बुधबार बिहान १० बजे खोप अभियान उद्घाटन, प्रधानमन्त्रीले सम्बोधन गर्ने

|

काठमाडौं : आउँदो बुधबार कोरोना बिरुद्धको खोप लगाउन शुरु गरिने भएको छ ।  सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कार्यमा नेपाल महत्वपूर्ण चरणमा पुगेको बताएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना सम्बन्धी आजको नियमित प्रेस ब्रिफिङमार्फत खोप अभियानको सबै तयारी पूरा भएको र यही माघ १४ गते बुधबार खोप अभियान सुरु हुने जानकारी दिए।

पहिलो चरणमा प्राथमिकतामा रहेका लक्षित वर्गमा रहेकालाई खोप प्रदान गरी खोप अभियान शुभारभ्म हुने मन्त्री त्रिपाठीले बताए। अहिले आएको १० लाख कोरोना खोप तत्काल दशदिन भित्र ४ लाख २० हजारलाई लगाउने लक्ष्य रहेको पनि उनले जनाए। 

मन्त्री त्रिपाठीका अनुसार बुधबार बिहान १० बजे सुरु हुने खोप अभियान उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। भारतले नेपाललाई अनुदानमा दिएको ‘कोभिसिल्ड’ खोप आज सातै प्रदेशमा पुगिसक्ने छ।  

यस्तै मन्त्री त्रिपाठीले भारतको कोरोना खोप निर्धक्क भएर लगाउनसमेत अनुरोध गरेका छन्। उनले माघ १४ गते देश व्यापी रूपमा ७ वटै प्रदेशको ६२ वटा अस्पताल र १ सय २० भन्दा बढी खोप केन्द्रबाट खोप अभियान सुरु हुने उनले बताए।

टेकुस्थित राष्ट्रिय खोप भण्डारण केन्द्रबाट सातै प्रदेशमा आवश्यक खोप आइतबार पठाइएको छ। 

उनका अनुसार सातै वटै प्रदेशमा रहेका अस्पताल र काठमाडौं उपत्यकामा रहेका प्रमुख अस्पतालमा एकैसाथ प्रधानमन्त्री ओलीले खोप अभियानको भर्चुअल माध्यमबाट शुभारम्भ गर्नेछन्। 

जसअनुसार माघ १४ गते सातै वटा प्रदेशका ६२ वटा अस्पताल र १ सय २० भन्दा बढी केन्द्रबाट खोप अभियान शुरु गरिनेछ। माघ १८ गतेभित्र ७७ वटै जिल्लाका ३ सय वटा खोप केन्द्रमार्फत खोप दिइनेछ।

पहिलो चरणको अभियान सुरु गरेको बढीमा १० दिनभित्र अर्को खोप लगाइसक्ने लक्ष्य रहेको मन्त्री त्रिपाठीले बताए। पहिलो चरणमा लगभग ४ लाख ३० हजार जनाले खोप पाउने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.