|

काठमाडौं : आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालको सम्भावना कमजोर बनेको भन्दै समर्थकहरु निरास छन्। तर, निरास भइहाल्नु पर्ने अवस्था भने छैन। नेपाल यही प्रतियोगिताको शीर्ष चारमा नै पर्ने सम्भावनासमेत बाँकी छ। यदि शीर्ष चारमा नपरे पनि अर्को एउटा बाटो छ, जहाँबाट नेपालले विश्वकप छनोट खेल्न सक्छ।

कसरी खेल्छ त विश्वकप छनोट ?

इंल्याण्डमा सन २०१९ मा हुने विश्वकपमा १० टोलीले सहभागिता जनाउने छन्। त्यसमा आयोजकका रुपमा इंग्ल्याण्ड र वन्डे बरियताका अन्य ७ शीर्ष टिम स्वत: छनोट हुनेछन्। बरियता प्राय परिवर्तन भइराख्ने भएकाले ३० सेप्टेम्बर २०१७ का दिन कायम बरियतालाई आधार मानिनेछ।

यसरी स्वत: छनोट हुने मौका आइसीसीका १० फूल मेम्बर (अस्ट्रेलिया, भारत, दक्षिण अफ्रिका, इंग्ल्याण्ड, न्यूजिल्याण्ड, पाकिस्तान, श्रीलंका, वेस्ट इण्डिज, बंगलादेश र जिम्बावे) तथा दुई एसोसिएट टिम अफगानिस्तान र आयरल्याण्डलाई छ।

शीर्ष ८ भित्र नपरेर स्वत: छनोट हुने मौका गुमाउने ४ टिमले विश्वकप छनोट खेल्नुपर्नेछ, जुन आगामी वर्ष बंगलादेशमा हुनेछ। 

विश्वकप छनोटमा १० टोली

Source : Wikipedia

बंगलादेशमा हुने विश्वकप छनोटमा १० वटा टिम सहभागी हुनेछन्। त्यसमा विश्व बरियताको शीर्ष ८ भित्र नपरेर स्वत: छनोट हुने मौका गुमाएका माथिका १२ मध्ये ४ टिम र आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप (जुन अहिले नेपालले खेलिरहेको छ) का शीर्ष ४ टिमले सहभागिता जनाउने छन्।

बाँकी २ टिम भने आगामी वर्ष हुने 'डिभिजन टू'बाट छनोट हुनेछन्। यदि नेपाल लिग च्याम्पियनसिपको शीर्ष ४ मा नपर्दै 'डिभिजन टू'मा घटुवा हुने हो भने पनि डिभिजन टूको शीर्ष टूममा परेर विश्वकप छनोट खेल्न सक्छ। यही हो विश्वकप छनोट खेल्ने अर्को बाटो।

कहिले र कहाँ हुन्छ डिभिजन टू ?

Source : Wikipedia

आइसीसी विश्व क्रिकेट लिग डिभिजन टू आगामी वर्ष हुनेछ। प्रतियोगिता कुन देशमा हुने भन्ने तय हुन बाँकी नै छ। त्यसो त प्रतियोगिता कुन-कुन टोलीले खेल्ने भन्ने नै निधो भइसकेको छैन। डिभिजन टूमा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन्। लिग च्याम्पियनसिपमा बटमका ४ टिम र डिभिजन थ्रीबाट बढुवा हुने २ टिम गरी ६ टिमबीच हुने प्रतिस्पर्धामा शीर्ष २ मा पर्नेले विश्वकप छनोट खेल्नेमात्र होइन, च्याम्पियनसिपको शीर्ष ४ मा पर्ने टोली सरह अवसर पाउने छन्। जसमा ४ वर्षका लागि वण्डे स्टाटस पाउने अवसर पनि सामेल छ।

हाल वन्डे स्टाटसप्राप्त एसोसिएट टिमहरु :

अफगानिस्तान, आयरल्याण्ड, स्कटल्याण्ड, पिएनजी, हङकङ र युएईसँग अहिले एक दिवसीय मान्यता छ। अघिल्लो पटक न्युजिल्याण्डमा भएको विश्वकप छनोटमा शीर्ष ६ मा परेका यी टिमहरुले ४ वर्षका लागि एकदिवसीय मान्यता पाएका थिए। सो प्रतियोगिताबाट नेपाल भने रेलिगेट भएको थियो।

बोनस चान्स हो च्याम्पियनसिप

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप नेपालका लागि बोनस चान्स हो भन्दा फरक पर्दैन, जुन आइसीसीले पछि दिएको हो। नेपालले यो प्रतियोगिता खेल्ने मौका त गएको डिभिजन टूमा शीर्ष २ मा नपरेर नै गुमाइसकेको थियो। पछि अफगानिस्तान र आयरल्याण्डले स्वत: छनोट हुने मौका पाएपछि नेपाल र केन्यालाई च्याम्पियनसिप खेल्ने अवसर दिइएको हो। यदि आइसीसीले यो मौका नदिएको भए नेपालले माथि उल्लेखित दोस्रो बाटोबाटै विश्वकप छनोट यात्रा तय गर्नुपर्ने थियो।

चिन्ता मौका नै गुम्ने हो कि भन्नेमा छैन, छ त केवल टिमको फर्ममा। यदि नेपालले आफ्नो क्षमता अनुसार प्रदर्शन गर्ने हो भने निरास भइहाल्ने अवस्था आएको छैन। ढुक्क हुनुस्, यो अन्तिम मौका होइन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.