|

दाङ : पछिल्लो समय दाङमा खेल क्षेत्रको माहोल राम्रो बन्दै गइरहेको छ। केही वर्ष अघिसम्म दाङमा खेल्ने मैदान नै थिएन। खेल खेलेर जीविकोपार्जन गर्ने कुरा त परको, खेल खेल्न मात्रै पनि एक पटक होइन-हजार पटक सोच्नुपर्ने थियो।

खेलाडीहरूलाई न सम्बन्धित निकायले सहयोग नै गर्थ्यो, न त घर बाट नै खेलमा लाग्न प्रेरणा मिल्थ्यो। तर, स्थानीय तहमा जनप्रतिनिधि तथा जिल्लामा विभिन्न क्लबहरू स्थापना भएपछि यहाँको माहोल फेरिएको छ। स्थानीय तहले पनि खेल क्षेत्रलाई विशेष महत्वका साथ अगाडी बढाइरहेका छन्।

जिल्लाका स्थानीय तहहरूले प्रत्येक वर्ष विभिन्न खेलकूद प्रतियोगिता आयोजना गर्दै आइरहेका थिए। तर, कोरोना महामारीका कारण करिब ८/९ महिनासम्म सबै खेल गतिविधि बन्द रह्यो। पछिल्लो समय कोरोना महामारी कम हुँदै गएपछि जिल्लास्तरीय प्रतियोगिताहरू आयोजना हुन थालेका छन्।

लामो समयदेखि खेल खेल्न नपाएर घरमै बसेका खेलाडीहरू अहिले खेल खेल्न पाउँदा निकै खुशी देखिन्छन्। तर, खेलाडीप्रति राज्यले खासै ध्यान नदिने गरेको उनीहरूको गुनासो छ।

घोराही उपमहानगरपालिका-१८ का जनक बुढा मगर फुटबल खेलाडी हुन्। उनी जिल्लामा हुने प्रतियोगितामा खेल्दै आएका छन्। कोरोना महामारीका कारण लामो समयसम्म खेल खेल्न नपाउँदा धेरै अवसरहरू गुमेको उनले बताए। ‘खेल अभ्यास गर्न थालेको अहिले २ महिनाजति भयो, तर पहिलाको जस्तो जोश आउँदैन। लामो समयसम्म खेल्न नपाउँदा मनमा निराश छाएको छ। अहिले घोराही उपमहानगरपालिकाले वडास्तरीय प्रतियोगिता राख्दा भने अलिकति आशा पलाएको छ।’

तर, उनले फुटबल खेलेर पनि आफूहरू बाँच्न सक्ने अवस्था सृजना नहुँदा समस्या भएको बताए। जिल्लामा धेरै ठूला प्रतियोगिताहरू हुने गरेपनि आफूहरूलाई फुटबल खेल्ने जुत्ता किन्न पनि घरबाट रकम माग्नुपर्ने अवस्था रहेको समेत उनले बताए। ‘हामी खेलाडीहरूको लागि जुत्ता, ड्रेस र अन्य अत्यावश्यक सामग्री सम्बन्धित निकायले व्यवस्था गरिदिनुपर्छ। खेलाडीहरूको लागि भत्ताको व्यवस्था हुनुपर्छ र उनीहरूलाई खेल क्षेत्रमै लाग्दा सहज ढंगले जीविकोपार्जन हुने आधार तयार गर्नुपर्छ,’ उनले थपे।

घोराही-१६ का सुदन कामी पनि फुटबल खेलाडी हुन्। उनले पनि जनकको जस्तै समस्या भोगिरहेका छन्‌। जिल्लामा राम्रा खेलाडीहरू भएता पनि आर्थिक कारणले माथि जान नसकेको उनले बताए।

‘हामीले वडा, जिल्लास्तरीय खेलहरू खेल्दै आएका छौँ,’ उनले भने, ‘राष्ट्रियस्तरका खेलहरू खेल्न मन भएपनि आर्थिक समस्या कारण बञ्चित हुनुपरिरहेको छ, जोसँग पैसा छ-त्यो नै माथि जान्छ। पैसा नहुने जिल्ला मै बस्न बाध्य हुन्छ।’ अहिले पनि आफूहरूले फुटबलको प्रशिक्षण पाउँदै आएपनि राम्रो खेल्ने खेलाडीहरूलाई माथि उठाउन लागि यहाँका निकायले ध्यान दिनुपर्ने उनको भनाइ छ।

घोराही १८ का साहस रोका मगरले पनि धेरैपछि खेल खेल्न पाउँदा धेरै खुशी लागेको बताए। उनले राज्यले खेलाडीहरूले नहेर्दा धेरै राम्रा खेलाडीहरू विदेश जान बाध्य भएको समेत बताए। ‘राष्ट्रिय खेलाडीहरूले त राम्रो सेवा सुविधा पाएका छैनन्‌, ‘उनले भने, ‘हामी जिल्लास्तरमा खेल्ने खेलाडीले के पाइएला र ? खेल क्षेत्रमा लागेर बाँच्न नै नसक्ने भएपछि धेरै राम्रा खेलाडीहरू विदेश जान बाध्य भएका छन्। विश्वसामु नेपाललाई चिनाउने भनेको खेल क्षेत्र हो। यसतर्फ राज्यले ध्यान दिनुपर्छ।’

खेलाडीहरूको भविष्य सुनिश्चित नभएपनि जिल्लामा पछिल्लो समय भौतिक संरचनाहरू थपिँदैछ। लमही र घोराहीमा गरी क्रिकेट खेल्न योग्य २ वटा मैदान बनाइएको छ। त्यस्तै, फुटबल खेल्न बेलझुण्डीमा राष्ट्रियस्तरको मैदान र घोराही र तुलसीपुरमा पनि खेल्न योग्य मैदान छ।

अहिले स्थानीय तहले प्रत्येक वडामा खेल मैदान बनाउने गरेको छ। कोरोना महामारी प्रभाव कम हुन थालेपछि खेलाडी पनि मैदानमा फर्किन थालेका छन्‌। पुसको दोस्रो साता लमहीमा प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता आयोजना सम्पन्न भयो। त्यस्तै, तुलसीपुरमा पनि भलिबल प्रतियोगिता सम्पन्न भयो। अहिले घोराही उपमहानगरपालिकामा वडास्तरीय मेयरकप फुटबल तथा उपमेयरकप छात्रा भलिबल प्रतियोगिता भैरहेको छ।

जिल्लाका सबै खेलाडीहरूलाई समेटेर स्थान दिने हो भने दाङमा फुटबलको भविष्य राम्रो रहेको एन्फा प्रशिक्षक सन्दीप वलीले बताए। कोभिडका कारण बन्द भएको खेलकूद क्षेत्र विस्तार संचालनमा आउँदै गर्दा खेलाडी खुशी भएको समेत उनले बताए। उनले खेलकूद क्षेत्रलाई नेपाल सरकारले विशेष रुपमा ध्यान दिन समेत आग्रह गरे।

कोरोना महामारीका कारण खेल क्षेत्रमा निकै असर गरेको, तर अहिले स्थानीय सरकार आइसकेपछि खेल क्षेत्रलाई पनि सहयोग पुगेको एन्फा रेफ्रीहरू बताउँछन्‌। सम्बन्धित निकायले सम्मानका साथ थोरै भएपनि आर्थिक व्यवस्था गरिदिए खेलाडी र रेफ्रीहरूलाई सहज हुने एन्फा रेफ्री खुमबहादुर वलीले बताए। कोरोना महामारीअघि जिल्लामा फुटबलले राम्रो गति लिएपनि पछिल्लो समय अवस्था खस्किएको उनलाई लागेको छ।

जिल्लामा फुटबलको विकास गर्नको लागि वडास्तरमा प्रशिक्षकको व्यवस्था गर्नुपर्ने वलीले बताए। त्यस्तै, उनले क्लब तथा स्थानीयतहले रेफ्रीप्रति पनि खासै चासो नलिने गरेको बताए।

‘एन्फाले रेफ्रीहरूलाई खेल खेलाएवापत निश्चित पारिश्रमिक दिने गर्छ,’ वलीले थपे, ‘तर, जिल्लाका स्थानीय क्लब तथा सरकारले त्यही अनुसारको पारिश्रमिक दिन नसक्ने भएकाले पनि रेफ्रीप्रति खासै चासो छैन।’ रेफ्रीहरूलाई मान सम्मान दिन सके खेल जीवनबाट सन्यास लिएपछि ती खेलाडीहरू पनि रेफ्री हुन आकर्षित हुने उनको भनाइ छ।

खेल खेल्न खेलाडीहरू मात्र नभइ खेल खेलाउने रेफ्रीहरूलाई समेत जीवन चलाउन समस्या हुने गरेको समेत उनले बताए। ‘अहिले नेपालमा रेफ्रीको कमि छ। धेरै खेलाडीहरूलाई रेफ्री हुन मन लाग्दैन। वर्षमा २/४ वटा राम्रो टुर्नामेन्टहरू हुन्छन्। त्यहीँबाट आएको पारिश्रमिकले हामी कसरी बाच्न सक्छौँ?’

दाङ जिल्ला फुटबल संघले विभिन्न संघ-संस्था तथा क्लबहरूले आयोजना गर्ने प्रतियोगिताहरूमा सहकार्य गरेर आवश्यकता अनुसार व्यवस्थापन गर्ने गरेको छ। जिल्लामा रेफ्री उत्पादन गर्न दाङ फुटबल संघले यहि आउँदो फागुन महिनामा तालिम समेत आयोजना गर्न लागेको जनाएको छ।

खेल क्षेत्रलाई स्थानीय तहले पनि सहयोग गरेको संघका जिल्ला सदस्य दीपक पुनले बताए। पहिलेको तुलनामा अहिले जिल्लामा खेल क्षेत्र राम्रो भएको समेत उनले दावी गरे। उनका अनुसार संघमा अहिले जिल्लाका १० क्लबहरू मात्र दर्ता भएका छन्‌।

​त्यस्तै, जिल्लामा पनि स्थानीय तहहरूले खेलकूद क्षेत्रलाई प्राथामिकता दिँदै आएको बताएका छन्। घोराही उपमहानगरपालिकाले पनि फुटबल, भलिबल, क्रिकेट, बास्केटबल जस्ता खेलहरूलाई पहिलो प्राथामिकतामा राखेर खेलाउँदै आएको उपमहानगरका प्रवक्ता भरतमणि अर्यालले बताए। प्रत्येक वडामा खेलकूदको लागि बजेट विनियोजन गर्दै आएको र राम्रा खेलाडीहरूलाई सम्मान र पुरस्कार दिने गरिएको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.