|

कपिलवस्तु : नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहका नेता महेश बस्नेतले सूर्य चिह्न चाहिए ओली नेतृत्वको नेकपामा आउन नेकपाकै अर्को समूह प्रचण्ड–माधव समूहलाई आग्रह गरेका छन्। 

आइतबार कपिलवस्तुको चन्द्रौटामा युवा संघका पदाधिकारीसँगको भेटघाटमा बस्नेतले पूर्वमाओवादीका लडाकु ओली पक्षमा आउने लहर चलेको पनि बताए।

केही अवसरवादीले सरकारलाई असफल बनाउन लागेपछि प्रधानमन्त्री ओलीले जनतामा जाने निर्णय गरेका उनको भनाइ थियो। प्रधानमन्त्री ओली नेतृत्वको नेकपाले आगामी निर्वाचनमा दुई तिहाई बहुमत आउने दाबी पनि उनले गरे। 

प्रचण्ड–माधव समूह एउटा गुट मात्र भएकाले निर्वाचन आयोगले प्रधानमन्त्री ओली नेतृत्वको नेकपालाई आधिकार‍िकता दिने उनले दाबी गरे। 'उहाँहरू(प्रचण्ड–माधव) सूर्य चिह्न चाहियो भन्दै निर्वाचन आयोग पुग्नुभएछ,'अधिकारिकता भए माग्न जानु पर्दैन। सूर्य चाहिए ओली नेतृत्वको नेकपामा आउनुहोस,' उनले भने।

पृथ्वीनारायण शाहले राज्य एकीकरण गरेपछि पहिलो पटक प्रधानमन्त्री ओलीले गुमेको नेपालको भूमि फिर्ता ल्याउन पहल गरेका पनि नेता बस्नेतले दाबी गरे।

अहिलेको सरकारले राम्रो काम गरेका कारण जनतामाझ लोकप्रिय भएकोले त्यो देख्न नसक्नेले पार्टी विभाजनतर्फ लागेका उनको तर्क थियो। 

पूर्वमन्त्रीसमेत रहेका बस्नेतले प्रचण्डलाई महत्वकांक्षी र माधव नेपाललाई कुण्ठाको संज्ञा दिए। पूर्वमाओवादीका धेरै नेता ओली पक्षमा आउने क्रम जारी रहेकाले पूर्वएमालेका सबै नेता वैशाखसम्म ओली नेतृत्वमा आउने ग्यारेन्टी पनि गरे।

कार्यकारी अध्यक्षको रुपमा प्रचण्डलाई जिम्मा दिए पनि तीन वर्षसम्म पार्टी एकताका केही पनि काम नभएका नेता बस्नेतको आरोप थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.