मुगु : राजनीतिक विवाद र सरगर्मीले काठमाडौंको सडक तातेको छ। जनताको अधिकारका लागि भन्दै दलहरू सडकमा छन्। तर, जसका लागि राजनीतिक दलहरूले अधिकारको दलिल पेश गरेका छन् : उनीहरूको अवस्था उल्टो छ।
हिमाली जिल्ला मुगुको दुर्गम क्षेत्रका बालबालिकाको स्थिति हेर्दा दलहरूले गरेको अधिकारको वकालतबाट खास कसलाई लाभ भयो भन्ने छर्लङ्ग हुन्छ। ती बालबालिकाको आङमा न न्यानो लुगा छ, न पेटमा पर्याप्त पोसिलो खानेकुरा पुगेको छ।
सोरू गाउँपालिका-९, कालै गाउँका बालबालिका यतिखेर चिसो छल्न आगो ताप्दैछन्। अशिक्षा र गरिबीको दुष्चक्रमा फसेका उनीहरूको दैनन्दिन अवस्था निकै दयनीय छ।
समाजभित्रै विषमता र विभेदको चित्र प्रष्ट देखिन्छ। तुलनात्मक रूपमा सम्पन्न परिवारका बालबालिका र आर्थिक स्थिति कमजोर भएका बालबालिकाको रहनसहन र आनीबानी नै फरक देखिन्छ। भविष्यका कर्णधार भनिएका बालबालिकाहरू अहिलेदेखि नै विभेद खेप्न बाध्य छन्।
सामाजिक अभियन्ता अजबहादर शाही दुर्गमका बालबालिकाको दैनिकी अनौठो र उराठलाग्दो रहेको बताउँछन्। हुर्काइ, बसोबास, रहनसहनलगायत पक्ष हेर्दा यी बालबालिकालाई कुनै दैवी शक्तिले बचाइरहेको जस्तो उनलाई लाग्छ।
यी बालबालिकाका लागि सरकारले त कागजमा काम गरिरहेकै छ, तर गैरसरकारी संस्था (एनजीओ) हरूको काम गराई सरकारको भन्दा खराब छ।
बालबालिकाको संरक्षण, शिक्षादिक्षा लगायत अन्य पक्षमा ध्यान दिन स्थानीयदेखि प्रदेश र संघीय सरकारले योजनाबद्ध ढंगले काम गर्नुपर्ने अभियन्ताहरू बताउँछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।