|

लमजुङ : कोरोना भाइरस महामारीसँगै सरकारले जारी गरेको लकडाउनका कारण सुनसान भएको लमजुङको ग्रामीण पर्यटन अझै तंग्रिन सकेको छैन। 

आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुने पसगाउँमा १० महिनादेखि पर्यटक आगमन बन्द छ। व्यावसायिक होमस्टे सुरु भएको एक दशकभन्दा बढी भएको पसगाउँमा लामो समय पर्यटक आगमन बन्द भएपछि स्थानीय पर्यटन व्यवसायीहरु मर्कामा परेका छन्। गाउँमा पाहुना आउँदा खुशी हुने स्थानीयहरु पर्यटक आगमन बन्द भएपछि व्यवसायनै संकटमा परेको व्यवसायी मुन्नीकुमारी गुरुङले बताइन्।

सरकारले घोषणा गरेको पर्यटन वर्षको सुरुवातसँगै पर्यटकहरुको आगमन बढ्ने अपेक्षाले व्यवसायीहरु उत्साहित भएका थिए। कोरोना भाइरसको महामारीले पर्यटक आगमन बन्द गर्न बाध्य भएका थिए। तर, पुनः पर्यटन व्यवसायले फड्को मार्ने व्यवसायीहरुको आशा छ।

कोरोनाको प्रभावबाहेक भौगोलिक विकटताका कारण पनि पसगाउँको पर्यटन प्रवर्द्धनमा समस्या भएको स्थानीय जनप्रतिनिधि बताउँछन्। हाल सडक स्तरोन्नतिको क्रम सुरु भएकाले आगामी दिनमा पर्यटन विकासमा फड्को मार्ने विश्वास लिएको क्व्होलासोंथर गाउँपालिका–६ का वडाध्यक्ष मनलाल गुरुङले बताए।

पसगाउँमा माओवादी द्वन्द्वको प्रभावसँगै पर्यटन व्यवसाय पनि धरापमा परेको थियो। शान्ति पुनर्स्थापनापछि पसगाउँमा पर्यटकीय गतिविधि बढ्न थालेको हो। गुरुङहरुको बाहुल्यता रहेको पसगाउँमा हाल २१ घरमा होमस्टे छ। पसगाउँमा सात घरबाट होमस्टे सुरु गरिएको थियो।

अन्नपूर्ण हिम श्रृंखला लमजुङ्ग हिमालको काखमा अवस्थित पसगाउँ पर्यटकीय सम्भावना बोकेको गाउँ हो। गण्डकी प्रदेश अन्तर्गत क्होला सोंथर गाउँपालिका–६ मा पर्ने यो गाउँ अहिले होमस्टेका कारण आन्तरिक तथा बाह्य पर्यटकहरुको नजरमा पर्न थालेको छ। समुन्द्री सतहबाट १ हजार ६५० मिटरको उचाइमा रहेको पसगाउँमा १५० घरधुरी छन्। 

लमजुङको पश्चिम–उत्तर भेगमा अवस्थित यस गाउँमा सदरमुकाम बेंशीसहर र पोखराबाट बस र जीपबाट पुग्न सकिन्छ। कच्ची सडकको यात्रा कठिन भए पनि गाउँ पुगेपछि मनमोहक प्राकृतिक छटा र गुरुङ संस्कृति, संस्कार र  आतिथ्यताले पाहुनाहरु प्रफुल्ल हुने गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.