सुदूरपश्चिमलाई बागमतीले १ सय ८० रनले हरायो

|

काठमाडाैं : प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार गण्डकी प्रदेशले पहिलो जित निकाल्दा दिनको अर्को खेलमा बागमती प्रदेशले सुदुरपश्चिम प्रदेशलाई हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ।

गण्डकी प्रदेशले मूलपानी क्रिकेट मैदानमा प्रदेश १ माथि २ विकेटको रोमाञ्चक जित निकाल्दा बागमतीले कीर्तिपुर मैदानमा भएको खेलमा सुदूरपश्चिम प्रदेशमाथि १ सय ८० रनको फराकिलो जित निकालेको हो।

संघर्षपूर्ण जित निकालेको गण्डकीको जारी प्रतियोगितामा यो पहिलो जित हो। यस अघि पहिलो खेलमा आर्मीसँग पराजय भोगेको गण्डकीका लागि विशाल पौडेलले बलिङतर्फ ह्याट्रिक गर्दा गण्डकीले समूह तालिकामा स्पष्ट दुई अंक जोडेको हो।

१ सय ३ रनको समान्य लक्ष्यका साथ जवाफी ब्याटिङ गरेको गण्डकीले ३७ ओभरमा ८ गुमाएर पूरा गरेको थियो। संघर्ष पूर्ण जित निकाल्दा गण्डकीका ओपनर अर्जुन कुमालले ३५ रनको पारी खेल्दा दीपक डुम्रेले पनि समान ३५ रन नै जोडे। अभिषेक थापाले अविजित १३ रनको स्कोर बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर जोड्न सकेनन्।

पराजित भए पनि किफायती बलिङ गरेको प्रदेश १ का लागि शुभांकर उराले समान २/२ विकेट हात पार्दा दिपेश कंडेल र हेमन्त राईले एक/एक विकेट आफ्नो नाममा लेखाए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले २७.४ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय २  रन बनाउन सक्यो। प्रदेश १ का लागि कप्तान सिद्वान्त लोहनीले २४ रन बनाए।

मिनास थापा २२ रनमा आउट भए। यस्तै शुभशंकर उराले १२, दिपक पासवानले ११ र दिपेश कँडेलले १० रन बनाए। प्रदेश १ को पारीलाई सस्तैमा समेट्ने विशाल पौडेलले ह्याट्रिकसहित ४ विकेट लिए। उनले २७ ओभरको दोस्रो, तेस्रो र चौंथो बलमा विकेट लिदै ह्याट्रिक पूरा गरेका थिए।

यस्तै सुवास भण्डारीले ४ र विपिन खत्रीले २ विकेट लिए। जितसँगै समूह ‘ए’ मा रहेको गण्डकीले २ खेलमा २ अंक जोडेको छ। गण्डकी समूहको तेस्रो स्थानमा रहेको छ भने पराजित प्रदेश १ को यो लगातार दोस्रो हार हो। प्रदेश १ पुछारमा छ।

प्रतियोगिता अन्तर्गत दिनको अर्को खेलमा बागमती प्रदेशले सुदुरपश्चिम प्रदेशलाई १ सय ८० रनको फराकिलो अन्तरले हराउँदै जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो। बागमतीले दिएको ३ सय रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले २१ ओभरको समाप्तिमा सबै विकेट गुमाएर मात्र १ सय १९ रन जोड्न सक्यो।

सुदूरपश्चिमका नारायण जोशीले अविजित रहदै सर्वाधिक ४४ रन बनाए पनि जितका लागि पर्याप्त भएन। सुदुरपश्चिमका लागि अर्का खेलाडी अर्जुन साउदले ३१ रन जोड्दा किरण ठगुन्नाले २४ रन बनाए भने ६ खेलाडी शून्यमा पवेलिय फर्किएका थिए।

सुदुरपश्चिम प्रदेशलाई सस्तैमा समेट्न बागमतीका रामनरेश गिरिले ४ विकेट लिए। नन्दन यादवले २ तथा दिपेश श्रेष्ठ, विपिन आचार्य र तिलक भण्डारीले १÷१ विकेट आफ्नो लेखाए।

यस अघि पहिले ब्याटिङ गरेको बागमतीले पूरै ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९९ रनको स्कोर बनाएको थियो। युवा ब्याट्सम्यान पृथु बास्कोटाले ८४ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै आदील खानले ६३ रनको योगदान गरे।

कप्तान ज्ञानेन्द्र मल्ल र विपिन आचार्यले समान ३२ रन जोडे। पारस खड्का २० र आकाश थापाले १३ रन बनाए पवेलियन फर्किए। इशान पाण्डेले १७ रन जोड्दा रामनरेश गिरी १० रनमा अविजित रहे।

बलिङतर्फ सुदूरपश्चिमका नारायण जोशीले ३ विकेट लिए। भोजराज भट्ट र सन्तोष भट्टले २/२ विकेट लिए। लगातार जित निकालेको बागमतीले २ खेलमा ४ अंक जोडेको छ। बागमती समूह ‘बी’ को शीर्ष स्थानमा अटाएको छ।

यसअघि बागमतीले पहिलो खेलमा नेपाल पुलिस क्लबलाई ७ विकेटले हराएको थियो भने पराजयबाट सुदूरपश्चिमले प्रतियोगिताको सुरुआत गरेको छ।प्रतियोगितामा मंगलबार त्रिवि मैदानमा लुम्बिनी प्रदेश र प्रदेश २ तथा मूलपानी मैदानमा गण्डकी प्रदेश र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.