'कांग्रेस एक्लै लड्छ र परिणाम भोग्न पनि तयार छ'
'कांग्रेस एक्लै लड्छ र परिणाम भोग्न पनि तयार छ'
गोरखा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले नेकपा फुटेपछि संसद् पुन:स्थापना भएमा कांग्रेसको साथबिना कम्युनिष्टको कुनै समूहले सरकार बनाउन नसक्ने बताएका छन्।
आइतबार गृह जिल्ला गोरखामा पत्रकार सम्मेलन गर्दै नेता पाण्डेले नेकपा फुटेर संसद पुन:स्थापना भएमा कांग्रेसको साथबिना सरकार नबन्ने प्रस्ट्याउँदै कांग्रेसले अब कम्युष्टि समूहलाई साथ नदिने बताएका हुन्।
‘अहिले संसदको संख्या हेर्दा यदि संसद पुन:स्थापना भयो र नेपाल कम्युनिष्ट पार्टी पनि फुट्यो भने नेपाली कांग्रेसको साथबिना कुनै पनि कम्युनिष्ट समूहले सरकार बनाउन सक्ने अवस्था छैन। त्यो अवस्थामा कांग्रेसले कुनै पनि समूहलाई साथ दिनुपर्छ भन्ने मलाई लाग्दैन।
कम्युनिष्ट पार्टीको अक्षमताका कारणले यो परिस्थिति जन्मेको हो र आज मुलुकलाई यो अवस्थासम्म ल्याइपुर्याउनुमा सिंगो नेकपा दोषी छ। प्रचण्ड, माधव र ओली सबै दोषी छन्। तसर्थ अब कांग्रेसले कसैलाई च्यापेर अघि बढ्नुपर्ने अवस्था छैन। अब कांग्रेस एक्लै उभिन्छ त्यसो गर्दा जे परिणाम आउँछ भोग्न तयार छौँ’, नेता पाण्डेले भने।
संसद् विघटनको मुद्दा सर्वोच्च अदालतमा पुगेकाले त्यसको अन्तिम व्याख्या गर्ने अधिकार अदालतकै भएको उनले बताए।
‘संसद् विघटन संविधानविपरीत हो भन्ने कांग्रेसको ठहर छ, तर अदालतले गरेको निर्णय कांग्रेसले मान्छ। हामीले अदालतको निर्णय कुर्दै छौँ’ उनले भने।
संसद् विघटनको समर्थन र विरोध गर्ने दुवै पक्षले अदालतलाई प्रभावित बनाउन खोजेको भन्दै उनले त्यसो नगर्न सुझाव दिए।
केही समयअघि कांग्रेसलाई म्युजियममा राख्नुपर्छ भन्ने बाबुराम भट्टराई अहिले कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने बताउँदै हिँडेको जानकारी दिँदै नेता पाण्डेले भने, ‘कांग्रेसलाई सत्ताको लोभ छैन, कसैले सरकारमा जा भन्दा जाने, नजा भन्दा नजाने होइन।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।