काठमाडौं : साढे दुई दशकदेखि निरन्तर कविता लेखनमा साधनारत कवि कल्पना चिलुवालको पहिलो काव्यकृति पाठकबीच आउने भएको छ। चिलुवालको ‘चुल्ठो’ कविता सङ्ग्रह बेला पब्लिकेसन्सले माघ तेस्रो साता बजारमा ल्याउन लागेको हो।
पोखरामा बसेर शिक्षण र साहित्य साधना गरिरहेकी चिलुवाल समकालीन नेपाली कविता लेखनमा पाठकहरूद्वारा रुचाइएको नाम हो। २०५० को दशकदेखि कविता लेखनमा निरन्तर क्रियाशील रहे पनि एकल पुस्तकका रूपमा ‘चुल्ठो’ नै उनको पहिलो कृति हो। उनका फुटकर कविता स्थानीय प्रकाशनहरूदेखि राष्ट्रिय पत्रपत्रिका तथा अनलाइनहरूमा प्रकाशित हुँदै आएका छन्।
‘चुल्ठो सङ्ग्रहमा चिलुवालका सम्पूर्ण कविताहरूबाट चुनिएका ५५ कविताहरू समावेश गरिएको छ’, प्रकाशक वन्दना ढकालले सङ्ग्रहबारे जानकारी दिँदै भनिन्, ‘त्यसअर्थमा यो कविको पहिलो पुस्तक पनि हो र साढे दुई दशकदेखि कवितामा साधनारत स्रष्टाको ‘सेलेक्टेड’ रचनाको सङ्कलन पनि हो। कल्पनाजीका कविता २०५२/०५३ सालपछि ‘जनादेश’ साप्ताहिकलगायत पत्रिकामा प्रकाशित हुँदै आएका छन्।’ ढकालले चिलुवालका छरिएका रचना पढेका पाठकका लागि पनि यो पुस्तक उपयोगी हुने बताइन्।
कवि तथा साहित्यकार सरिता तिवारीले चिलुवालका कवितालाई ‘विचारको क्षेप्यास्त्र’को संज्ञा दिएकी छन्। ‘चिलुवालको कविता संग्रह कविताको एउटा किताब मात्रै होइन, समकालीन चेतनामाथिको एउटा गम्भीर वैचारिक हस्तक्षेप बन्ने कुरामा म पूर्ण विश्वस्त छु’, तिवारीले भनिन्।
चिलुवाल प्रगतिशील साहित्यिक सङ्घ, सङ्गठन र आन्दोलनहरूमा पनि सक्रिय अभियन्ता हुन्। हाल मार्क्सवादी सांस्कृतिक मोर्चा, नेपालको अभियानमा आबद्ध उनी पोखरामा स्थापित प्रसिद्ध साहित्यिक संस्था गण्डकी साहित्य सङ्गमको सदस्य हुन्।
चिलुवाल पोखराबाट प्रकाशित हुने ‘गण्डकी सङ्गम’लगायत साहित्यिक पत्रिकाको सम्पादनमा पनि संलग्न छिन्। उनलाई इच्छुक सांस्कृतिक प्रतिष्ठानले २०७६ सालको ‘इच्छुक प्रतिभा पुरस्कार’बाट सम्मानित गरेको छ।
माघ अन्तिम साता काठमाडौँमा र फागुनमा पोखरामा ‘चुल्ठो’को विमोचन कार्यक्रम हुने बेला पब्लिकेसन्सले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।