दुई बजेपछि रिङरोडका गाडी चल्‍ने

|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहको काठमाडौंमा यतिखेर बृहत शक्ति प्रदर्शन भइरहेको छ। विभिन्न ठाउँबाट जुलुसले सडक भरिँदै छन्। जसले सडक नै अस्तव्‍यस्त बनेको छ। त्यसो त यता पैदल यात्रु गाडी नपाउँदा सास्ती खेप्न बाध्य भइरहेका छन्। ​घण्टौँसम्म पैदलयात्रा गरेर गन्तब्यमा पुगिरहेका छन् सर्वसाधारण। 

काँडाघारी जानलाई बिजुलीबजारमा बस कुरिरहेका निरज बुढाथोकीले भने,‘पहिला जति पनि गाडी पाइन्थ्यो। खै आज त गाडी नै चलेको छैन। गाडी कुरेको आधा घण्टा हुन लागिसकेको छ। गाडी नपाए अब हिँडेर नै जानुपर्ने होला।’ 

राजनीतिक नेताका कारण सधैँ जनता दुःख पाउने उनी सुनाउँछन्। ‘नेताहरूले ठूला भाषण गर्छन्। गाडी चल्न दिँदैनन्। यस्तोमा विद्यार्थीहरूलाई गाह्रो हुन्छ नि।’ उनले भने। 

अर्का, नयाँ बानेश्वर चोकमा भेटिएका सुरेश श्रेष्ठले पनि समयमा गाडी पाउन नसकेको भन्दै दुखेसो पोखे। ‘भक्तपुर जानुपर्ने थियो। खै गाडी नै चलेको छैन। नेताले कार्यक्रम गर्दा जनतालाई त यसरी दुःख दिनु भएन नि। अरूलाई वास्ता नगरी आफूलाई मात्रै हेरेर भएन।’

उनका अनुसार युवायुवतीभन्दा पनि बढी मार भने बृद्धबृद्धालाई हुने गरेको छ। ‘हामी त हिँड्न सक्छौँ। बूढाबूढी हिँडेर घर जान त सक्दैनन्। तर,पनि सकीनसकी हिँडेर जानुपर्ने बाध्यता छ।’ उनले भने। 

नागरिककै सुरक्षाका लागि सवारीसाधन डाइभर्सन गरेका हौँ

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता श्याम कृष्ण अधिकारीले राजनीतिक सम्मेलनका कारण नागरिककै सुरक्षाको लागि गाडी डाइभर्सन गरेको बताउँछन्।  

उनले भने,‘आज प्रचण्ड–माधव समूहको ठूलो राजनीतिक भेला छ। यसमा गाडीहरू चल्न दिँदा केही दुर्घटना हुन सक्छ। त्यसैले नागरिककै सुरक्षाका लागि सवारी डाइभर्सन गरेका हौँ। जसले गर्दा सर्वसाधारण भने सास्ती खेप्न बाध्य भए।’ 

उनले कार्यक्रम सकेपछिमात्रै सडकमा सवारीसाधन चल्ने दिने बताए। उनले भने,‘कार्यक्रम नसकीकन सवारी चलाउन दिनुभएन। दुई बजेदेखि रिङरोडमा चाँहि चल्न सक्छ।’  

उनका अनुसार रिङरोड भएर भित्री चोकतर्फ आउँने ठूला सवारीसाधनलाई यतिबेला डाइभर्सन गरिएको छ। प्रर्दशनीमार्ग हुँदै चल्ने सवारी साधनलाई भने यतिबेला सभागृहमोड र पद्यमोदयबाट आउने जाने व्यवस्था मिलाइएको छ।

त्यस्तै, भोटाहिटीतर्फ आउने-जाने सवारी साधनलाई डाइभर्सन गरिएको छ। भोटाहिटीबाट जमल हुँदै घण्टाघरतर्फ आउने सवारी साधनलाई तीनधारापाठशाला हुँदै महेन्द्रशालिकतर्फ पठाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.