|

भद्रपुर :  तीन जना तिब्बतीलाई नेपाली नागरिकता बनाइदिएको आरोपमा पक्राउ परेका प्रशासकीय अधिकृत धरौटीमा रिहा भएका छन्। 

अन्य दुई जनालाई पुर्पक्षका लागि झापा कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

गैरनेपालीलाई नागरिकता दिएको आरोपमा प्रहरीले इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रशासकीय अधिकृत धनञ्जय साह, कार्यालय सहयोगी आसिर आलम र गौरादह नगरपालिका–७ का कृष्ण तिम्सिनालाई पुस ११ गते पक्राउ गरेको थियो। झापा जिल्ला अदालत भद्रपुरले शुक्रवार प्रशासकीय अधिकृत साहलाई २ लाख रुपैयाँ धरौटीमा रिहा गरेका छन्। 

उनीसँगै पक्राउ परेका कार्यालय सहयोगी आलम र तिम्सिनालाई पुर्पक्षका लागि झापा कारागार चलान गरिएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। अधिकृत साहलाई अदालतमा उपस्थित हुने गरी तारेखमा छोडिएको जनाइएको छ। 

गौरादह नगरपालिका ७ नम्बर वडा कार्यालयको किर्ते छाप र वडा अध्यक्ष बलराम खरेलको किर्ते हस्ताक्षर गरी उनीहरूले तीन जना तिब्बतीलाई नेपाली नागरिकता प्रमाणपत्रका दिएको आरोप लागेको थियो।  

कार्तिक २८ गते ती नाम गरेका मानिसहरूले काठमाडौँमा पासपोर्टका लागि वडा कार्यालयमा कागजात पेस गरेपछि उनीहरूको नागरिकतामाथि शङ्का लागेपछि किर्ते घटना प्रमाणित भएको थियो।

सर्वद्धवन राईले नक्कली बाबु बनेर छोराहरू विशाल राई, अमृत राई र छोरी दीपिका नाममा नागरिकता अनुसूचीमा सनाखत गरिएको देखिन्छ। नागरिकताको अनुसूची १ भरी कार्तिक २७ गते वडा कार्यालयबाट लगिएको तर कार्यालयमा त्यसको कुनै अभिलेख छैन।

नक्कली बाबु भनेर सनाखत गरेका राई र उनका छोराछोरी वडाका बासिन्दा नभएको र उनीहरूले बनाएको किर्ते नागरिकतामा ठेगाना पुरानो जुरोपानी गाविस वडा नम्बर ८ खुलाइएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.