जनप्रतिनिधिकै मिलेमतो भएको स्थानीयको आरोप

|

काठमाडौं : गोकर्णेश्वर नगरपालिकाले गत पुष १४ गते नगरभित्रको सार्वजनिक विकास निर्माणका कामबाहेक अन्य प्रयोजनका लागि डोजर चलाउन रोक लगायो।

नगरपालिका प्रमुख सन्तोष चालिसेले एक सूचना जारी गर्दै अव्यवस्थित ढंगले सञ्चालन भई वातावरण तथा जनजीवनमा प्रतिकूल असर पुगेको जनगुनासो आएपछि डोजर र स्काभेटर चलाउन रोक लगाएको बताएका थिए।

उनले भनेका थिए, ‘नगरपालिकाको क्षेत्रको विभिन्न स्थानमा अव्यवस्थित ढंगले विभिन्न उपकरण प्रयोग गरी दोहन गर्दा वातावरण तथा जनजीवनमा प्रतिकूल असर पुगेको तथा पर्ती जग्गा,वन क्षेत्र, जलाशयलगायत क्षेत्र दोहन भइरहेको गुनासो आएपछि अर्को व्यवस्था नभएसम्म अब कसैले डोजर जथाभावी चलाउन पाइने छैन। चलाएको पाइए कानुनी कारबाही गरिने छ।’​

तर, अहिले नगरपालिकाभित्र धमाधम जग्गा उत्खनन भैरहेको छ। नगरपालिकाको वडा‍-२ स्थित समिस्टारमा स्काभेटर चलाइएको छ। त्यस्तै, गोकर्णको ढोका भञ्ज्याङ क्षेत्रमा स्काभेटर प्रयोग गरी जग्गा सम्याइएको छ भने,अवैध रूपमा माटो उत्खनन गरेर अन्यन्त्र माटो ओसारपोसार गरिएको छ।

तारेभीर र सुन्दरीजल क्षेत्र आसपासका क्षेत्रमा पनि धमाधम व्यक्तिगत जग्गामा प्लटिङ गरिएको छ। तर, रोक्नेतर्फ नगरपालिका लागेको छैन।

जनप्रतिनिधिको मिलेमतो रहेको स्थानीयको आरोप

गोकर्ण समिष्टारका एक स्थानीयले जनप्रतिनिधिकै मिलेमतोमै जग्गा उत्खनन र माटो चोरी हुने गरेको आरोप लगाए। ती व्यक्तिले भने, ‘यो क्षेत्रमा त जनप्रतिनिधि र भूमाफिया मिलेर माटो चोरीनिकासी गर्छन्। नगरपालिकाले रोक लगाएपनि अहिले भूमाफियाले धमाधम जग्गा प्लटिङ गरिरहेका छन्। यस हिसाबले पनि जनप्रतिनिधिकै संलग्नता रहेको बुझिन्छ।’

जथाभावी डोजर प्रयोग गरिँदा वातावरणीय प्रदूषण हुने गरेको उनले सुनाए। ‘तारेभीर र सुन्दरीजल क्षेत्रमा पहिला हरियाली देखिन्थ्यो,’ उनले भने, ‘अव्यवस्थित ढंगले डोजर चलाएपछि अहिले त डाँडा नै उजाड देखिएको छ।’

वडा भन्छ : जग्गा उत्खनन रोक्ने काम नगरपालिकाको हो

जग्गा उत्खननको विषयमा प्रश्न राख्दा गोकर्णेश्वर नगरपालिका-२ का अध्यक्ष कृष्ण पण्डितले वडाबाट नभई नगरपालिकाले नै रोक्नुपर्ने बताए। ‘नगरपालिकाले जग्गा रोक लगाइसकेको छ,’ उनले भने, ‘जग्गा उत्खननको नियमन गर्ने जिम्मा नगरपालिकालाई छ,वडालाई छैन्। त्यसैले नगरपालिकामै बुझ्नुस्।’ 

‘निगरानी गरिरहेका छौँ, कारबाही हुन्छ’

नगरप्रमुख सन्तोष चालिसेले नियम विपरित जथाभावी डोजर चलाउनेलाई कानुनी कारबाही गर्ने बताए।

‘नगरपालिकाले जग्गा उत्खनन गर्न कुनै अनुमति दिएका छैन,’ उनले भने, ‘पहिला उत्खननका लागि दिइएको सबै अनुमति पनि खारेज गरिएको छ। सबै वडालाई के कहाँ कस्तो भैरहेको छ भनी सबै रिपोर्ट नगरपालिकामा बुझाउनु भनेको छु। नियम विपरित उत्खनन गर्ने चोरहरूलाई जरिवाना हुन्छ। आफैँले पनि निगरानी गरिरहेको छु।’

अवैध रूपमा जग्गा उत्खनन गर्ने भूमाफियालाई कारबाही गर्न जरिवानाको लागि ऐन पनि बन्दै गरेको उनले सुनाए। अवैध रूपमा जग्गा उत्खनन र माटो चोरी निकासीमा जनप्रतिनिधिकै मिलेमतो रहेको आरोप छ भन्ने  प्रश्नमा नगर प्रमुख चालिसेले कुनै पनि जनप्रतिनिधिको संलग्नता नरहेको दाबी गरे।

‘जनप्रतिनिधिको कुनै मिलेमतो छैन। म आफैँले राति ९ बजे चोरको चाबी खोसेको हुँ,’ उनले भने।

के कति सार्वजनिक र व्यक्तिगत जग्गामा प्लटिङ गरिएको छ भनी नापजाँच गर्ने प्रक्रिया पनि बढाएको उनले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.