको मुलधार प्रचण्ड–नेपालले नेतृत्व गरेको पार्टी हुने उनको भनाइ थियो।

लामो समय बहुदलीय जनवादमा आधारित भएर लोकप्रिय जनमत निर्माण गर्न सफल एमालेको नेतृत्व गरेका माधव नेपाल, झलनाथ खनालजस्ता नेता तथा जनयुद्धको नेतृत्व गरेका प्रचण्ड सँगै भएपछि कम्युनिष्ट आन्दोलनको मुलधार आफूहरु नै हुने दाबी पुनले गरे।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.