|

काठमाडौं : नेपाली क्रिकेटको महत्वपुर्ण प्रतियोगिताको रुपमा रहेको प्रधानमन्त्री कपमा अधिकांश टिमले चार चरणका खेलहरू खेलिसकेका छन्। जसमा नाम चलेका खेलाडीभन्दा राष्ट्रिय टिम बाहिरकै खेलाडीको रवाफ राम्रो रहेको छ।

जारी प्रतियोगितामा अधिकांश राष्ट्रिय टिमका खेलाडीको प्रदर्शन औसत नै देखिन्छ। यु-१९ टिमका पूर्व कप्तान तथा राष्ट्रिय टिमका पूर्व खेलाडी पृथु बाँस्कोटा अब्बल देखिए। अहिलेसम्म भएका खेलमा उनले सर्वाधिक रन बनाएका छन्।

बाँस्कोटाले ४ खेलमा ४ इनिङ खेल्दै २१४ रन जोडिसकेका छन्। त्यस्तै, खनाल सर्वाधिक रन बनाउने खेलाडीमा दोस्रो नम्बरमा रहेका छन्।

घरेलु प्रतियोगितामा राम्रो गर्दै आएपनि राष्ट्रिय टिममा भने विरलै अवसर पाएका सौरभ खनालले पनि जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका छन्‌। ​लुम्बिनी प्रदेशबाट खेलिरहेका खनालले अहिलेसम्मका खेलमा १८२ रन बनाएका छन्।

शीर्ष पाँच ब्याट्सम्यान

​सर्वाधिक रन बनाउने शीर्ष पाँच खेलाडीमा बाँस्कोटा शीर्ष स्थानमा रहँदा खनाल दोस्रोमा छन्।

त्यस्तै, नेपाल पुलिसका सुनिल धमलासर्वाधिक रन प्रहार गर्ने खेलाडी सूचीको तेस्रो नम्बरमा छन्‌। उनले  एक शतक सहित ४ खेलमा १७४ रन जोडिसकेका छन्।

विवेक यादवले क्षेत्र नम्बर २ का लागि १६७ रन बनाएका छन्। विनोद भण्डारीले क्षेत्र नम्बर २ सँग खेल्नु अघिसम्म तीन  खेलबाट एक शतक सहित १५७ रन प्रहार गरेका छन्।

युवा बलर हाबी

​बलिङतर्फ आर्मीका शहाब आलामले ४ खेलको समाप्तिमा ११ विकेट लिइसकेका छन्। त्यस्तै, बागमतीबाट खेलेका रामनरेश गिरीले  ४ खेलबाट ९ विकेट लिएका छन्।

कर्णालीका रविन्द्र शाही सहित अन्य ६ खेलाडीले ८ विकेट लिएका छन्।

विभागीय टिमको दबदबा

समग्र प्रदर्शन हेर्दा जारी प्रतियोगितामा विभागीय टिमको दबदबा देखिएको छ।

समुह ए मा एपीएफ र आर्मीबीच शीर्ष स्थानका लागि टक्कर रहँदा समूह 'बी' मा रहेको पुलिसलाई भने शीर्ष चारमा पर्न दबाब बढेको छ।

पुलिसलाई बागमती र लुम्बिनीले दबाब दिइरहेका छन्। समूहको शीर्ष स्थानमा बागमती रहँदा दोस्रोमा लुम्बिनी र तेस्रोमा पुलिस रहेको छ। हरेक समूहबाट शीर्ष स्थानमा रहने समान २-२ टिमले सेमिफाइनलमा स्थान बनाउनेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.