|

काठमाडौं : सभामुख अग्नि सापकोटाले संसदले सरकारलाई सहयोग गरेन भन्ने कुरामा कुनै सत्यता नभएको बताएका छन्।

सोमबार अन्तरपार्टी महिला सञ्जालले संसद सञ्चालन गर्न माग गर्दै बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै सभामुख सापकोटाले प्रतिनिधिसभाले कहिल्यै पनि सरकारलाई असहयोग नगरेको दाबी गरे। संसदमा एक दिन पनि सत्तापक्ष र प्रतिपक्ष कसैले सरकारको विरोध गरेर सरकारले दिएको बिजनेसमाथि प्रभाव नपारेको उनको भनाइ छ। उनले संसदमा अराजकता भयो, अनुशासन भएन भन्ने सरकारको आरोपमा कुनै सत्यता नभएको बताए। 

सभामुख सापकोटाले प्रतिनिधिसभाको अधिवेशन सञ्चालन गर्ने कुरामा सरकारले अवरोध गर्नु बेठिक भएको टिप्पणी गरे। संसदले नीति तथा कार्यक्रम र बजेट पास गर्ने कुरामा कहिल्यै पनि अवरोध नगरेको तर सरकारले विघटन गरेर प्रतिनिधिसभालाई सञ्चालन गर्न अवरोध गरेको उनको भनाइ छ।

संसदले संविधान संशोधन गरेर नक्सा पास गरी अभूतपूर्व एकता देखाएको अवस्थामा अवरोध सिर्जना गर्यो भन्नु गलत भएको पनि उनले बताए। उनले संसदभित्र कहिल्यै पनि प्रतिपक्ष र कुनै पनि सांसदले अवरोध नगरेको जिकिर गरे। 

संसद पुनः सञ्चालन गर्नुपर्छ भन्ने आवाज आइरहेको उल्लेख गर्दै सभामुख सापकोटाले यस सम्बन्धमा आफूले अध्ययन गरिराखेको बताए। सभामुख सापकोटाले संसदले सरकारलाई जहिले पनि सहायोग गरेको कुरालाई समेटेर अदालतलाई समेत जवाफ दिएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.