|

इलाम : नेपाली फुटबलमा आजकाल विभागीय टिम बाहेकका ए डिभिजन क्लबहरुमा देखिने एउटै समानता हो अफ्रिकन खेलाडी। ३ वटा विभागबाहेक सबै क्लबसँग ए डिभिजन लिगको समयमा कम्तीमा ३ जना अफ्रिकी मुलका खेलाडी उपलब्ध हुन्छन्।

२०६३ सालको लिगबाट नेपाली फुटबलमा अफ्रिकी खेलाडीहरुको प्रवेश भएको थियो। सुखद भविष्यको खोजीमा तान्जिनिया, नाइजेरिया र आइभरीकोष्टका ५ जना खेलाडीहरु भारतको बाटो हुँदै अवैध रुपमा नेपाल आएर फुटबल खेलेका थिए। त्यसपछि अफ्रिकी खेलाडीहरुको नेपाल प्रवेशमा लर्को लाग्यो। 

गत सिजनको सहिद स्मारक लिगमा २७ जना अफ्रिकी मुलका खेलाडीहरुले विभाग बाहेकका ११ वटा ए डिभिजन क्लबबाट फुटबल खेले। २०७५ सालमा धनगढीमा खप्तड गोल्डकप खेल्न आएको क्यामरुनी टोली दाफिन्सका खेलाडीहरुले त्यसपछि  नेपालमा झन्डै एक वर्ष क्लबको रुपमा फुटबल खेले। पश्चिममा बुटबलको तिलोत्तमादेखि पूर्वको इलाममा माईभ्याली गोल्डकप जित्दै नेपाली फुटबलका पावरहाउस टोलीहरु माथि दबाब थप्यो।

सिजनको सर्वाधिक राशीको खप्तड गोल्डकपको लागी नेपाल आएको टोलीले त्यसपछि नेपालमा आयोजना भएको साना ठुला गरी १० भन्दा बढी प्रतियोगितामा सहभागीता जनाउँदै ६ वटा उपाधि र २ वटा उपविजेता बन्यो। त्यसपछि आफ्नै देश फर्किएका खेलाडीहरुले २०७६ सालको ए डिभिजनमा विभिन्न क्लबबाट सहभागिता जनाए। लकडाउनको समयमा पनि धेरै जसो खेलाडी नेपालमै थिए। 

पुरुष खेलाडीहरुले नेपाली फुटबलमा सहभागिता जनाउन थालेको १४ वर्षपछि अफ्रिकाबाट महिला फुटबलर पनि नेपाल आए। जारी महिला राष्ट्रिय लिगमा स्याङ्जाको वालिङ नगरपालिकाले क्यामरुनबाट ४ जना खेलाडी भित्र्यायो।

लिगका लागि विभागीय बाहेकका टिमले चार जनासम्म विदेशी खेलाडी राख्न पाउने प्रावधान अनुसार वालिङको टिमबाट खेल्न टोटा ओरानेला इभानिक नोएला, मेथुड इलुडियर रुथ, जुबी सोलिना डिआना र काइमोग्ने जोमो भेनेसा नोएला नाम गरेका खेलाडीहरुलाई नेपाल ल्याएको हो।

उनीहरुलाई द फुटबल प्लेयर एजेण्ट मार्फत नेपाल ल्याइएको हो। द फुटबल प्लेयर एजेण्ट सुगन तण्डुकारको संस्था हो जसले दाफिन्स र त्यसभन्दा अघिका धेरै अफ्रिकी खेलाडीहरुलाई नेपालमा स्थापित गरेको छ। 

महिला खेलाडीहरु बिहिबार बेलुका ६ः१५ मा नेपाल आइपुगेको तण्डुकारले जानकारी दिए। उनका  अनुसार ४ जना मध्ये २ जना स्ट्राइकर, एक जना मिडफिल्डर र डिफेन्स रहेका छन्। उनीहरुले लिग अवधि भर वालिङ टिमबाट खेल्नेछन्। ‘ सम्पुर्ण प्रक्रिया पुरा गरेर नेपाल आएका हुन्। यहाँ एक महिना खेलेर आफ्नै देश फर्कन्छन्।’ तण्डुकारले थाहाखबरसंग कुरा गर्दै भने,‘ उनीहरु पिसिआर नेगेटिभ रिपोर्ट लिएर आएका छन् यद्यपि यहाँ आज परीक्षण गरेर रिपोर्ट आएपछि टिमबाट खेल्नेछन्।’  नेपाल आएका खेलाडी क्यामरुनका उमेर समुहका हुन्।

उनीहरुले क्यामरुनको यु–२० टिमबाट खेलिसकेर अब सिनियर टोलीमा खेल्ने तयारीमा रहेको तण्डुकारले जानकारी दिए। क्यामरुन महिला फुटबलको ५१ औं वरीयताको टोली हो। 

वालिङ नगरपालिकाका प्रमुख दिलीप प्रताप खाँडले विभिन्न संघसंस्थाको सहयोगमा विदेशी खेलाडी ल्याइएको बताए। विदेशी खेलाडीको लागि आउने जाने प्लेन खर्च यहाँ एक महिना खेल्दाको खर्च र खाने बस्ने सबै खर्च नगरपालिकाले नै व्यहोर्ने उनले बताए।

‘एन्फाले चारजना विदेशी खेलाडी राख्न पाउने व्यवस्था गरेपछि हाम्रो टिममा पनि विदेशी खेलाडी चाहिन्छ भन्ने माग भएकोले चार विदेशी खेलाडी राखेका छौँ,’ खाँडले भने, ‘ दोहारो प्लेन भाडा र नेपाल बस्न लाग्ने खर्च दिन्छौ। खेल अवधिभर प्रति खेलाडी ६० हजार दिने सहमति भएको छ। प्रायोजकहरुले त्यो खर्च व्यहोरिदिनुहुन्छ।’

विराटनगरमा ४ जना भारतीय खेलाडी

गत वर्षको उपमेयर कप बिजेता टोली विराटनगरले समेत ४ जना भारतीय खेलाडी भित्र्याएको छ। टिम म्यानेजर उद्धव अर्यालका अनुसार झारखण्ड र सिक्किमको खेलाडी विराटनगरको टिममा रहेका छन्। झारखण्डबाट आएका खेलाडीमध्ये २ जनाले राष्ट्रिय टोलीबाट खेलिसकेको अर्यालले जानकारी दिए। ‘ झारखण्डबाट स्ट्राइकर, डिफेन्स र मिडफिल्डर गरी ३ जना आएका छन्।

जसमध्ये एक जनाले सिनियर र एक जनाले उमेर समुहबाट भारतीय राष्ट्रिय टोलीमा खेलिसकेका छन् अर्को एक जना त्यहाँको लिग खेलेको खेलाडी हुन्। सिक्किमको खेलाडी राज्य स्तरिय हो।’ अर्यालले भने, ‘पारिश्रमिकको विषयमा छलफल भएको छैन, तर उनीहरुलाई लिग अवधिभर रहँदा लाग्ने खर्च हामीले व्यर्होने हो।’ खेलाडीहरु प्रतियोगिता भन्दा एक साताअघि नेपाल आएर प्रशिक्षण गरेका थिए।  वालिङ विरुद्धको बिहीबारको खेलमा झारखण्डमा ३ जना खेलाडी मैदान उत्रिएका थिए। १–१ को बराबरीमा सकिएको खेलमा आशा कुमारीले गोल गरेकी थिइन्। 

उदयपुरको चौदण्डीगढी नगरपालिकाको टिमले पनि बंगलादेश र भारतको खेलाडी टिममा राख्ने तयारी गरेको थियो। तर अन्तिम समयमा विदेशी खेलाडी नआउने भएको टिम अफिसियल कुमारी राईले बताइन्। यस्तै चन्द्रपुर नगरपालिकाका प्रशिक्षक नुरराज काफ्लेले जिल्लामा नै राष्ट्रिय टिमबाट खेलेका खेलाडीहरु भएको कारण विदेशी खेलाडी नल्याइएको बताए। यु–१९ का राष्ट्रिय खेलाडी सम्मिलित चन्द्रपुरले बिहीबारको खेलमा विभागीय टोली एपिएफसँग ६–० गोल अन्तरले पराजय भोगेको छ। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.