म्याग्दीका पुर्जासहित १० नेपालीले बनाए नयाँ कीर्तिमान

|

म्याग्दी : ३७ वर्षअघि उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा जन्मिएका निर्मल पुर्जाले हिमाल आरोहणमा नयाँ कीर्तिमान कायम गरेका छन्। पाकिस्तान र चीनको सीमामा पर्ने विश्वकै दोस्रो अग्लो चुचुरो केटु हिमालको सफल आरोहणसँगै पुर्जासहितको १० सदस्यीय नेपाली आरोही दलले उक्त इतिहास कायम गरेको हो।

सबैभन्दा कठिन मानिने विश्वकै दोस्रो अग्लो हिमाल केटु (८,६११ मिटर) मा मानव पाइला पुगेको ६७ वर्षयता हिउँदयाममा सयौं आरोहण दलले प्रयास गर्दा पनि कोही सफल भएको थिएन। तर, यसपटक पुर्जासहित १० नेपाली आरोहीले हिउँदयाममा अत्यधिक कठिन मानिने सगरमाथापछिको दोस्रो अग्लो चुचुरोमा पुगेर रेकर्ड बनाएका हुन्।

काठमाडौंस्थित सेभेन समिट ट्रेक्स प्रालिका प्रबन्धक थानेश्वर गुरागाईंले शनिबार नेपाली समयअनुसार सवा ४ बजे नेपाली आरोहीहरूको टोली चुचुरोमा पुगेको जानकारी दिएका छन्।

गुरागाईंका अनुसार सफल आरोहण गर्नेमा पुर्जासहित मिङ्मा डेबिट शेर्पा, मिङ्मा तेन्जी शेर्पा, ग्याल्जेन शेर्पा, पेम चिरी शेर्पा, दावा तेम्बा शेर्पा, दावा तेन्जी शेर्पा, किलु पेम्बा शेर्पा र सोना शेर्पा रहेका छन्।

केटु हिमाल आरोहणको नेतृत्व गरिरहेका आरोही निर्मल पुर्जाले भनेका छन्, ‘असम्भवलाई सम्भव बनाइयो,’ प्रख्यात आरोही पुर्जाले आफ्नो इन्स्टाग्राममा लेखेका छन्, ‘मानव जातिका लागि इतिहास बनाइयो। नेपालका लागि इतिहास बन्यो।’ यो हिमाल आरोहणका लागि  पुर्जासहित १० नेपाली करिब १ महिनाअघि काठमाडौंबाट पाकिस्तान पुगेका थिए।

पुर्जाका अनुसार, नेपाली टोलीले चुचुरोमा १० मिनेट समय बिताएको थियो। उनले यसलाई विशेष पल भन्दै त्यहाँ नेपालको राष्ट्रिय गीत गाएको इन्स्टामा उल्लेख गरेका छन्। उनले सामूहिकता तथा सकारात्मक सोचका कारण यो सफलता हात लागेको पनि लेखेका छन्।

उत्तरी म्याग्दीको दानामा ३७ वर्षअघि जन्मेका पुर्जाले गत वर्ष ७ महिनाको अवधिमा सगरमाथासहित विश्वका सबैभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए।

अन्नपूर्ण गाउँपालिकाको नारच्याङमा पर्ने अन्नपूर्ण हिमाल आरोहण गर्दै आफ्नो ‘प्रोजेक्ट पोसिबल’ अभियान शुरु गरेका पुर्जाले ०७६ कात्तिकमा तिब्बतको सिसापाङमा हिमाल आरोहण गर्दै ७ महिनामा ८ हजार अग्ला विश्वका १४ वटा अग्ला चुचुरो आरोहण गरेका थिए। बेलायती सेनाको स्पेसल फोर्समा कार्यरत पुर्जा मासिक १४ लाख हाराहारीको जागिरे जीवन छाडेर गत वर्षदेखि आरोहणमा लागेका छन्।

तस्वीर : आरोही निर्मल पुर्जाको इन्स्ट्राग्रामबाट

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.