|

चितवन : चितवनको दक्षिणी क्षेत्रमा अवस्थित धार्मिक स्थल वाल्मीकि आश्रमको संरक्षणमा सरकारले ध्यान दिन सकेको छैन। माडी नगरपालिका-१ अन्तर्गत चितवन राष्ट्रिय निकुञ्जको कोर इलाकामा पर्ने वाल्मीकि आश्रममा पुग्न अझै पनि भारतीय भूमि प्रयोग गर्नुपर्छ।

माडीमा पर्ने वाल्मीकि आश्रममा पुग्न भारतको भूमि प्रयोग गर्नुपर्ने बाध्यता छ। वाल्मीकि आश्रम ऋषि वाल्मीकिले रामायण रचना गरेको र राम र सीताका छोरा लवकुश जन्मे-हुर्केको ठाउँका रुपमा परिचित छ।

वाल्मीकि आश्रम नवलपरासीको त्रिवेणीधामबाट दुई किलोमिटर पुर्वमा रहेको छ। गण्डक व्यारेजको पुल हुँदै भारतीय भूमि प्रयोग गरेर वाल्मीकि आश्रम पुगिन्छ। त्रिवेणीबाट डुंगा चढेर जंगलको बाटो हुँदै पनि वाल्मिकी पुग्न सकिन्छ, तर यो बाटो प्रयोगमा नरहेको माडी–१ का वडाध्यक्ष कृष्ण पौडेलले बताए। यहाँ राम नवमीको दिनमा नेपाल र भारतबाट भक्तजनहरु पुग्ने गर्छन्। लकडाउनका बेला सिमा शिल हुँदा वाल्मीकि आश्रममा नेपालका भक्तजनहरु जान पाएका थिएनन्।

वडाको तीन लाख रुपैयाँ बजेटले वाल्मीकि आश्रममा सशस्त्र प्रहरीको व्यारेक निर्माण गरिएको उनले बताए। नेपाली भूमिबाट जानका लागि केन्द्र सरकारको बजेटमा झोलुंगे पुल बनाइएको छ। पुलको करिब ७० प्रतिशत काम सकिएको उनले बताए।

‘वाल्मीकि आश्रममा संरचना बनाउन भारतको पनि अवरोध छ’, उनले भने, ‘त्यो ठाउँ निकुञ्जको कोर इलाका हो। त्यहाँ काम गर्ने हाम्रो संयन्त्र फितलो छ।’

त्यहाँका करिब १० घरपरिवार मगर समुदायका कारण नै वाल्मीकि आश्रम भारतले अतिक्रमण गर्न नसकेको उनी बताउँछन्। मगर समुदायको संरक्षणमा भने राज्यले चासो दिएको छैन। नेपालले पर्याप्त उपस्थिती जनाउन नसक्दा वाल्मीकि आश्रम नै अतिक्रमणको जोखिममा रहेको उनले बताए। यहाँ सम्म कि वाल्मीकि आश्रममा मन्दिरमा बस्ने पूजारीलाई पूजाका सामग्री किन्नसमेत समस्या छ।

वाल्मीकि आश्रममा लवकुश, सिता, हरिहरनाथका मन्दिरहरु रहेका छन्। मन्दिरको भित्री पर्खालमा शिवलिङ वराह अवतार, नवग्रह, बिष्णु, लक्ष्मीनारायण, वामन अवतार, हनुमान आदिका प्रस्तर मुर्तिहरु राखिएका छन्।

आश्रम आसपासमा अग्निकुन्ड, सितावाटिका, लवकुश पाठशाला, यज्ञशाला, गौशाला, धर्मशाला लगायत भग्नावशेषहरु देख्न सकिन्छ। आश्रम १४ बिघा क्षेत्रफलमा फैलिएको छ। यहाँ २०५२ सालमा पहिलो पटक मन्दिर निर्माण गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.