|

संखुवासभा : चैनपुर नगरपालिकाका किसानहरुसँग लाखौं रुपैयाँ ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। नक्कली कम्पनी स्थापना गरी लाखौं रुपैयाँ ठगी गर्ने मुख्य योजनाकार धनकुटाको छथर गाउँपालिका–६ का ३३ वर्षीय रमेश भन्ने नरेन्द्र थापालाई बाँकेबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए।

थापाले कृषकबाट २० लाख रुपैयाँभन्दा बढी रकम असुलेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरी निरीक्षक खतिवडाले जानकारी दिए। उनले उन्नत जातको गाईपालन तथा चिस्यान केन्द्र स्थापना गर्न भन्दै किसानबाट रकम असुली गरेका मुख्य योजनाकार थापालाई नेपालगञ्जबाट मंगलबार संखुवासभा ल्याइएको प्रहरी निरिक्षक खतिवडाले जानकारी दिए।

फरार रहेका थापालाई चैनपुर प्रहरीले वडा प्रहरी कार्यालय नेपालगञ्ज बाँकेको सहयोगमा पक्राउ गरिएको हो। चैनपुर नगरपालिका वडा नम्बर ३ र ४ का विभिन्न किसानसँग गाईपालन, दुध चिस्यान केन्द्र स्थापना र कम्पनी शेयर सदस्यताबाट थापासहितको समूहले किसानबाट रकम असुली गरी गरेका थिए।

प्रहरीले यसअघि ठगीमा संलग्न रहेका आरोपमा चैनपुर–३ का ५६ वर्षीय चन्द्रबहादुर आले मगर, चैनपुर–४ का ३६ वर्षीय मिलन भनिने सुरेन्द्र राई माघ २ मा पक्राउ परेका थिए। घटनामा संलग्नहरुलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खतिवडाले जानकारी दिए।

उनीहरुले २०७४ चैतदेखि विभन्न समयमा उनीहरुले किसानमार्फत रकम उठाउँदै आएको प्रहरी निरीक्षक खतिवडाले बताए। थापाको समूहले पोखरी ग्रुप अफ कम्पनी प्रा.लि.को नामक नक्कली कम्पनीबाट किसानबाट रकम असुली गरेको थियो। उनीहरुले उन्नत जातको गाईपालन किसानहरुबाट अग्रिम पेश्की बापत १० प्रतिशतका दरले ४ लाख १० हजार रुपैयाँ, दुग्ध चिस्यान तथा डेरी सञ्चालन गर्न भनी १४ लाख ४५ हजार रुपैयाँ उठाएको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक खतिवडाले जानकारी दिए।

त्यसैगरी कम्पनीको शेयर सदस्यता भन्दै विभन्न एक लाख ५५ हजार रुपैयाँ लिएको खुलेको छ। ठगीमा संलग्नहरुले पोखरी ग्रुप अफ कम्पनी प्रा.लि. नामको नक्कली कम्पनी स्थापना गरी तीनैजना सञ्चालक भई राष्ट्रिय बाणिज्य बैँक चैनपुरमा संयुक्त खाता समेत सञ्चालन गरेका थिए। 

उनीहरुले साउदी अरेबियाको अलडाना भिजन कम्पनीको ५० प्रतिशत अनुदान र किसानको ५० प्रतिशत लगानीमा भारतको पञ्जाबमा उन्नत जातको गाई ल्याउने भन्दै कृषकबाट रकम उठाएका थिए। गाई ल्याएपछि दुग्ध चिस्यान केन्द्र स्थापनाका लागि समेत उनिहरुले कृषकबाट रकम असुली गरका थिए । त्यसैगरी चैनपुरको पोखरी बजार नजिकै मिनिरल वाटरको फ्याक्ट्री खोल्न सेयर सदस्यहरुसँग उनीहरुले रकम असुली गरेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.