|

पर्वत : अन्नपूर्ण बेस क्याम्प (एबिसी) ट्रेकिङ रुटमा जान पिसिआर रिपोर्ट नचाहिने भएको छ। छोम्रोङ पर्यटन व्यवसायी समितिको बैठकले एबिसी ट्रेकिङमा जाने पदयात्रीले कोरोना जाँच गरेको पिसिआर रिपोर्टबिना नै पदयात्रामा जान सक्ने निर्णय गरेको समितिका सचिव दिलिप गुरुङले जानकारी दिए।

देशभर कोरोना सक्रण दर तीव्र बन्दै गएपछि विश्वकै चर्चित ट्रेकिङ रुट एबिसी रुमा जान पिसिआर रिपोर्ट अनिवार्य गरिएको थियो। 

‘अहिले कोरोना संक्रमणको अवस्था पहिलेको जस्तो छैन। संक्रमितहरू कम संख्यामा भेटिएका छन् भने जनजीविका पनि सामान्य बन्दै गएको छ,’ सचिव गुरुङले भने, ‘कोरोनाको डरमा अब पनि पदयात्रीलाई कडाइ गर्ने कुरा हुँदैन। विश्वकै चर्चित रुटमा पर्ने यस रुटमा सहज बनाएपछि पर्यटकीय चहलपहल बढ्ने छ। पर्यटन व्यवसाय बिस्तारै पुरानै लयमा फर्किने छ।’ 

उनका अनुसार केही समयअघि पदयात्रामा गएका पर्यटकहरूले पिसिआर जाँच गरेको रिपोर्ट देखाएपछि होटलहरुमा बस्न पाउने व्यवस्था गरिएको थियो। तर त्यसले पर्यटकहरूलाई बढी झन्झट बनाएका कारण रिपोर्टलाई अनिवार्य नगरिएको हो।

पिसिआर रिपोर्ट अनिवार्य  नगरिए पनि पर्यटकहरुलाई स्वास्थ्य सतर्कता अपनाउन लगाउने सचिव गुरुङको भनाइ छ। जनजीविका सामान्य बन्दै गएपछि अहिले पदमार्ग अन्तर्गत देउरालीसम्मका होटलहरु पूर्ण रूपमा खुलेका छन्। देउरालीबाट माछापुच्छ्रेमा करिब दुई घण्टाको यात्रामा पुग्न सकिन्छ। माछापुच्छ्रेबाट अन्नपूर्ण बेस क्याम्प नजिक करिब डेढ घण्टामा पुगेर पर्यटकहरु देउरालीमा बास बस्ने गरेका छन्। 

समितिका अनुसार पदयात्रालाई सहज बनाएसँगै यही साताभित्रमा नै माछापुच्छ्रे र र अन्नपूर्ण बेसक्याम्प नजिक रहेका होटलहरु पनि खुलाउने तयारी गरिएको छ। फागुन महिनाको सुरुमा नै कामदारहरू आइसकेपछि पदमार्गलाई पूर्ण रूपमा खुलाउने तयारी समितिले गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.