स्व.विजय प्रकाश विनको स्मृतिमा अग्रज पत्रकारलाई सम्मान

|

पर्सा :  वीरगन्ज महानगरपालिका मेयर विजय सरावगीले अझै देशमा पूर्ण गणतन्त्र नआएको बताएका छन्। 

मध्य तराईको पर्सामा पहिलो पटक भोजपुरी भाषामा पत्रिका प्रकाशन गर्ने पत्रकार स्व.विजय प्रकाश विनको स्मृतिमा अग्रज पत्रकारहरुलाई सम्मान कार्यक्रममा सरावगीले यस्तो बताएका हुन्।  

पत्रकारिताको इतिहासमा लामो सयम पर्सामा रहेर पत्रकारिता गर्दै आएका अग्रज पत्रकारमध्ये एकलाई प्रत्येक वर्ष पुरस्कृत गर्ने उद्देश्यले स्व.विनको स्मृतिमा यो सम्मानको थालनी भएको हो।  

नगरप्रमुख सरावगीले मुलुकमा पूर्ण संघीयता पनि नआइसकेो उल्लेख गरे। संविधानमा उल्लेख भएअनुसार अझै कानुनी रुपमा स्थानीय तहले काम गर्ने अधिकार पाइनसकेको बताए। 

पहिलो वर्षको सम्मानबाट ४० वर्षदेखि लगातार पत्रकारितामा सक्रिय पर्साका अग्रज पत्रकार शंकर प्रसाद खतिवडा सम्मानित भएका छन्। नयाँ पुस्ताले अग्रज पत्रकारहरुलाई भुल्दै गएको वर्तमानमा पुराना पुस्तालाई सम्झने उद्देश्यले पनि स्थापित पुरस्कार तथा सम्मानमा पत्रकार खतिवडालाई ११ हजार १ सय ११ रुपैयाँ नगद‍ सम्मान गरिएको छ।

पत्रकार खतिवडा मोर्चा साप्ताहिकका प्रकाशक सम्पादक हुन्। उनी २०३७ सालबाट पत्रकारिता पेसामा आबद्ध छन्। स्व.विन्दु पाण्डे स्मृति प्रतिष्ठानले उनलाई सरावगीको हातबाट दोसल्ला ओढाई नगद प्रदान गरेको छ।

पत्रकारितामा स्नातकोत्तर गर्नेलाई महानगरको 'अफर' 

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै पर्सेली पत्रकार महिलामध्ये कसैले पत्रकारितामा स्नातकोत्तर गर्ने भए महानगरले हरेक वर्ष डेढ लाख आर्थिक सहयोग उपलब्ध गराउने पनि नगर प्रमुख सरावगीले बताए।

अघिल्लो वर्षबाट नै महानगरले यो योजना ल्याए पनि कुनै पनि पत्रकार महिला पत्रकारितामा स्नातकोत्तर गर्छु भनी अझै महानगरको सम्पर्कका नआएका उनले बताए। त्यसैले यो रकम यतिकै फ्रिज हुने अवस्थामा पुगेको उनले बताए। 

त्यसै गरी पुरुप पत्रकारमध्येबाट पनि पत्रकारितामा नै यो उपाधि गर्न इच्छुक पत्रकारमध्ये एक जनालाई पनि एक लाखसम्मको रकम महानगरले फेलोसिपजस्तो तरिकाले उपलब्ध गराउने नगर प्रमुख सरावगीले बताए।

नेपाल पत्रकार महासंघ प्रदेश २ र पर्सा शाखालाई समेत हरेक वर्ष केही न केही आर्थिक सहयोग गर्दै आएको महानगरले ठोस कार्यक्रमसहित आए अझै संचारकर्मीहरुलाई सहयोग गर्ने प्रतिबद्धता जनाए। ​

पार्टीको मान्छे नभई समान व्यवहार गर्ने  

राम्रो काम गर्दै जाने क्रममा आफ्नो पार्टीको व्यक्ति वा संस्था भन्ने केही नहेरी वीरगन्ज महानगरवासीको मेयर भएर लगातार विकास, निर्माण र सामाजिक कार्यमा लागिरहने नगर प्रमुख सरावगीको तर्क छ। 

नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहान, पर्सा अध्यक्ष श्याम बन्जारा र खोज पत्रकार केन्द्रका अध्यक्ष चन्द्रकिशोर झा लगायतले नेपाली र भोजपुरी भाषामा समेत पत्रिका प्रकाशित गरी समाजमा योगदान पुर्‍याउने स्व.विनको योगदान व्यावसायिक पत्रकारिताको जग भएको बताए। त्यस्ता व्यक्तिको नाममा पत्रकारिता पुरस्कार स्थापना हुनु सकारात्मक कदम भएको उनीहरुको भनाइ छ। 

कार्यक्रममा स्व.पत्रकार विनयकी श्रीमती तारादेवी विनलाई पनि नगद २ हजार १ सय सहित दोसल्ला ओढाइ सम्मान गरिएको छ। तुलसी भण्डारी अध्यक्ष रहेको स्व.विन्दु पाण्डे स्मृति प्रतिष्ठानले विगत पाँच वर्षदेखि पर्सेली पत्रकार महिलामध्येबाट हरेक वर्ष नगदसहित एक जना पत्रकार महिलालाई पनि सम्मान गर्दै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.