एक भाइल खोपबाट १० जनालाई लगाउन सकिने

|

काठमाडौं : हिजो मात्रै भारतबाट अनुदानमा ल्याइएको कोरोना विरुद्धको कोभिसिल्ड खोप भोलिबाट सातै प्रदेशमा पठाउन सुरु गरिने भएको छ। 

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले आज सात प्रदेश र जिल्लागत रुपमा स्वास्थ्यकर्मीको विवरण यकिन गरेपछि आवश्यकताका आधारमा खोप  सातै प्रदेशमा पठाइने बताएको छ। बिहीबार मध्याह्नन १२ बजे एयर इन्डियाको विमानमा १० लाख खोप नेपाल अवतरण गराइएको खोपलाई हाल टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा लगेर राखिएको छ।

भोलिबाट खोपलाई रेफ्रिजेरेटर भ्यानमा राखेर उच्च सुरक्षासहित सातै प्रदेशका खोप भण्डारणमा पठाइने स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले जनाएको छ। 

हाल खोपको मुख्य प्राथामिकतामा प्रदेश २ का स्वाथ्यकर्मी रहे पनि सबै ठाउँमा एकैपटक खोप लगाइने विभागले जनाएको छ। प्रदेशमा पठाइएका खोप जिल्लागत रुपमा वितरण हुने र जिल्लाले तोकेको बुथबाट स्वास्थ्यकर्मीले खोप पाउने बताइएको छ।

विभागले स्वास्थ्यकर्मीको संख्या बढी भएको काठमाडौँ उपत्यकामा धेरै वटा बुथ राखे पनि उपत्यका बाहिरका जिल्लाहरुमा सरकारी अस्पतालबाट स्वास्थ्यकर्मीलाई खोप दिने योजना बनाएको छ। कुनै कुनै जिल्लाले आवश्यकताका आधारमा सहायक बुथ राख्न सक्ने बताइएको छ।

यसअघि नै मन्त्रालयले नेपालमा खोप आएको एक हप्ताभित्रै लगाउन सुरु गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो । पहिलो चरणमा कोभिडविरुद्ध खटिएका फ्रन्टलाइनर स्वास्थ्यकर्मी तथा सहयोगी कर्मचारीलाई दिने बताएको छ। त्यसको संख्या करिब ३ लाख बढी छ। 

एक भाइल खोपबाट १० जनालाई लगाउन सकिने  

भारतको सिरम कम्पनीले उपत्पादन गरेको कोभिसिल्ड एक भाइल खोपबाट १० जनालाई लगाउन सकिनेछ। खोपको भाइल खोलिसकेपछि भने ६ घन्टाभित्र लगाइसक्नुपर्ने हुन्छ। 

यो खोप २ देखि ८ डिग्री तापक्रममा भण्डारण गर्न मिल्ने भएकाले प्राविधिक सुरक्षाका लागि सहज रहेको समेत बताइएको छ।

तर यो खोपलाई ०.५ एमएम सुई आवश्यक पर्ने तर केही सुई मौज्दात रहे पनि सबै खोप प्रयोग गर्दा अहिलेको सुई अपुग हुने देखिएको छ। त्यसैले सुई खरिद प्रक्रिया बढाइएको महाशाखा स्रोतले जनाएको छ।

महाशाखा भन्छ, 'हाल मन्त्रालयले ७७ वटै जिल्लामा खोप केन्द्र तयार गर्ने र एउटा केन्द्रमा एक दिनमा १२० देखि १२५ जनालाई खोप दिइने योजना अघि सारेको छ।

कोरोना खोप एक जनालाई दुई डोज लगाउनुपर्ने हुन्छ। साथै खोप लगाउने क्रममा १० प्रतिशत खोप खेर जानसक्ने समेत बताइएको छ।​

कोभिडसिल्ल खोप पहिलो चरणमा प्रदेश २ का फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी र उपत्यकाका चार वटा कोभिड अस्पतालका स्वास्थ्यकर्मीलाई दिइने मन्त्रालयले बताएको थियो।

मन्त्रालयका अनुसार उपत्यकामा टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल, बलम्बुस्थित सशस्त्र अस्पताल, त्रिवि शिक्षण अस्पताल र पाटन अस्पतालका स्वास्थ्यकर्मी खोप लगाउने मुख्य प्राथामिकतामा छन्। 

राष्ट्रिय खोप सल्लाहकार समितिले पहिलो खोप लगाएका व्यक्तिलाई चार सातापछि दोस्रो डोज खोप दिने व्यवस्था मिलाउन सरकारलाई सिफारिस गरेको छ।

​यता कोभ्याक्स फ्यासिलिटीले दिने खोप भने चैत वैशाखसम्म आइपुग्ने बताइएको छ। गत साता स्वास्थ्य मन्त्रालयलाई पत्र पठाउँदै आगामी अप्रिलभित्रमा खोप पठाउने जानकारी दिएको मन्त्रालयले बताएको छ।

२० प्रतिशत नेपालीलाई पुग्नेगरी नि:शुल्क उपलब्ध गराउने पनि कोभ्यासले प्रतिबदद्धता जनाइसकेको छ। यद्यपि आगामी अप्रिलसम्म खोप पठाउने जानकारी कोभ्याक्सले मन्त्रालयमा पत्रसहित दिए पनि कुन कम्पनीले उत्पादन गरेको खोप पठाउने भन्नेबारे पत्रमा नखुलाइएको मन्त्रालय बताउँछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.