|

काठमाडौं : विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ। बुधबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा आर्मी प्रदेश १ माथि ४ विकेटले विजयी भएको हो।

प्रदेश १ ले दिएको १ सय ३२ रनको लक्ष्य आर्मीले २९।५ ओभरमा ६ विकेट गुमाएर भेट्टायो। आर्मीको जितमा रोहितकुमार पौडेलले ३१ बलमा ४ चौका र २ छक्का हिर्काउँदै सर्वाधिक ३६ रन बनाए।

यस्तै, भीम सार्कीले २९, लोकेश बमले १३ रन बनाउँदा र राजेश पुलामी मगर २४ रनमा नटआउट रहे। ​बलिङमा प्रदेश १ का फिर्दोस अन्सारी, ज्ञानेन्द्र श्रेष्ठ, दिपेश कँडेल र सुवान्कर उराउले एक–एक विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले ४० ओभर १ बलमा अलआउट हुँदै १ सय ३१ रन बनाएको थियो। उसका लागि विवेक मेहेताले ८३ बलमा ७ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ५० रनको अर्धशतकीय पारी खेले।

यस्तै, फिर्दोस अन्सारीले ३२, दिपक पासवानले १९ र दिपेश कँडेलले ११ रनको योगदान दिए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। ​बलिङतर्फ आर्मीका शाहब आलमले सर्वाधिक ४ विकेट लिए। ९।१ ओभर बलिङ गरेका उनले ३ मेडन राख्दै २३ रन खर्चिएर ४ विकेट लिएका हुन्।

यस्तै आकाश चन्दले ३ विकेट लिँदा सुशान भारी, भीम सार्की र राजेश पुलामीले एक–एक विकेट हात पारे।

जारी प्रतियोगितामा आर्मीको यो लगातार तेस्रो जित हो। यसअघि आर्मीले गण्डकी प्रदेश र कर्णाली प्रदेशलाई हराएको थियो। प्रदेश १ को यो लगातार तेस्रो हार हो। प्रदेश १ एपिएफ र गण्डकीसँग पराजित भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.