|

रसुवा : निजी स्वामित्वको खाली जमिनमा लोठसल्लाका बिरूवा रोपण गराउन जागरण कार्य अगाडि बढाइएको छ। हिमाली क्षेत्रमा बाँझो बसेका र लगाएका खेती जनावरले नोक्सान पुर्‍याउने जङ्गल छेउका जमिनमा लोठसल्ला खेती गर्दा उपयुक्त हुने वन प्राविधिकले सुझावसमेत दिएका छन्।

रोपण गरेको सात/आठ वर्षदेखि लोठसल्लाको पातले निरन्तर आम्दानी दिन थाल्ने र कामको खोजीमा अन्यत्र जानुभन्दा घरमै बसेर राम्रो आम्दानी लिन सकिने भएकाले रोपणकार्यमा सहभागी भइदिन आग्रह गरिएको डिभिजन वन अधिकृत रामकृष्ण केसीले जानकारी दिए।

क्यान्सर रोगको उपचारमा प्रयोग हुने लोठसल्लाको पात बिक्रीबाट प्रतिकेजी २५० देखि २७५ रुपैयाँ सम्म आम्दानी हुने र एकपटक रोपेको बिरूवाले निरन्तर आम्दानी दिइरहने डिभिजन कार्यालय रसुवाले जनाएको छ। समुद्र सतहबाट एक हजार ३०० देखि दुई हजार २०० मिटरको उचाइसम्म रोपण गर्न सकिने लोठसल्लाको प्रतिबोटले १० केजीसम्म पात उत्पादन गर्ने र एक रोपनीमा ७० बिरूवा लगाउन सकिने बताइन्छ।

पाठेघर र स्तनमा भएका क्यान्सर रोग निदान पार्ने औषधिमा प्रयोग हुने लोठसल्लाकोे पातले क्यान्सरको औषधि बन्ने र उपचारका क्रममा किमो दिनुपर्दा उक्त सल्लाको पाउडर आवश्यक पर्ने वन प्राविधिकले बताएका छन्। लोठसल्लाको बिरूवा रोपणलगायत संरक्षणको तौरतरिका सिकाउने प्राविधिक ज्ञान डिभिजन वन कार्यालय रसुवामै भएकाले आफ्ना निजी जमिनमा रोप्न इच्छुक व्यक्तिले सम्पर्क राख्नसमेत आग्रह गरिएको छ।

यस्तै टिमुर तथा तेजपातको खेतीले पनि राम्रो आम्दानी लिन सकिने बताउँदै डिभिजन वन अधिकृत केसीले यस्ता चिजका बिरूवा रोप्न आफूले पहिलो प्राथमिकता दिने बताउनुभयो। टिमुरबाट प्रतिकेजी ६०० र तेजपातबाट प्रतिकेजी ६० रुपैयाँ आम्दानी लिन सकिने भएकोले रोपण कार्यमा क्रमशः जागरण बढ्दै जाने अपेक्षा राखिएको वन कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.