|

सर्लाही : सरकारले तोकेको मिति सकिँदा सेमत सर्लाहीको किसानले उखुको रकम पाउन सकेको छैनन्। गत पुस १३ मा सरकारले आन्दोलनरत किसानसँग २१ दिनभित्र उद्योगीबाट पाउनुपर्ने उखुको बक्यौता रकम भुक्तानी उपलब्ध गराउने सम्झौता गरेको थियो।

सर्लाहीमा सञ्चालित तीन सुगर मिलमध्ये इन्दु शंकर हरिवन र महालक्ष्मी बगदहले गत वर्षसम्मको सम्पूर्ण रकम भुक्तानी गरिसकेको बताएको छ। धनकौलमा रहेको अन्नपूर्ण सुगर मिलले भने किसानलाई तिर्न बाँकी करिब १७ करोडमध्ये ११ करोड ४७ लाख रुपैयाँ किसानको खातामा पठाइसकेको छ। दुई करोड रुपैयाँ मिल सञ्चालकको खातामा रहे पनि सञ्चालक सम्पर्कमा नरहेकाले किसानको खातामा मात्र हाल्न मिल्ने गरी राष्ट्र बैँकमार्फत सर्कुलर जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए।

किसानलाई भुक्तानी गरेको रकम र मिल सञ्चालकको बैँक खातामा रहेको रकम दुबै हेर्दा अझै पनि किसानले पूरा रकम पाउन नसक्ने अवस्था रहेको प्रजिअ पौडेलले बताए। उद्योगीले उखु खरिद गरेबापत किसानलाई अझै पनि तीन करोड ५३ लाख रुपैयाँ तिर्न बाँकी देखिन्छ। 

सरकारले सम्भौता गरेको मिति घर्किसक्दा समेत बक्यौता रकम भुक्तानी नहुँदा सरकारप्रतिको विश्वसनियता कम भएको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनाली बताउँछन्। उखु बिक्रीबापतको भुक्तानी दिलाइदिन माग गर्दै प्रत्येक वर्ष किसानले आन्दोलन गर्दै आएका छन्। संघीय राजधानी काठमाडौंसम्म पुगेर भुक्तानीका लागि प्रत्येक वर्ष किसानले दुःख पाइराख्नु भन्दा सरकार जवाफदेही भएर बाँकी बक्यौता भुक्तानीमा सहजीकरण गरिदिनुपर्ने मैनाली बताउँछन्। धनकौलस्थित अन्नपूर्ण सुगर मिललाई किसानले उखु नदिएका कारण यस वर्ष सञ्चालन हुन सकेन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.