गुट परिवर्तन गरेका नेताहरू एकआपसमा थप आक्रामक

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विघटन गरेको आज एक महिना पूरा भएको छ। प्रधानमन्त्री ओलीले पुस ५ गते पार्टीभित्रको विवाद थेग्न नसकेपछि संसद् भंग गरेका थिए। यस बिचमा नेकपाका उच्च स्तरकै नेताहरु आपसी गालीगलौजमा उत्रेका छन् भने गुट परिवर्तन गरेर जानेहरू अझ चर्को गालीमा ओर्लिएका छन्। 

संसद् विघटनपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा अनौपचारिक रूपमा विभाजित बन्यो। ०७५ जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर नेकपा बनेको थियो। एमालेको नेतृत्व गरिरहेका केपी शर्मा ओली र माओवादीको नेतृत्व गरिरहेका पुष्पकमल दाहाल प्रचण्डबीच सहमति भएर पार्टी एकता भयो। 

पार्टी एकता गर्दा एमालेको तर्फबाट विष्णु पौडेल र माओवादीका तर्फबाट जनार्दन शर्मा साक्षी बसे। दुई धारबाट आएका नेताहरू नेकपामा समायोजन भइरहेका थिए। पार्टी एकता भएको साढे दुई वर्ष बित्न नपाउँदै अलग भए। 

यद्यपि, एमाले र माओवादी आ-आफ्नो कित्तामा नदेखिएर छ्यासमिस भएर अलग्गिए। ओलीलाई माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले साथ दिए भने, यता प्रचण्डलाई माधवकुमार नेपाल, झलनाथ खनालले साथ दिएका छन्। 

पार्टीभित्रको विवाद चलिरहेको बेलामा प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा अनौपचारिक विभाजन भयो। नेकपा फुटको आधिकारिक कानुनी विवाद अहिले निर्वाचन आयोगमा पुगेर रोकिएको छ। प्रधानमन्त्री ओली र प्रचण्ड–माधव दुवै पक्षले आफूहरूको पक्षा नै आधिकारिक भएको दाबी गरिरहेका छन्। 

प्रधानमन्त्री ओलीले पार्टीको प्रथम अध्यक्ष र महासचिव पनि आफ्नै खेमामा भएकाले संस्थापन पक्ष आफ्नै प्यानल भएको दाबी गरिरहेका छन्। यता, प्रचण्ड पक्षले पनि आफूसँग पार्टीभित्रको दुईतिहाइ बहुमत आफ्नो पक्षमा भएको भन्दै आफ्नै पक्षको दाबी गरिरहेको छ। 

पार्टी विभाजन भइसकेपछि दुवै पक्षका शीर्ष नेताहरू एक अर्कालाई खुइल्याउनमै केन्द्रित भइरहेका छन्। पार्टी विभाजनको चरणमा पुग्दा पनि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच पार्टी बैठकमै लिखित रूपमा एक-अर्कालाई खुइल्याउनमै केन्द्रित भएका थिए। 

ओली–प्रचण्ड जुहारी 

पार्टी विभाजनपछि प्रचण्ड माधव पक्षका शीर्ष नेताहरू पनि आक्रामक बनिरहेका छन्। सार्वजनिक कार्यक्रममै पनि एक-अर्काविरुद्ध खनिरहेका छन्। पार्टी विभाजनपछि दुवै पक्षका नेताहरू एक अर्कालाई खुइल्याउनमै व्यस्त भएका छन्।  

प्रतिनिधिसभा विघटन भएदेखि प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले एक-अर्कालाई खुइल्याउनमै केन्द्रित भइरहे। पार्टीभित्रको विवाद चलिरहेको बेलामा पनि लिखित रूपमा पत्रमार्फत आरोप-प्रत्यारोप गरिरहेका ओली र प्रचण्ड अहिले पुनः पार्टी एकताकै ओली  प्रचण्डको रूपमा देखा पर्न थालेका छन्। 

प्रधानमन्त्री ओली एकताको पक्षमै नरहेको अध्यक्ष दाहालले आरोप लगाइरहेका छन्। 'गणतन्त्रको विपक्षमा ओली हुनुहुन्थ्यो। उहाँ गणतन्त्रको पक्षमा नभएर बयलगाडाबाट सिद्धान्तमा हुनुहुन्थ्यो। संघीयता र धर्म निरपेक्षको विरोध भयो। उहाँले मैले मानिदिएँ भन्ने कुरा गर्नुभयो' प्रचण्डले भनिरहेका छन्। 

ओली गणतन्त्र, संघीयता, धर्म निरपेक्षताविरोधी नै भएको उनले दाबी गरेका थिए। 'ओली कम्युनिस्ट आदर्श, विधि र विचारमा पनि स्खलित भइसकेका छन्। उहाँ लोकतन्त्रप्रति कति निरङ्कुश हुनुहुन्छ। उहाँले देशलाई भड्खालोमा हाल्नुभयो। ओलीले सिफारिस गरेको संविधानको मर्म र भावनाविपरीत छ, संविधानमा नभइएका प्रस्ताव गर्नुभएको छ। गलत छ'उनले भनेका थिए।

‘शाकाहारी आन्दोलनले पुग्ने देखिएन। हाम्रो आन्दोलन आवेगमय हुनुपर्‍यो। आक्रामक हुनुपर्यो‍यो। बाघ र सिंह गर्जिएजस्तो हुनुपर्‍यो। प्रति क्रान्तिकारीको मुटु हल्लिनुपर्‍यो’, प्रचण्डले थपे, ‘यस्तो बेला मलाई यो पटक लाठी खान मन छ। किनकिन मेरो टाउको चिलाको छ।’ तर तपाईंहरुको टाउको नफुटोस् भन्नेमा धेरै ध्यान छ।’

 ७ दशक लामो संघर्ष र बलिदानबाट आएको लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि ओलीले निरंकुशताको बुट बजारेको र कमेडियनजस्तो हास्दै हिँडेको टिप्पणी समेत गर्न भ्याए। उनले केपी ओली नांगै भइरहेको समेत टिप्पणी गरे। ओली बयलगाडाको नीतिबाट माथि उठ्न नसकेको भन्दै प्रधानमन्त्री पदका लागि देश नै डुबाएको आरोप लगाए। 

यस्तै, नेकपा प्रचण्ड माधव पक्षको अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली जस्तो निरङ्कुश र अहंकारी व्यक्ति भएको दाबी गरिरहेका छन्। ओलीले संकटकाल लगाउने सम्मको तानाबानाको बुनिरहेको सुनिरहेका  आरोप लगाए। ओली बैठकमा नआएर एकलौटी चल्ने ओली प्रवृत्तिको कारणले पार्टी संकटमा पुगेको उनले बताइरहेका छन्।

प्रचण्ड पक्षको उत्तर प्रधानमन्त्री ओलीले पनि कार्यकर्ता भेलामै दिने गरेका छन्। संसद् विघटनपछि आफू पक्षका कार्यकर्ता भेलालाई गरेको सम्बोधनमा प्रचण्डलाई खुइल्याउन र सरकारले सधैँ काम गरिरहेको जिकिर गर्न उनी भ्याइरहन्छन्। 

उनले भनेका छन्, ‘मान्छे मारेर, कुटेर लुटेर, जनतालाई रुवाएको आरोप लगाएका थिए। मैले मान्छे हाँसे भनेर जोकर नै रहेछ भनेछन्। जनता हाँसेको देखेर किन पीर परेको होला?’ उनले भनिरहेका छन्। 

तर, आइतबार त्यसको जवाफ फर्काउँदै प्रचण्डले आफ्नो अभिभावक मरेको र देश अशान्त भएको बेलामा खुसी मनाउन नसक्ने बताएका छन्। ‘हामी हाँसीमजाक गर्ने मुडका छैनौँ। चिन्तित छौँ। परिवारको अभिभावकको मरेको बेलामा हामी खुसी मनाउँदैनौँ’ प्रचण्डले भने, ’परिवारमा बाआमा बरेको बेलाको बेलामा कसैले खुसी मनाउँदैन।’

माधव–झलनाथ पनि आक्रामक

प्रधानमन्त्री ओलीविरुद्ध तत्कालीन नेकपा एमाले वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल पनि आक्रमक रूपमा प्रस्तुत भइरहेका छन्। उनीहरूले प्रधानमन्त्री ओलीलाई निरङ्कुश र तानाशाही भएको संज्ञा दिइरहेका छन्। 

प्रधानमन्त्री ओली पदभन्दा माथि उठ्न नसकेको दाबी गर्दै ओलीमा कम्युनिस्टमा हुनुपर्ने केही गुण नभएकाले कम्युनिस्ट नरहेको जिकिर गरिरहेका छन्। 

'बालुवाटारको बालुवा पेलेर बरु तेल निकाल्न सकिन्छ। तर, ओली सुध्रिने कुनै ठाउँ छैन। उनी आफ्नो स्वार्थभन्दा अरू देख्ने मान्छे होइन' नेपालले भनिरहेका छन्। 

यस्तै, अर्का वरिष्ठ नेता झलनाथ खनालले पुस १० गते एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीलाई गोमन साँपको संज्ञा दिए।  ‘उहाँ गोमन साँपजस्तै हुनु हुँदोरहेछ’ उनले भनेका थिए, गोमन साँपलाई कसैले हिर्कायो र भाग्यो भने उसले हिर्काउने मान्छेको तस्वीर दिमागमा राख्ने र मौका पाउँदा ठुङ्ने गर्छ।' 

उनीहरूले प्रधानमन्त्री ओली अल्पमतका भएको हुनाले आधिकारिक नेकपा आफैँ भएको जिकिर गरेको छन्। प्रधानमन्त्री ओली देश डुबाएको, भ्रष्टाचार मौलाउनमा सहयोग गरेको लगायतको आरोप लगाउँदै उनीप्रति खनिएका छन्। 

प्रधानमन्त्री ओलीको नजरमा प्रचण्ड नेपाल लगायतका नेता सामान्‍य हुन्।  उनीहरूको बहिर्गमनको पार्टीमा कुनै असर नगर्ने उनको जिकिर छ। 

पूर्व-माओवादी नेता थप आक्रामक 

पूर्व-माओवादी निकट नेताहरूले पार्टी अनौपचारिक विभाजनमा पुग्दा प्रचण्डको साथ छाडेका छन्। पूर्व-माओवादी निकट नेता गृहमन्त्री रामबहादुर थापा बादलसहितका नेताहरूले प्रचण्डको साथ छाडेका छन्। 

गृहमन्त्री थापासहित लेखराज भट्ट, मणि थापा, प्रभु शाह, टोपबहादुर रायमाझी र दावा तामाङले प्रचण्डलाई छाडेर ओली नेतृत्वको सरकारमा सहभागी भए। उनीहरूले प्रचण्डले प्रधानमन्त्री पदका लागि माओवादी आन्दोलन बेचेको देखि अहिले पनि प्रधानमन्त्री पदकै लागि पार्टी फुटाएको आरोप लगाइरहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.