|

इलाम : नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व सदस्य जुमानु राई, भोला सिलवाल र सुमन सुवेदी नगदसहित सम्मानित भएका छन्। हरिवन युवा क्लब सर्लाहीले शनिबार नेपाल  पुलिसमा आबद्ध तीनैजनालाई नगद १० हजार र कदरपत्रले सम्मान गरेको हो।

जुमानु हरिवन क्लबकै उत्पादन हुन्। अन्य २ जना सर्लाही बाहिरको भए पनि नेपाली फुटबललाई उचाइमा पुर्‍याउन खेलेको भूमिकालाई कदर गर्दै सम्मान गरिएको क्लबका सदस्य युवराज बुढाथोकीले बताए।

नेपाली राष्ट्रिय टिमबाट सन २००५ देखि २०१५ बीचमा ५२ क्याप जितेका पुलिसका कप्तान जुमानु ११ गोल गर्दै सर्वाधिक गोल गर्ने खेलाडीको तेस्रो स्थानमा छन्। उनीभन्दा अघि हरि खड्का र निराजन रायमाझी १३-१३ गोल गरेका छन्। जुमानु २०५९ सालबाट पुलिस क्लबमा खेल्दै आएका छन्।

 राष्ट्रिय टोलीकै सदस्य सुमन सुनसरीका बासिन्दा हुन्। २०६१ सालबाट नेपाल पुलिसमा आबद्ध उनले राष्ट्रिय टोलीबाट सन् २००५ देखि २०११ सम्म ११ क्याप जितेका छन्।  विराटनगरका बासिन्दा भोला २०६२ सालबाट पुलिसमा खेल्दै आएका छन्।  सन् २००८ देखि २०१६ का बीचमा राष्ट्रिय टोलीमा रहँदा उनले ३९ क्याप जित्दै २ गोल गरेका थिए।

पुलिसले २०६३ देखि लगातार तीनपटक शहीद स्मारक 'ए' डिभिजन लिग र २०६८ मा राष्ट्रिय लिग जित्दा तीनैजना टोलीका महत्वपूर्ण सदस्य रहेका थिए। सम्मान कार्यक्रममा तीनै खेलाडीले स्थानीय खेलाडीसँग मिलेर मैत्रीपूर्ण खेलसमेत खेलेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.