|

काभ्रे :  नेकपा (प्रचण्ड–माधव) पक्षका बागमती प्रदेशका सहइन्चार्ज हितमान शाक्यले प्रधानमन्त्री केपी शर्मा ओली बौलाहाको र उनीमा हिटलर, नेपोलियन र मुलुकको तनाशाह बन्ने भूत चढेको बताएका छन्।

शनिबार काभ्रेको नमोबुद्ध नगरपालिकास्थित् भकुण्डेमा नमोबुद्ध नगर कमिटीद्धारा आयोजित बृहत् कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा शाक्यले सो कुरा बताएका हुन्। 

‘ओलीमा झण्डै दुइतिहाइ बहुमतको अध्यक्ष र प्रधानमन्त्री बनेपछि दम्भ बढ्यो,’ उनले भने, ‘त्यससँगै उनमा हिटलर, नेपोलियन र मुलुकको तनाशाह बन्ने भूत चढ्यो जसको परिणाम यो (संसद विघटन र पार्टी विभाजन) दुर्घटना भएको हो, तर उनको त्यो भूत जागेको इच्छा पूरा हुँदैन।’

उनले ओलीले पार्टीको एक नम्बर अध्यक्ष आफू भएको र महासचिवसँगै पार्टीको माइनट आफुहरुसँग भएकोले आधिकारिक पार्टी ओली पक्ष भएको कु तर्क गरिरहेको बताए।

‘माइन भनेको बैठकमा गरेका निर्णयको लिखितम् हो, त्यो लिखित जुन कागज (नेपाली, चाइनिज, अमेरिकन)मा पनि लेख्न सकिन्छ, त्यसको कुनै अर्थ छैन,’ उनले भने, ‘लिखित माइनट जुनसुकै कागज वा कापीमा गरेपनि हस्ताक्षर कति जानले गरे भन्ने कुराले अर्थ राख्छ, विधि र पद्धातिमा अघि बढ्दा बैठकमा अध्यक्ष उपस्थित हुँदैन भने कारबाही पनि गर्न सकिन्छ।’

उनले जालझेल र षड्यन्त्रको पक्रियाबाट अघि बढिरहेको प्रधानमन्त्री ओलीले फेरि ‘कु’ नगरेको खण्डमा चुनाव चिन्ह ‘सूर्य’ प्रचण्ड–माधव रहेका नेकपाको नै हुने बताए।

साथै उनले बहुमत केन्द्रीय सदस्य रहेको प्रचण्ड–माधव पक्षमा नै आधिकारिक पार्टी नेकपा भएको दाबी गरे। ‘ओली प्रचण्ड–माधवले आफूलाई घेराबन्दी पारेर काम गर्न नदिएको आरोप लगाएका छन्, जुन साँचो होइन,’ उनले भने, ‘आफूले केही गर्न नसकेपछि अरुमाथि थुपरिदिएको दोष मात्र हो।’

कार्यक्रममा शाक्यले प्रधानमन्त्री ओली संविधानसभा, गणतन्त्र र संघीयताको पक्षमा नरहेको र उनीसँग राजनीतिक विचार, विधि र पद्धातीबारे सोच्ने सोच नै सही नभएको बताए। साथै उनले काठमाडौँमा हुँदै गरेको विशाल जनसभामा उपस्थित हुन नेता कार्यकर्तालाई निर्देशनसमेत दिए।

त्यस्तै केन्द्रिय सदस्य रचना खड्काले प्रधानमन्त्री ओलीको संसद विघटनको कदम असंबैधनिक भएको बताए। उनले संविधान र जनताले विश्वासले नेकपालाई दिएको मतको अपमान हुनबाट जोगाउनको निम्ति ओलीले अघि बढाएको असंबैधनिक कदमविरुद्ध लाग्नुको विकल्प नरहेको बताए। 

त्यसैगरी बागमती प्रदेशका सचिवलय सदस्य सूर्यमान दोङ ‘लालध्वज’ले जनतामा खोक्रो भाषण गर्दै जनतामा भ्रम छर्ने ओलीलाई कसरी ठेगाना लगाउनु पर्छ त्यो आफुहरुलाई राम्रोसँग थाहा भएको बताए। उनले नेता कर्याकर्तालाई आफ्नो साथमा जे छ त्यहीँ लिएर प्रतिगमनकारीविरुद्ध लड्न र संविधानको रक्षाको लागि उठ्न आग्रहसमेत गरे।

कार्यक्रममा नेकपा काभ्रेका अध्यक्ष रुकु चौलागाईं, सचिव टोक बहादुर वाईबा, संघीय सांसद गंगा बहादुर दोङ ‘बामध्वज’ प्रदेश सांसद बसुन्धरा हुमागाईं, जिल्लाका नेताहरुमा दैबलाल घिसिङ ‘अनुशील’, डिएम लामा लगायतको उपस्थिति रहेका थिए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.