|

उदयपुर : प्रदेश १ का पर्ने उदयपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बुबासीको मुख्य सडक सिद्धिचरण लोकमार्ग मर्मत नहुँदा स्थानीय सर्वसाधरण मारमा परेका छन्। पहाडी जिल्लालाई तराईसँग जोड्ने सिद्धिचरण राजमार्गको विभिन्न खण्ड जीर्ण बन्दै गएपछि स्थानीय सर्वसाधरण मारमा परेका हुन्।

सडक जीर्ण बनेपछि बर्सेनि दुई दर्जनभन्दा बढी यात्रुले सवारी दुर्घटनामा ज्यान गुमाउनु परेको छ। दैनिक सयौंको संख्यामा सवारीसाधन आवतजावत गर्ने भीरको सडक एकातिर साँघुरो छ भने अर्कोतर्फ जीर्ण बन्दै गएको छ।

उदयपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका सर्वसाधारणको आवागमन र दैनिक उपभोग्य सामग्री ढुवानी हुने सिद्धिचरण राजमार्गको स्तरोन्नति नहुँदा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

राजमार्गअन्तर्गत उदयपुरको कटारीदेखि घुर्मीसम्मको सडक, दुर्घटनाको हिसाबले संवेदनशील बनेको छ। करिब १८ वर्षअघि नेपाली सेनाले खोलेको साँघुरो ट्रयाकलाई १० वर्षअघि वटासिल प्रविधिमार्फत् कालोपत्रे गरिएको थियो।

अहिले कालोपत्रे सडक भत्किएर धुले सडकमा परिणत भएको मात्र छैन, घुमाउरो र साँघुरो समेत रहेकाले दुर्घटनाको जोखिम झनै बढाएको छ। सडकका खाल्डाखुल्डी र पहिरोलाई व्यवस्थापन गर्नेतर्फ समेत चासो देखाइएको छैन। हर्देनीको ठाँटी, लेखानीको लप्सेभीर, सिरिसेको वनदेवीलगायतका भीरमा यात्रा गर्दा यात्रुले आँखा चिम्लनुपर्ने अवस्था छ।

सिरहाको मिचैयादेखि कटारीसम्मको करिब २६ किलोमिटर सडकसमेत जीर्ण रहेको छ। सिमेन्ट उद्योगका लागि चुनढुंगा संकलन गर्ने ट्रिपर, दैनिक उपभोग्य र निर्माण सामग्री लिएर गुड्ने ट्रकले क्षमताभन्दा बढी सामान बोक्दा सडक जीर्ण बनेको हो। सडकको स्तरोन्नतिका लागि स्थानीयले पटक–पटक माग गर्दै आएका छन्। तर सरकारी बेवास्ताका कारण अहिलेसम्म सडक मर्मत हुन सकेको छैन।

स्तरोन्नतिका नाममा चुरे खण्डमा फराकिलो पार्ने काम गरेको भए पनि अन्य कुनै काम हुन नसकेको स्थानीयहरु बताउँछन्। ‘खाल्डा–खुल्डी पुर्ने र ठाँउ ठाउँमा सडक फराकिलो पार्ने काम भइरहेको छ’, कटारी ओखलढुंगा यात्रामा हिँडेका रामबहादुर विक भन्छन्, ‘तर, यो दिगो समाधान भने होइन, वन विनास गर्ने काम मात्रै हो।’

ट्राफिक प्रहरीका अनुसार सडक जीर्ण भएकै कारण सवारी दुर्घटना हुने गरेको छ। सडकको ट्रयाक खुलेदेखि नै राजर्मागमा पटक पटक दुर्घटना हुने गरेको छ। सरकारी बेवास्ताका कारण सिद्धिचरण राजर्मागमा सधैं समस्या हुने गरेको विक बताउँछन्।

उदयपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका जनप्रतिनिधिहरुलेसमेत पटक–पटक प्रदेश र संघीय सरकारको ढोका ढकढक्याउँदै छन्। प्रदेश र संघीय सरकारले जनप्रतिनिधिहरुहरुको माग पनि बेवास्ता गर्दै आएको सरोकारवालाहरुको भनाइ छ। सबैभन्दा जीर्ण सडक सिरहाको मिर्चैयादेखि उदयपुरको कटारी हुँदै घुर्मीसम्म छ।

सिरहाको मिर्चैयादेखि उदयपुरको कटारीसम्म २६ किलोमिटर, र कटारीदेखि घुर्मीसम्म ४८ किलोमिटर सडकमा ज्यान जोखिममा राखेर सवारी चलाउनुपर्छ। घुर्मीदेखि खोटाङ, ओखलढुंगा र सोलुखुम्बुबासी पुग्ने सडक धेरै राम्रो भएको यात्रामा भेटिएका यात्रुहरु बताउँछन्।

उदयपुर उद्योग वाणिज्य संघ कटारीका अध्यक्ष पुष्कर खड्का ठूलो परिमाण व्यवसायी मारमा परेको बताउँछन्। ‘यही जीर्ण सडकबाट ढुवानी गर्नुपर्छ,’ उनले भने, ‘जीर्ण सडक भएकाले ढुवानी लागतसमेत बढ्छ, त्यसको असर उपक्तामा रहेको छ।’ कटारीदेखि घुर्मीसम्मको ४८ किलोमिटर सडक पार गर्न झण्डै तीन घण्टाभन्दा बढी समय लाग्ने गरेको छ।

सडकमा ठूल–ठूला खाल्डा परेकाले सवारी आवगमनमा समस्या छ। भने ठाटी भञ्ज्याङको पहिरो व्यवस्थापन नहुँदा बर्सेनि सवारी दुर्घटना बढ्दो छ। सामन्यता १० टन भार क्षमताका सवारी साधन सञ्चालन हुन पर्ने सडकमा क्षमताभन्दा बढी भार बोकेर सवारी साधन गुड्दा सिद्धिचरणको संवेदनशील मानिने कटारी घुर्मी खण्डमा झनै समस्या भएको छ।

सडकको दूरावस्थाका कारण यात्रुले जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था रहेकाले छिट्टै सडकको स्तरउन्नतिको काम हुने जनप्रतिनिधिको भनाइ छ। सिद्धिचरण राजमार्गमा सवारी आवगमनलाई सहज बनाउन र दुर्घटनाको जोखिमलाई न्यूनीकरण गर्न तत्काल स्तउन्नति गर्नुपर्ने आवश्यकता देखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.