नवजात शिशुको बिचल्ली, सहयोग याचना

|

दाङ : दाङको तुलसीपुर उपमहानगरपालिका-१० की सुशीला केसीलाई रातमा निद्रा र दिनमा भोग नलागेको करिब ३ महिना हुन लाग्यो ।

नातिनी जन्माएको ४ दिनमै बुहारीको मृत्यु भएपछि उनको अवस्था यस्तो भएको हो। एकातिर बुहारी सम्झेर छोरा रात-दिन रुँदै बस्ने र अर्कातिर नातिनी पनि आमाको काख नपाएर रुँदा आफूलाई यो पीडा खप्न निकै गाह्रो भएको उनी बताउँछिन्‌।​​उनी ३ महिनादेखि यसरी नै पीडा सहेर बाँचिरहेकी छिन्‌। 

कोरोना संक्रमणका कारण गत कात्तिक २० गते २० वर्षीया समीक्षा केसीको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भयो। उनले ४ दिनअघि मात्रै छोरी जन्माएकी थिइन्‌।

​४ दिनमै आमाले छाडेर गएपछि नवजात शिशु र परिवारले निकै दु:ख पाएका छन्। ‘सानो बच्चा कसरी हुर्काउने हो, रातभर रुन्छिन्‌, यस्तो पीडामा हामीलाई निन्द्राको त के सरोकार भयो र ! तर सहिनसक्नुको पीडा भयो,' मृतककी सासु आमा सुशीलाले भनिन्, 'विवाह गरेको एकै वर्षमै बुहारीको मृत्यु भयो, साथमा उनले जन्म दिएकी नातिनीको विजोग छ, हामी निकै दु:खमा पर्‍यौं।'

परिवारका ४ जनाले राप्ती नदीमा शव जलाए

बुहारीको मृत्यु भएपछि आफूहरू पीडामा रहेको बेला कसैले साथ नदिएको उनले गुनासो गरिन्।

‘बुहारीको अन्तिम दाहसंस्कार हामी ४ जना भएर बाँकेको राप्ती नदीमा गर्‍यौं,’ उनले भनिन्, 'न हामीलाई त्यस बेला कसैले साथ दिए, न काजक्रिया गर्ने बेला नै घरमा कोहि आए।’

पण्डितलाई समेत गाउँले बाटो छेके

पीडामा गाउँ समाजले साथ दिएर सान्त्वना दिनुको साटो उल्टै नकारात्मक सोचले हेर्दा आफूहरू झन पीडित भएको सुशीलाले बताइन्।

‘अहिले हामी गाउँ समाजबाट पनि एक्लिएका छौँ। हामी दु:खमा हुँदा कसैले हामीलाई साथ सहयोग गरेनन्‌ र गरेका पनि छैनन्‌,’ उनले थपिन्, ‘बुहारीको मृत्यु भएपछि पनि काजकिरिया गर्दा गाउँ घरका कोही पनि आएनन्, कोरोनाका कारण मृत्यु भएको घरमा १ वर्षसम्म पिर्छ, हानी गर्छ भनी अहिलेसम्म कोही आएका छैनन्‌।'

नातिनीको न्वारान नगर्दासम्म बुहारीको किरिया गर्न नमिल्ने संस्कार रहेको, तर न्वारान गर्न आउन लागेका पण्डितलाई समेत गाउँ-समाजले आउन नदिएको उनले बताइन्।

घरमा पण्डितलाई आउन नदिएपछि आफूहरूले देवघाट गएर काम गरेको र बुहारी बितेको ९ दिन पछि मात्र घरमा काजक्रिया गरेको उनले जानकारी दिइन्‌। ​बुहारीको उपचारदेखि काजक्रिया गर्दासम्म ३ लाख रुपैयाँ खर्च भएको समेत उनले बताएकी छिन्‌। 

उनले गाउँ समाजले मात्र नभइ स्थानीय सरकार, संघसंस्था कसैले पनि आफूहरूलाई नहेरेको बताइन्। ‘२ महिनाकी नातिनी छिन्‌,’ उनले भनिन्, ‘उनको यो अवस्था देख्दा मनै थाम्न सक्दिनँ, आज बुहारीको काखमा भए कति खुशी भएर रमाउँथी होला जस्तो लाग्छ। तर, दैव नै निष्ठुर भएपनि आज यस्तो अवस्था भोग्नु परेको छ।’

'शंकास्पद मृत्यु'

समीक्षा कात्तिक १६ गते प्रसुती सेवा लिनका लागि कोहलपुर मेडिकल कलेजमा भर्ना भएकी थिइन्। उनले १७ गते बच्चालाई जन्म दिएकी थिइन्। त्यसपछि उनको स्वास्थ्यमा समस्या देखिएको थियो। आशंका लागेर पिसीआर परीक्षण गर्दा उनलाई १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

उनलाई अक्सिजन र एन्टिबायोटिक सहित उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि मृत्यु भएको अस्पतालले जनाएको थियो। तर मृतकका आफन्तले भने समीक्षाको कोरोनाको कारण मृत्यु नै भएको हो भनी स्वीकार गरिरहेका छैनन्‌। मृतकलाई कोरोनाको कुनै पनि लक्षण नदेखिएको उनीहरूको भनाइ छ।

मृतककी काकी पूजा केसीले कोरोनाको कारण नभइ अस्पतालको लापरबाहीका कारण समीक्षाको मृत्यु भएको बताइन्। ‘हामीलाई हाम्रो मान्छे कोरोना संक्रमणबाट मृत्यु भएको हो भन्ने लाग्दैन,’ उनले भनिन् , ‘तर, अस्पतालले कोरोनाको कारण मृत्यु भनेर घोषणा गरेपछि हामीले त स्विकार गर्नु नै पर्‍यो। हामीलाई अस्पतालले तपाईंको बिरामीको यस्तो समस्या छ भनेर समेत जानकारी दिएन।'

आफूहरूको आर्थिक अवस्था दयनीय रहेकाले सहयोग गरिदिन पीडित परिवारले आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.