प्रधानमन्त्री भन्छन् : कसैको छोराछोरीलाई 'खाते' भनेर सुन्नु परेको छैन

|

काठमाडौं : राष्ट्रिय अपांग महासंघ नेपालका अध्यक्ष मित्रलाल शर्माले अपांगता भएका व्यक्तिहरूको समस्या र सवालमा प्रधानमन्त्री केपी ओलीसँगको राष्ट्रिय सभागृहमा भएको साक्षात्कार कार्यक्रममा गुनासो पोखे, ‘सडकमा मागेर जीवन बिताउने हाम्रो इच्छा छैन प्रधानमन्त्रीज्यू! गीत गाएर बाँच्नु परेको छ। मागेर जीवन निर्वाह गर्न नपरोस्।’

उनले साक्षात्कार कार्यक्रममा अपांगमैत्री संरचना नभएको भन्दै तत्काल आकाशे पुललगायत सडक संरचना निर्माणमा अपांगमैत्री बन्नुपर्ने माग राखे। नेत्रहीन महिला संघ नेपालकी अध्यक्ष सीता सुवेदीले पनि कार्यक्रममा अपांगता भएका व्यक्तिलाई पनि अन्य नागरिकसरह जिउने वातावरण बनाउन माग गरिन्।

आफूले भोगेका समस्या सुनाइन्, ‘राज्यले अपांगता भएकाहरूको सबै समस्या समाधान गर्ने गरी नीति बनाउन सकेको छैन। हामी हरेक क्षेत्रमा विभिन्न समस्या भोगिरहेका छौँ, हामीलाई पनि अन्य नागरिक भएर जिउने वातावरण सरकारले बनाउनुपर्छ।’ 

नेत्रहीन युवा संघ नेपालका अध्यक्ष कलाधर भण्डारीले सात वटै प्रदेशमा अपांगताको सेवासुविधाका लागि विभिन्न प्राविधिक सामग्री सरकारले उपलब्ध गराउन माग गरिन्। कार्यक्रममा अपांग महिला महासंघ नेपालकी अध्यक्ष निर्मला धितालले प्रधानमन्त्रीलाई बुझाउन लागेको विभिन्न अपांगताहरूको माग सुनाइन्।

‘९ वटा अपांगताको संस्थाले प्रधानमन्त्रीको सचिवालय विभिन्न मुद्धाका सवालमा मागपत्र दिइसकेका छौँ,’ उनले भनिन्, ‘आज पनि प्रधानमन्त्रीलाई मागपत्र दिँदै छौँ। यसमा शिक्षा, स्वास्थ्यलगायत माग छन्। मुलुकभर सांकेतिक भाषा पढाइनुपर्ने, तालिम केन्द्र स्थापना गर्ने, स्नातकोत्तरसम्मको प्राविधिक कोटामा छात्रवृत्ति प्रदान गर्नुपर्नेलगायत हाम्रा माग छन्।’

अपांगता भएकाहरूको मागको सुनुवाइ हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सबैको धारण सुनिसकेपछि मागबारे सुनुवाइ सरकारले गर्ने आश्वासन दिए। ‘मागपत्र प्राप्त भइसकेको छ। आवश्यक निर्णय गरेर कदम चालेर जानकारी पठाउनेछु। आवश्यक सुनुवाइ हुन्छ।’

उनले सबै खालका नागरिकलाई सुरक्षित ढंगले बाच्न दिन सरकार लागिपरेको  पनि बताए।

‘म आफैं पनि शारिरीक अपांगता छु,’ उनले भने, ‘तपाईंहरूको समस्या आआफ्नै छन्। चिन्ता नलिनुस्। सरकारले अपांगताको हेरचाह गर्छ।’ उनले सडकमा बालबालिका नरहेको दाबी गर्दै भने, ‘हिजो सडकभरि बालबालिका थिए, आज छैनन्। कसैको छोराछोरीलाई खाते भनेर सुन्नु परेको छैन।’

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले भर्खरै मन्त्रालयले जिम्मेवारी सम्हालेको बताउँदै अपांगता भएकाको हक हितका निम्ति नीतिगत रुपले समस्या समाधान गर्ने बताइन्।

सबै तस्बिर : शिला तिम्सिना

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.