|

काठमाडाैं : कर्णाली र लुम्बिनी प्रदेशले राजधानीमा जारी प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा पहिलो जित निकालेका छन्। 

कर्णालीले मुलापानी मैदानमा गण्डकी प्रदेशमाथि ५ विकेट जित निकाल्दा लुम्बिनी प्रदेशले प्रदेश २ लाई ७७ रनले पराजित गरेको हो। दुबै टोलीले पहिलो जित निकालेका हुन्।

मूलपानीको मैदानमा गण्डकीले गण्डकीले दिएको २ सय ५ रनको लक्ष्य कर्णालीले ३६ ओभर ५ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्दा पहिलो सफलता मिलेको हो।

कर्णालीको जितमा हिमान्सु शाहीले अविजित रहँदै ६८ रनको अर्धशतकीय इनिङ्स खेल्दा विपिन रावल अर्धशतक बनाउन एक रनले चुके। राज शाहले ३२ रनको योगदान गर्दा हेमन्त ओली २९ रनमा विपिन खत्रीको बलमा समिर कँडेलबाट क्याच भए। बलिङतर्फ गण्डकीका विपिन खत्रीले ४ विकेट आफ्नो नाममा लेखाउँदा सुवास भण्डारीले १ विकेट हात पारे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले ४२.३ ओभरमा सबै विकेट गुमाएर २ सय ४ रन बनाएको थियो। गण्डकीका लागि राहुल उपाध्यायले ५३ रनको अर्धशतकीय इनिङ्स खेल्दा ओपनर अर्जुन कुमालले ४६ रन, कप्तान विपिन खत्रीले ३२ रन बनाए।

विशाल पौडेलले १५ रन जोडे भने दिनेश बुढामगर १० रन बटुल्दै गर्दा रन आउट भए। यसबाहेक खेलाडीले दोहोरो अंकको स्कोर गर्न सकेनन्। बलिङतर्फ कर्णालीका दिनेश अधिकारीले ३ विकेट लिए। अनुज चुनरा र दिवन पुनले समान २/२ विकेट निकाल्दा एक विकेट रवीन्द्र शाहीको नाममा रह्यो।

जितसँगै कर्णालीले २ खेलमा २ अंक जोडेको छ। कर्णाली समूहको तेस्रो स्थानमा छ। समूह ‘ए’ मा रहेको कर्णालीले १ जित र एकमा हार बेहोरेको छ। उता तीन खेल खेलेको गण्डकीको यो दोस्रो हार हो। गण्डकीले ३ खेलमा २ अंक जोडेको छ। गण्डकी तालिकाको चौंथो स्थानमा छ।

२ सय ५८ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको प्रदेश २ ले ४२.२ ओभरमा समेटिँदा १ सय ८० रन  जोड्न सक्यो। अन्तिम विकेटका लागि विवेक यादवले बिस्फोटक ब्याटिङ गर्दै अर्थशतकीय इनिङ खेले पनि प्रदेश २ का लागि पर्याप्त भएन।

४९ बलमा ५१ रन जोडेका विवेकले ३ चौका र ३ छक्का प्रहार गरेका थिए। यसअघि ओपनरद्वय सुधीर चौधरी र हरिशंकर शाहले राम्रो सुरुआत गरे पनि मध्यक्रमका ब्याट्सम्यान चल्न नसक्दा नतिजा सुम्पिएको हो। सुधीरले ४२ रन जोड्दा हरिशंकरले २२ तथा मेहबुब आलमले ३१ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले सम्झनलायक स्कोर बटुल्न सकेनन्।

प्रदेश–२ लाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका अनिल खरेलले सर्वाधिक ४ विकेट हात पार्दा विक्रम भुसाल र दीपेन्द्र राउतले दुई/दुई तथा अमित तामाङ र कृष्ण कार्कीले एक/एक विकेट आफ्नो नाममा लेखाए।

यस अघि कीर्तिपुरस्थित त्रिवि मैदानमा पहिले ब्याटिङ गरेको लुम्बिनीले पूरै ५० ओभर खेलेर  ९ विकेट क्षतिमा २ सय ५७ रन बनाएको थियो।

लुम्बिनीका लागि सन्दीप रजालीले र सौरभ खनालले अर्धशतकीय इनिङ्स खेले। सन्दीपले ८३ रनको योगदान गर्दा सौरभले ५६ रनको व्यत्तिगत स्कोर बनाए।

यस्तै विक्रम भुसालले ३६ रन बनाए। सन्दीप सुनार ११ रनमा आउट हुँदा कप्तान कृष्ण कार्कीले १० रन जोडे। बलिङतर्फ प्रदेश २ का हरिशंकर साहले ३ विकेट लिए भने त्यस्तै दिब्यान्सु मल्लिकले २ विकेट हात पारे। अन्य तीन बलरको नाममा एक/एक विकेट रह्यो। पहिलो जित निकालेको लुम्बिनी समूह ‘बी’ को दोस्रो स्थानमा पुगेको छ। पराजित प्रदेश २ तालिकामा अंकविहीन छ।

प्रतियोगितामा बुधबार त्रिवि मैदानमा विभागीय टोली नेपाल पुलिस क्लब र सुदूर पश्चिम प्रदेश तथा मूलपानी क्रिकेट मैदानमा अर्को विभागीय टोली त्रिभुवन आर्मी र प्रदेश १ बीच प्रतिस्पर्धा हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.