|

लमजुङ : लमजुङमा सुरक्षित गर्भपतन गराउने महिलाको संख्या बढ्दै गएको छ। सरकारले ग्रामीण भेगसम्म सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क सुरक्षित गर्भपतन सेवा प्रदान गरेपछि संख्या बढ्दै गएको हो।

सुरक्षित गर्भपतनका लागि सूचीकृत स्वास्थ्य संस्थाबाट पछिल्लो तीन आर्थिक वर्षको अवधिमा २८७ जनाले सुरक्षित गर्भपतनको सेवा लिइसकेको जिल्ला स्वास्थ्य कार्यालय लमजुङको तथ्यांकले उल्लेख छ। स्वास्थ्य कार्यालयका अनुसार सेवा लिनेमा २९ जना २० वर्षमुनिका छन्। २५८ जना २० वर्षमाथिका रहेका छन्। 

स्वास्थ्य कार्यालयका तथ्यांक सहायक लेखनाथ उपाध्ययका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा सूचीकृत स्वास्थ्य संस्थाबाट ६५ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन्। तीमध्ये पाँचजना २० वर्षभन्दा कम उमेरका छन्।

त्यस्तै, आर्थिक वर्ष २०७६÷७७ मा ११९ महिलाले सेवा लिएका छन्। जसमध्ये २० वर्षमुनिका आठजना रहेका छन्। आर्थिक वर्ष २०७५÷७६ मा १०३ जनाले सुरक्षित गर्भपतन सेवा लिएकोमा २० वर्षभन्दा कम उमेर समूहका १६ जना रहेका थिए। 

सुरक्षित गर्भपतन सेवाको पहुँच सुनिश्चित गर्न चिकित्सक, नर्स तथा अनमीलाई तालिम प्रदान गरेर सूचीकृत स्वास्थ्य सस्ंथाबाट सेवा उपलव्ध गराउँदै आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। लमजुङका १४ वटा स्वास्थ्य संस्था सुरक्षित गर्भपतनका लागि सूचीकृत भए पनि हाल सातवटाबाट सेवा उपलब्ध हुँदै आएको स्वास्थ्य कार्यालय लमजङका प्रमुख अमर दवाडीले जानकारी दिए। तालिम प्राप्त जनशक्ति नहँुदा अन्य संस्थाबाट सेवा उपलब्ध गराउन नसकिएको दवाडीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.